वित्तीय पहुँच ग्रामीण विकासको मेरूदण्ड

गरीबी नेपालको प्रमुख चुनौती हो । यसलाई सरकारी नीति तथा कार्यक्रम एवं वार्षिक बजेटमा उच्च प्राथमिकता दिइएको पाइन्छ । कुल जनसंख्याको करीब ६० प्रतिशत जनता ग्रामीण क्षेत्रमा वसोवास गर्छन् भने झन्डै ६० प्रतिशत नै जनता कृषिक्षेत्रमा आश्रित रहेको पाइन्छ । वित्तीय पहुँचले ग्रामीण कर्जा विस्तार र ग्रामीणक्षेत्रको आर्थिक तथा सामाजिक विकासमा कोसेढुंगाका रूपमा कार्य गर्छ । विगतदेखि नै ग्रामीण कर्जाको पहुँच वृद्धिका लागी नेपाल सरकार र केन्द्रीय बैंक एवं अन्य वैंक तथा वित्तीय संस्थाले विभिन्न कर्जा कार्यक्रममार्फत पहल गर्दै आएका छन् । विगतमा प्राथमिकता क्षेत्र कर्जा, विपन्न वर्ग कर्जा, साना किसान विकास कार्यक्रम, ग्रामीण महिलाका लागि उत्पादन कर्जा कार्यक्रम, गरीबसँग बैंकिङलगायत कार्यक्रम सञ्चालन भए तापनि अपेक्षित उपलब्धि प्राप्त हुन सकेको थिएन । ग्रामीण विकासमा मूलतः लघुकर्जाको आवश्यकता पर्ने भएको हुँदा लघुवित्तको नै बढी योगदान छ भन्नुमा अत्युक्ति नहोला । हुन त सहकारी संस्थाहरूको पनि ग्रामीण क्षेत्रमा विकास भएको छ र अन्य वाणिज्य वैंक, विकास बैंक र वित्त कम्पनीहरूको पनि ग्रामीण कर्जामा मनग्य योगदान छ । त्यस्तै ग्रामीण विकास बैंकको स्थापना पनि ग्रामीण क्षेत्रको विकासकै लागि भएको हो जसको योगदानलाई अवमूल्यन गर्न सकिँदैन । वित्तीय पहुँच जति बढी हुन्छ उति नै ग्रामीण कर्जाको विस्तार भई ग्रामीण क्षेत्रको विकासमा उल्लेखनीय योगदान हन्छ तसर्थ वित्तीय पहुँचलाई ग्रामीण विकासको मेरूदण्ड भन्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले उपलव्ब्ध गराउने सेवाहरू ग्रामीण क्षेत्रसम्म पुगेको अवस्था रहेकाले यस्ता सेवाहरू लिन सर्वसाधारण पनि अग्रसर भएर आउनुपर्छ । वित्तिय क्षेत्रले पनि वित्तीय साक्षरतामार्फत साहूमहाजन झैं चर्को ब्याजमा ऋण लिनु हुँदैन र सबै आर्थिक कारोबार बैंकमार्फत गर्नुपर्छ भन्नेतर्फ सर्वसाधारणलाई सचेत बनाउनुपर्छ । देशका समग्र राजनीतिक, आर्थिक, सामाजिक प्रणालीलगायत बैंकिङ क्षेत्र समेतले नीतिगत व्यवस्था, नारा र भाषणमा भन्दा पनि यसको कार्यान्वयनमा जोड दिन ढिला भइसकेको छ । वर्तमान अवस्थामा ग्रामीण विकासमा वित्तीय क्षेत्रको अहम् भूमिकालाई नकार्न सकिँदैन । कतिपय अवस्थामा विनाधितो कर्जा प्रवाह, कर्मचारी ग्रामीण क्षेत्रमा जान नमान्ने, सञ्चालन खर्च आम्दानीको तुलनामा बढी, कर्जा असुलीमा कठिनाइ, भौगोलिक विकटताको कारण सुपरिवेक्षण र अनुगमनमा कठिनाइ आदिले ग्रामीण कर्जा लागतको दृष्टिले बढी खर्चिलो छ भन्ने गरिन्छ । यो ठीक सही हो । स्मरण होस्, ग्रामीण विकास पद्धति आफैमा महँगो प्रणाली हो । ग्रामीण क्षेत्रमा वित्तीय संस्था पुग्दैमा ग्रामीण विकास हुँदैन । ग्रामीण क्षेत्रका जनतालाई सहज र सुलभ कर्जा जब्सम्म उपलब्ध गराउन सकिँदैन तबसम्म ग्रामीण विकास सम्भव छैन । नेपाल सरकार, राष्ट्र बैंक र नेपालका वित्तीय क्षेत्रले ग्रामीण विकासका लागि लघुकर्जाको नारा दिएको धेरै भयो । तर, पहुँचवाला बाहेक ग्रामीण क्षेत्रका वास्तविक जनताले अपेक्षित लाभ लिन सकेको अवस्था छैन । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को संशोधित विनियोजन विधयकले समेत आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा हुने महŒवाकांक्षी लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा हालको मौद्रिक नीतिले समेत जोड दिएको छ । यसका साथै ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहने उल्लेख भएको छ । तर, ग्रामीण विकासप्रति लक्षित परियोजनाको पूँजी संकलनको प्रमुख माध्यम पूँजीबजार अर्थात् शेयरबजार भएको हुँदा यसप्रति लक्षित राष्ट्र बैंकका पछिल्ला नीतिहरू निकै विवादास्पद बनेका छन् । उसकै कारण शेयरबजार निरन्तर ओरालो लागेको छ । यसबाट देशमा वित्तीय अस्थिरताको सम्भावना प्रबल हुँदै गएको छ । ब्याजदरमा आएको अस्थिरता, उत्पादनशील क्षेत्रमा कर्जाको गिरावट,  तरलताको अभाव, संस्थागत सुशासनको अभाव र वित्तीय साक्षरता एवं बैंक तथा वित्तिीय संस्थाको शहरकेन्द्रित प्रवृत्ति र निक्षेप तथा कर्जामा थोक व्यापारको बढ्दो प्रभावले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच हुन नसकेको सहजै बुझ्न कठिन हुँदैन । बैंक तथा वित्तीय संस्थाहरूले ग्रामीण क्षेत्रलाई बोझका रूपमा नभई अवसरका रूपमा लिई थप नीतिगत सुधार गरी अघि बढेमा उत्पादनशील क्षेत्रमा लगानी बढाउन सहज हुनेछ । गाउँघरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्ति हुनु हो । बैंकको उपस्थितिले अवसर नै अवसर ल्याउने भएकाले त्यस्ता अवसरहरूको सदुपयोग हरेक व्यक्तिले गर्नुपर्छ । यसका लागि वित्तीय साक्षरता अति जरुरी छ । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलब्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउँछ । ऋण लिई विदेश जानुभन्दा स्वदेशमा नै उद्यमशीलता विकासका लागि लगानी बढाउँदै उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आजको खाँचो हो । नेपालमा कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योगलगायतको राम्रो सम्भाव्यता हुँदा हुँदै आशातीत विकास नहुनु दुःखलाग्दो विषय हो । तसर्थ बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा प्राप्त हुने कर्जामार्फत आउँदा दिनमा आर्थिक उन्नति सम्भव छ । सर्वसाधारणको निक्षेपको सुरक्षामा ध्यान दिई बैंक तथा वित्तीय संस्थालाई अनुशासित, मितव्ययी बनाउँदै, वित्तीय पहुँचको वृद्धि र शहरकेन्द्रित व्यवसाय एवं अन्य बैंकिङ गतिविधिलाई गाउँघरसम्म पु¥याउने दृढ अठोटका साथ सञ्चालक, शेयरधनी तथा कर्मचारी र सबै सम्बन्धित सरोकारवाला निकाय लागेमा ग्रामीण विकास धेरै टाढा छैन र ग्रामीण विकासविना समृद्धि र सुखी नेपालीको कल्पना पनि गर्न सकिँदैन । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

सम्बन्धित सामग्री

लघुवित्तीय संस्था विपन्न समुदायका लागि हो

नागरिकलाई सहज रूपमा वित्तीय सेवा पुर्‍याउन वित्तीय संस्थाले पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । ग्रामीण क्षेत्रका नागरिकको घर दैलोसम्म पुगेर लघुवित्तीयले नागरिकलाई सेवा प्रवाह गर्दै आएका छन् । जसले गर्दा ग्रामीणस्तरमा रहेका नागरिकलाई वित्तीय पहुँच पुर्‍याउन सहज भएको छ । जसबाट धेरै नागरिक उद्यमीसमेत बन्न सफल भएका छन् । उनीहरूले उद्यमी तथा व्यवसायी बनेर आफ्नो […]

तरलता व्यवस्थापन र गरीबी निवारणमा वित्तीय पहुँच

नेपालको प्रमुख चुनौती गरीबीको रेखामुनि रहेका मानिसहरूको सामाजिक तथा आर्थिक रूपान्तरण रहेको छ ।  सरकारको विगतको नारा समृद्ध नेपाल र सुखी नेपाली भन्ने थियो । तथापि यसतर्फ अपेक्षित उपलब्धि प्राप्त हुन सकेको देखिँदैन । हाल नेपालमा गरीबीको रेखामुनि रहेको जनसंख्या करीब १७ प्रतिशत रहेको देखिन्छ तापनि विश्व आर्थिक मन्दी, Covid 19, संघीयतामा बढ्दो खर्चभार,  स्थानीय, संघीय र प्रान्तीय निर्वाचनमा भएको खर्चले आर्थिक बोझ परेको हुँदा आगामी दिनमा गरीबी थप वृद्धि हुनुका साथै बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनमा समेत चुनौती थपिने अनुमान गर्न सकिन्छ । निरपेक्ष गरीबीको उल्लिखित अनुपातलाई क्रमशः कम गर्दै लैजान बैंकिङ क्षेत्रको वित्तीय पहुँच कार्यक्रम एवं विपन्न वर्ग र कृषिक्षेत्रसँग सम्बन्धी सहुलियत ब्याजदरको निर्देशित कर्जा व्यवस्थाले महत्वपूर्ण भूमिका खेलेको छ । वित्तीय पहुँचमार्फत एकातर्फ आवश्यक स्रोत व्यवस्थापनका लागि  ससाना बचतको परिचालन गरी ग्रामीण तथा विपन्न क्षेत्रमा आय, रोजगार र व्यवसायमूलक कार्यक्रमको सञ्चालनमा सहयोग पुर्‍याएको छ भने   अर्कातर्फ कर्जाको विस्तारद्वारा विपन्न वर्गमा बैंकिङ क्षेत्रप्रति विश्वास र चेतना जगाउन भूमिका खेलेको छ । यसले गरीबी निवारण र तरलता व्यवस्थापनमा समेत सघाउ पुग्ने देखिन्छ ।   वित्तीय स्रोत र साधनको समुचित परिचालन गरी देशको उत्पादकत्व बढाउन सकेमा रोजगारीको अवसर प्राप्त हुने र यसले व्यययोग्य आयमा वृद्धि भई तरलता बढाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । उत्पादकत्व वृद्धिबाट रोजगार तथा आर्थिक विकासका परिसूचकहरूमा जबसम्म सुधार हुँदैन तबसम्म गरीबी निवारण सम्भव छैन । बैंक शाखा विस्तार एवं एक नेपाली एक बैंक खातालगायत कार्यक्रमबाट वित्तीय पहुँच पुर्‍याई आर्थिक रूपले पछि परेका जनताको आर्थिक क्रियाकलाप बढाउन, रोजगारी वृद्धिमार्फत आय आर्जन बढाउन र उनीहरूको समग्र जीवनस्तरमा सुधार ल्याउन बैंकिङ क्षेत्रले चालेको कदम सह्राहनीय छ । वित्तीय पहुँचबाट वित्तीय संस्थाको प्रभावकारी परिचालन हुन गई वित्तीय स्रोतसाधनको प्रभावकारी परिचालन हुन गई ग्रामीण क्षेत्रमा समेत उत्पादन र रोजगारीका अवसरहरू वृद्धि हुन्छ जसले गर्दा आयात प्रतिस्थापन एवम् परनिर्भरतामा कमी आउन सक्छ । त्यस्तै वैदेशिक रोजगारीतर्फ उन्मुख हाम्रा युवा शक्तिलाई देशभित्रै काम गर्न प्रोत्साहित गर्ने वातावरण बन्दछ । बैंकिङ तरलतालाई समेत सहज बनाउँछ ।   सन्तुलित आर्थिक विकासद्वारा गरीबी निवारण गर्न वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच सुनिश्चित गर्दै वित्तीय समावेशीकरण एवम् वित्तीय साक्षरता कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्छ । भुक्तानी प्रणालीमा प्रविधिको प्रयोगलाई थप भरपर्दो र विश्वसनीय बनाउन मौद्रिक नीतिमा थप सुधारको आवश्यकता छ । यसले आगामी दिनमा तरलताको उतारचढावको स्थितिमा सुधार ल्याउन सक्छ । संघीयताको प्रभावकारी कार्यान्वयनलाई वित्तीय पहुँच र समावेशितामार्फत सहयोग पुर्‍याउनुपर्ने देखिन्छ । राष्ट्रिय स्तरबाहेकका वित्तीय संस्थाहरूको कार्यक्षेत्रलाई प्रादेशिक संरचना अनुसार समायोजन गर्न नीतिगत व्यवस्था समेत भइसकेको छ । यस व्यवस्थाले वित्तीय समावेशिता र पहुँच विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ । संस्थागत क्षमता, ग्राहक संख्या, शाखा सञ्जाल, पूँजी तथा भौतिक पूर्वाधार आदिको विश्लेषणका आधारमा लघुवित्त वित्तीय संस्थाहरूलाई समेत भुक्तानी सेवाप्रदायकको अनुमतिपत्र प्रदान गर्ने नीतिगत व्यवस्थाबाट पनि वित्तीय पहुँच बढ्ने अपेक्षा गर्न सकिन्छ ।   हाल आर्थिक वृद्धिदर र मुद्रास्फीति जस्ता परिसूचकहरू नकारात्मक रहेको र मूल्यवृद्धिमा समेत अपेक्षित सुधार हुन सकेको छैन । समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व प्राप्त गर्न, वित्तीय पहुँच अभिवृद्धि गर्न र लक्षित आर्थिक वृद्घिदर प्राप्त गर्न सबै क्षेत्र खासगरी बैंक तथा वित्तीय संस्थाको सहयोग प्रभावकारी हुने  विश्वास गर्न सकिन्छ  । तसर्थ बैंक तथा वित्तीय संस्थाको स्थापना र यसको पहुँच, आर्थिक विकास र गरीबी निवारण एवं तरलता व्यवस्थापनसमेतका मेरूदण्ड हुन् भन्नुमा अत्युक्ति नहोला ।  आयातको बढ्दो अवस्थाले मुलुकभित्र आयात प्रतिस्थापन गर्ने खालका वस्तुहरू उत्पादन गर्ने उद्योगहरूमा लगानी बढाउने पर्याप्त अवसरहरू रहेको र वित्तीय पहुँचले आयात प्रतिस्थापन गर्न सहयोग पुर्‍याउने खालका उद्योग व्यवसाय सञ्चालन गरी उत्पादन एवम् रोजगारी सृजना गर्न सहयोग पुग्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको पहुँच ग्रामीण क्षेत्रका कुना कुनासम्म पुग्नु जरुरी छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याइएको कृषि कर्जामा प्रदान गरिएका विभिन्न सुविधा र पुनर्कर्जालगायत सुविधा पर्याप्त मात्रामा उपयोग हुनु पर्छ र कृषिजन्य वस्तुहरूको उत्पादनमा प्रचुर सम्भावना हुँदा हुँदै पनि हामीले कृषिको आधुनिकीकरण, उच्च प्रविधि र प्राविधिक पक्षको विकास गर्न तथा सन्तुलित रूपमा वित्तीय संस्थाको स्थापना गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेकाले सरकारले कृषि क्षेत्रमा आउँदा दिनमा बढी ध्यान दिनुपर्छ । उत्पादनमूलक व्यवसायमा प्राथमिकताका साथ लगानी गरी देशको आर्थिक अवस्थालाई उकास्न सकेमात्र गरीबी निवारण र तरलता व्यवस्थापनसमेत गर्न सकिन्छ  । मुलुकमा प्रादेशिक र स्थानीयस्तरको सरकार निर्माण भइसकेको सन्दर्भमा हरेक व्यावसायिक क्रियाकलापमा स्थानीय जनता नै सक्रिय भएर उद्यमशीलताको विकासका लागि अग्रसर भएमा देश र स्थानीय क्षेत्रको विकास हुने कुरामा दुईमत छैन ।   गाउँ घरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्ति सहज हुनु हो जसले तरलतालाई समेत सहज बनाउँछ ।  बैंकको उपस्थितिले अवसर नै अवसर ल्याउने भएकाले त्यस्ता अवसरहरूको सदुपयोग हरेक व्यक्तिले गर्नुपर्छ । यसका लागि वित्तीय साक्षरता अति जरुरी छ । अभैm पनि मुलुकको कुल जनसंख्याको करीब ६८ प्रतिशत जनताको मात्र बैंकिङ सेवामा पहुँच पुगेको अवस्थामा बैंकको शाखा विस्तारबाट बैंकिङ पहुँचमा वृद्धि ल्याउन सहयोग पुग्छ । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलब्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउँछ । ऋण लिई विदेश जानुभन्दा स्वदेशमा नै उद्यमशीलता विकासका लागि लगानी बढाउँदै उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आजको खाँचो हो । नेपालमा कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योगलगायत राम्रो सम्भाव्यता हुँदा हुँदै आशातीत विकास हुन सकेको छैन । तसर्थ बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा प्राप्त हुने कर्जा मार्फत आउँदा दिनमा आर्थिक उन्नति सम्भव छ । सर्वसाधारणको निक्षेपको सुरक्षामा ध्यान दिई बैंक तथा वित्तीय संस्थालाई अनुशासित, मितव्ययी बनाउन सञ्चालक, शेयरधनी तथा कर्मचारी सबैले संस्थागत सुशासनतर्फ विशेष ध्यान दिनु आजको पहिलो आवश्यकता हो । उत्पादनमूलक व्यवसायमा प्राथमिकताका साथ लगानी गरी देशको आर्थिक अवस्थालाई उकास्न सकेमात्र गरीबी निवारणमा बल पुग्छ । यसका लागि दुर्गम तथा बैंकिङ पहुँच नपुगेका बस्तीहरूमा बैंकिङ सेवा विस्तार गरी लगानीको दायरा बढाउन ढिला भइसकेको छ ।  ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भए तापनि राजनीतिक स्थिरता हुने हो वा होइन द्विविधा यथावत् छ । यस पृष्ठभूमिमा वित्तीय साधनको विवेकपूर्ण उपयोगलाई प्रोत्साहन गर्दै आर्थिक समृद्धि र स्थायित्वमा योगदान पुर्‍याउन पछि पर्नु हुँदैन । वित्तीय पहुँच वित्तीय क्षेत्रको स्रोत परिचालनको अवसर पनि भएको हुँदा स्रोतसाधनको विवेकपूर्ण उपयोगद्वारा नै गरीबी निवारण, तरलता व्यवस्थापन साथै आर्थिक समृद्धि प्राप्त गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न लक्षित बैंक तथा वित्तीय संस्थाहरूको प्रयासमा सबैको सहयोग जरुरी छ । यसबाट मात्र संघीय संरचनामा बैंक तथा वित्तीय संस्थाले भरपर्दो र  दिगो सेवा दिई गरीबी निवारण र तरलता व्यवस्थापनमा यथोचित योगदान पुर्‍याउने छन् ।  लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

वित्तीय समावेशीकरण र पहुँच

वित्तीय समावेशीकरण आर्थिक, वित्तीय र सामाजिक आवश्यकतालाई पहिचान गरेर सुलभ र उपयोगी वित्तीय सेवाहरू विवेकशील र दिगो रूपमा उपलब्ध गराउने औपचारिक तरीका हो । वित्तीय समावेशीकरणले विश्वव्यापी रूपमा रहेका ३० ओटा दिगो विकासका लक्ष्यमध्ये कम्तीमा ७ ओटा समर्थन गर्ने हुँदा यसलाई विश्वव्यापी प्राथमिकता दिएको पाइन्छ । वित्तीय समावेशीकरणले अर्थतन्त्रका सबै पक्षलाई औपचारिक वित्तीय परिधिभित्र ल्याएर तिनीहरूलाई एकआपसमा एकीकरण गर्ने लक्ष्य राख्छ । वित्तीय पहुँच वित्तीय समावेशीकरणको पहिलो खुट्किलो भएकाले वित्तीय संस्थाहरूको संख्या र पहुँचले वित्तीय समावेशीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्छ । आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महीनाको तथ्यांक हेर्दा पूर्वाधार विकास बैंकसहित कुल ११ हजार ६३२ ओटा शाखा भएका जम्मा १२५ ओटा बैंक तथा वित्तीय संस्था विद्यमान छन् । हाल भइरहेको मर्जर र प्राप्तिपद्धतिले गर्दा वित्तीय संस्थाहरूको संख्या घट्दो क्रममा छ तथापि कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वित्तीय पहुँच छ । सबैभन्दा बढी शाखा (३ हजार ५९ ओटा) वाग्मती प्रदेशमा र सबैभन्दा कम शाखा (४५९ओटा) कर्णाली प्रदेशमा छन् भने देशमा औसत जनसंख्या प्रतिशाखा २,५१० छ । बैंक तथा वित्तीय संस्थाहरू वित्तीय प्रणालीको महत्त्वपूर्ण पक्ष भएकाले बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि गरी देशको पूँजी निर्माणमा पनि भूमिका खेल्छन् । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने वित्तीय सेवासुविधाले अर्थतन्त्रको वित्तीय आवश्यकता पूरा गर्ने हुँदा दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहजता ल्याउँछ र वित्तीय समावेशीकरणलाई टेवा पुर्‍याउँछ । स्थानीय तहमा रहेका प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले उक्त तहको वित्तीय आवश्यकता पहिचान गर्न सहयोग पुर्‍याउँछन् । यसर्थ वित्तीय पहुँचद्वारा प्रत्येक वर्गलाई आवश्यक पर्ने वित्तीय सेवाहरूको पहिचान गरेर सोहीअनुरूपका सेवा प्रवाह गरी वित्तीय उपभोग बढाएर असमान आयस्तर र गरीबी निवारणको ठीक व्यवस्थापन गर्न सकिन्छ । औपचारिक वित्तीय प्रणालीमा रहेर वित्तीय पहुँच र उपयोगद्वारा आर्थिक तथा वित्तीय वृद्धि र विकासमा केन्द्रित हुन सकिन्छ । यसका लागि आधुनिक वित्तीय प्रविधि, वित्तीय साक्षरता र पूर्वाधारहरूलाई राम्ररी सम्भाव्यता अध्ययन गरी, उचित योजना बनाई सही दिशामा कार्यान्वयन गर्न जरुरी छ र यसपश्चात् मात्र समावेशी वित्तीय प्रणालीको प्रवर्द्धन गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले आम जनमानसमा वित्तीय सेवासुविधामार्फत विश्वास कायम गरी वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न सक्छन् । सबै नीतिगत सुधारका लागि लैंगिक प्रभावलाई विचार गर्दै वित्तीय ग्राहक विभाजन गरेर वित्तीय जोखिमलाई सोहीअनुरूप व्यवस्था गर्दै लैजान सक्छन् । विशेष गरी बैंक तथा वित्तीय संस्थाहरूले विप्रेषणलाई वित्तीय समावेशीकरणको प्रवेशद्वारका रूपमा वित्तीय उत्थान गर्न सक्छन् । वित्तीय बजार आचरणमा उपभोक्ता सशक्तीकरणलाई ध्यानमा राखी नीतिहरू निर्माण गर्दै बजार प्रवेश र विकासमा ध्यान केन्द्रित गर्न सक्छन् । यसर्थ वित्तीय समावेशीकरणमा विशेष भूमिका बैंक तथा वित्तीय संस्थाहरूको हुन्छ । नेपालमा वित्तीय समावेशीकरणलाई विभिन्न प्रकारका वित्तीय सेवाको परिसूचक जस्तै भुक्तानी, बचत, साख, लगानी, बीमा आदि जस्ताको उपभोगबाट मापन गरिन्छ । विद्यमान औपचारिक वित्तीय उपकरणहरूको प्रयोगबाटै अर्थतन्त्रका प्रत्येक सूक्ष्म क्षेत्रहरू जोडिंदै बृहत् रूपमा विकास हुन्छ । वर्तमान समयमा विस्तार भइरहेका डिजिटल वित्तीय सेवाहरूले जनजीवनमा केही वित्तीय सुधार ल्याए पनि राष्ट्रका अधिकांश ग्रामीण भागमा वित्तीय सजगता पर्याप्त मात्रामा छैन । ६० प्रतिशतभन्दा बढी डिजिटल वित्तीय सेवाहरू शहरी भागमा मात्र उपभोग भएको पाइन्छ । नेपाल आफैमा गरीब देश भएकाले यहाँको वित्तीय प्रणाली नाजुक छ । यहाँको सम्पूर्ण क्षेत्र औपचारिक वित्तीय परिधिभित्र आउनलाई अझै केही समय लाग्नेछ किनकि वित्तीय ज्ञान, मनोवृत्ति, शीप, क्षमता र व्यवहार विकास हुनलाई बलियो र भरपर्दो वित्तीय प्रणाली हुन आवश्यक छ । यसका लागि वित्तीय पूर्वाधारको विकास हुनु अतिआवश्यक छ र वित्तीय पहुँच र उपयोगलाई साथसाथै प्रवर्द्धन गर्नुपर्छ । अर्थतन्त्रको वास्तविक क्षेत्रलाई प्रत्येक तवरबाट वित्तीय पक्षसँग जडान गरेर वित्तीय उपभोक्ताहरूको पहिचान हुनुपर्छ । उदीयमान वित्तीय प्रविधिहरूलाई पनि ध्यानमा राख्दै डिजिटल वित्तीय साक्षरता र समावेशीकरणलाई विस्तार गर्ने अवसर छ । वर्तमान अवस्थाको बैंकिङ मर्जरले बैंकिङ संस्थाहरूको संख्या घटाए तापनि वित्तीय सेवासुविधा गुणस्तरीय भई वित्तीय समावेशीकरणलाई उकास्न सक्ने सम्भावना छ । राष्ट्रिय वित्तीय साक्षरता करीब ५८ प्रतिशत रहँदा ग्रामीण भागमा औपचारिक वित्तीय सेवाहरूलाई अझै पनि नौलो विषयका रूपमा लिइन्छ । यसर्थ देशमा विद्यमान ग्रामीण र शहरी आर्थिक अन्तरले अर्थतन्त्रको वित्तीय समावेशीकरणलाई चुनौती दिइरहेको छ । लेखक व्यवस्थापन विषयमा स्नातकोत्तर तहका विद्यार्थी हुन् ।

लगानी तान्दै प्रविधि कम्पनी

विद्युतीय भुक्तानीमा स्थापित 'खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्‍यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पुर्‍याउन अनलाइन सेवा दिएर चर्चित बनेको 'फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड

वित्तीय साक्षरता मार्गदर्शन २०७८ ले वित्तीय पहुँच मा पार्ने प्रभाव

वित्तीय साक्षरता अभियानलाई थप व्यवस्थित र नियमित बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले गत माघ ३ गतेदेखि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यान्वयनमा ल्याएको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सोही मार्गदर्शनबमोजिम वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । वित्तीय साक्षरताको पूर्वाधार निर्माण गर्ने, अध्ययन सामग्रीको उचित प्रयोग गर्ने, कार्यक्रमको अनुगमन गर्ने, वित्तीय चेतना, ज्ञान र शीपको अभिवृद्धि गर्ने र वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यहरूलाई मार्गदर्शनले समेटेको छ । यसैगरी सामाजिक सञ्जाल, सञ्चार माध्यम (रेडियो, टेलिभिजन र पत्रपत्रिका), पम्प्लेट, कथा, कविता, सडक नाटकजस्ता विभिन्न पाठ्यसामग्रीका माध्यमबाट रोजगारप्राप्त व्यक्ति, कृषक, उद्यमी, विद्यार्थी, महिला, विप्रेषण प्राप्त गर्ने वर्गलाई समेट्नेखगरी प्रभावकारी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयलाई मार्गदर्शनमा उल्लेख गरिएको छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई श्रव्यदृश्य तथा छापा आदि माध्यमहरूबाट प्रसारण र प्रकाशन गर्ने र ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’लगायत कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको थियो । सोहीअनुरूप राष्ट्र बैंकले टेलिभिजनमार्फत वित्तीय कारोबारसँग सम्बद्ध विभिन्न जानकारीमूलक श्रव्यदृश्य कार्यक्रमहरू प्रसारण गर्ने, वित्तीय चेतनामूलक गीतहरूको सँगालो जारी गर्ने, वित्तीय ज्ञान अभिवृद्धि गर्ने पाठ्यसामग्रीहरूको प्रकाशन गर्नेलगायत वित्तीय साक्षरतासँग सम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले भौगोलिक अवस्थितिको आधारमा स्थानीय विद्यालयमै गई वित्तीय जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सर्वसाधारण जनतालाई वित्तीय साक्षरता प्रदान गर्नेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । उल्लिखित कार्यक्रमहरू राष्ट्र बैंक आफैले र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू, सहकारी आदिमार्फत सञ्चालन हुँदै आएको छ । वित्तीय साक्षरता अभियानलाई राष्ट्र बैंक आफैले सञ्चालन गर्दै आएको र यस अभियानलाई विस्तार गरी मुलुकव्यापी बनाउनका लागि बैंक तथा वित्तीय संस्थाको संलग्नता प्रभावकारी हुने कुरालाई मनन गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्र्ने निर्देशन पनि जारी गरेको छ । यसअनुरूप सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याउनुपर्ने र उक्त कोषबाट सञ्चालन गरिने कार्यक्रममध्ये ५ प्रतिशत रकम वित्तीय सेवाप्रतिको पहुँच अभिवृद्धिका लागि वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरूका लागि खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकले प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च हुनेगरी गर्नुपर्ने व्यवस्था रहेको छ । विपन्न तथा न्यून आय भएका सर्वसाधारणहरू लघुवित्त वित्तीय संस्थाका लक्षित वर्ग हुन् । यस वर्गको वसोवास विशेषगरी दुर्गम तथा विकासका दृष्टिकोणले ओझेल परेका क्षेत्रमा हुने भएकाले अधिकांश लक्षित वर्गको कमजोर साक्षरता अवस्था, कमजोर आर्थिक अवस्था, यातायात र सञ्चारमाध्यमको न्यून उपलब्धता, विकट भौगोलिक अवस्था, वित्तीय पहुँचको न्यूनतालगायत अवस्था रहेको हुन्छ । ती क्षेत्रमा बसोवास गर्ने विशेषगरी लघुवित्तका लक्षित वर्गमा वित्तीय साक्षरताको स्तर पनि कमजोर रहेको पाइन्छ, जसका कारण उनीहरूलाई लक्ष्यअनुरूप वित्तीय पहुँचले समेट्न सकेको पाइँदैन । त्यसैले लक्षित वर्गलाई लघुवित्तीय सेवाप्रति आकर्षित गराउन उनीहरूलाई वित्तीय दृष्टिकोणबाट साक्षर बनाउनु जरुरी हुन्छ । लघुवित्त क्षेत्रले लक्षित वर्गको पहिचान गरी सदस्य बनाउने क्रममा नै बचत, कर्जा, भुक्तानी तालिका, किस्ता रकम र सोको ब्याज भुक्तानी, खराब कर्जा र वित्तीय जोखिमले निम्त्याउन सक्ने दुर्घटनालगायत विषयमा सदस्यलाई जानकारी दिने प्रबन्ध मिलाउनुपर्ने सैद्धान्तिक व्यवस्था रहेको छ । यसैको आधारमा लक्षित वर्गले लघुवित्त वित्तीय संस्थासँग आबद्ध भई वित्तीय कारोबारको माध्यमबाट आफ्नो आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले लघुवित्तीय सेवाको विस्तार हुन सक्छ । पूँजी अभावमा आर्थिक गतिविधिमा संलग्न हुनबाट वञ्चित भएको लक्षित वर्गलाई लघुवित्तीय सेवामा आबद्ध गराई स्वरोजगारीताको माध्यमबाट आर्थिक गतिविधिलाई चलायमान बनाउन सकिन्छ । यसरी वित्तीय साक्षरताको माध्यमबाट ग्रामीण र पिछडिएको क्षेत्रमा वित्तीय पहुँचको विस्तार गरी गरीबीको मात्रालाई न्यूनीकरण गर्न सहयोग पुग्छ । बैंक तथा वित्तीय संस्थामा आबद्ध गराई सर्वसाधारणलाई वित्तीय कारोबारभित्र समेट्नुलाई वित्तीय पहुँच र पैसा तथा वित्तीय उत्पादनको उचित तवरले व्यवस्थापन गर्नसक्ने क्षमताको विकास गर्नुलाई वित्तीय रूपले साक्षर भएको मानिन्छ । वित्तीय साक्षरताले सर्वसाधारणलाई वित्तीय कारोबार गर्ने प्रक्रिया, विभिन्न वित्तीय उत्पादनको जानकारी र त्यसको उचित उपयोग, प्रविधिमैत्री वित्तीय उपकरण र त्यसको प्रयोग, वित्तीय कारोबारसँग सम्बद्ध जोखिम र त्यसको न्यूनीकरणजस्ता विषयमा जानकारी दिलाउँछ । विगतदेखि नै वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका उच्च शिक्षा प्राप्त गरेका उच्च पदस्थ व्यक्ति, व्यवसायीहरू, जागीरे वर्ग पनि वित्तीय रूपले साक्षर नभएका हुन सक्छन् भने समाजको तल्लो तहमा रहेका सर्वसाधारण त वित्तीय साक्षरताका दृष्टिकोणले कमजोर हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । त्यसैले समाजमा रहेका सबै तह र तप्काका मानिसलाई वित्तीय शिक्षाको आवश्यकता पर्ने भएकाले उमेर, वर्ग, शिक्षाको स्तर, कार्य र बसोवास गर्ने क्षेत्र, आर्थिक अवस्था आदिको आधारमा वित्तीय साक्षरताका लागि उपयुक्त कार्यक्रम छनोट गरी सञ्चालन गर्नुपर्ने देखिन्छ । वित्तीय पहुँच र वित्तीय साक्षरता एकअर्काका पुरक हुन् । वित्तीय साक्षरताविना वित्तीय पहुँचको उपलब्धताले मात्र गुणस्तरीय वित्तीय सेवा सञ्चालन हुन सक्दैन । सेवाग्राहीलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्न र सर्वसाधारणलाई वित्तीय सेवाप्रति आकर्षित गर्नका लागि वित्तीय साक्षरता र वित्तीय पहुँचको उत्तिकै महŒव रहेको हुन्छ । त्यसैले विगतदेखि राष्ट्र बैंकबाट सञ्चालन गरिँदै आएका वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको समीक्षा गर्र्दै जारी भएका निर्देशन र मार्गदर्शनको अनुपालन गरी अघि बढेमा वित्तीय साक्षरताले आशातीत गति लिने र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार हुने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य

काठमाडौँ – नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ। यस लगानीपश्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ। वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो। खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ। वर्ल्डलिंक […]

डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत लगानी

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पु¥याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वल्र्डलिंक र खल्तीको साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय […]

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच

परम्परागत जीवनशैली, भौगोलिक विकटता, राज्यको कम चासो र सरोकार, न्यून जनघनत्व, कमजोर मानव विकास, सामाजिक र भौतिक पूर्वाधारको समान वितरण हुन नसकेको क्षेत्र नै ग्रामीण क्षेत्र हो । सडक, विद्युत्, खानेपानी, सञ्चार र स्वास्थ्य सेवाजस्ता विकासका पूर्वाधारको अभाव भएका कारण राज्यले दिने सेवा सुविधाप्रति अझै पनि बेखबर छ ग्रामीण क्षेत्र । कतै–कतै त राज्य भए नभएको अनुभूतिसमेत सो क्षेत्रमा बसोबास गर्ने नागरिकले गर्न सकेको देखिँदैन ।राज्यले नागरिकलाई प्रदान गर्ने सेवा सुविधामध्ये बैङ्किङ सेवा पनि आजको प

जनसंख्याभन्दा बढी निक्षेप खाता : ६७% नेपालीमा मात्र वित्तीय पहुँच

काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या जनसंख्या भन्दा बढी नै रहेको छ । तर, वित्तीय पुहँच भने ६७ दशमलव ३४ प्रतिशत नेपालीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय पहुँचसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार २०७७ जेठसम्म ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएको छ, जुन नेपालको जनसंख्या भन्दा बढी हो । त्यसमध्ये २ करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको छ, तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत जनतामा वित्तीय पहुँच विस्तार भएको अध्ययनले देखाएको छ । अध्ययनले भने निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकका आधारमा वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । अघिल्लो आवको ११ महीनामा मात्र थप ६ दशमलव ४४ प्रतिशत विन्दु जनसंख्यामा वित्तिय पहुँच पुगेको देखिन्छ । २०७६ असारमसान्तसम्म ६० दशमलव ९ प्रतिशत नेपालमिा वित्तीय पहुँच पुगेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय वित्तिय पहुँच बढेको बताए । ‘हामीले निक्षेप खाता सम्बन्धमा एकदम गहिराईमा गएर अध्ययन गरेका छौं । त्यसले नेपालमा पछिल्लो समय वित्तीय पहुँच विस्तार नै भएको देखिएको छ,’ उनले भने, ‘निक्षेप खाता सम्बन्धमा प्रदेश तथा स्थानीय तहगत रूपमा पनि अध्ययन गरिएको छ ।’ राष्ट्र बैंकले २ करोड ९९ लाख ९६ हजार ४७८ जनसंख्यालाई आधार बनाएर उक्त अध्ययन गरेको हो । ‘क’ ख’ र ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकको भनाइ छ । निक्षेप खाता जनसंख्याभन्दा बढी पुगेको अवस्थामा कर्जा खाता भने अन्यन्त न्यून रूपमा विस्तार भएको देखिएको छ । अध्ययनअनुसार कर्जा खाता संख्या जम्मा १६ लाख ८२ हजार ८४५ पुगेको छ । ‘समग्रमा कर्जा खाताको संख्या थोरै नै देखिएको छ । यस विषयमा राष्ट्र बैंकले छुट्टै अध्ययन गर्नेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले बताए । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्‍याउने नागरिकको संख्या भने क्रमशः घट्दै गएको पनि अध्ययनले देखाएको छ । वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायत नीतिगत व्यवस्थाले यस्तो अवस्था आएको अध्ययनले देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५ हजार ६९४ पुगेको छ । त्यसमा १ लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंकको शाखा संख्या औसतमा १८ दशमलव ९८ प्रतिशत रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार प्रदेश १ मा १८, प्रदेश २ मा १०, वागमती प्रदेशमा ३० प्रतिशत शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिँदै आएको देखिएको छ । यस्तै, गण्डकी प्रदेशमा ३०, लुम्बीनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ प्रतिशत शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिँँदै आएको देखिएको छ । ग्रामीण क्षेत्रमा प्रति १ लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ दशमलव ५४ र महानगरपालिकामा ४५ दशमलव ७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ । निक्षेप खाता खोल्ने मामिलामा वागमती प्रदेशका नागरिकले बढी खाता खोलेको देखिएको छ । वागमती प्रदेशमा प्रतिहजार १ हजार ८०२ जनाले खाता खोलेको देखिएको छ । कर्णाली प्रदेशमा भने सबै जनताले बैंक खाता नखालेको देखिएको छ । त्यहाँ प्रतिहजार ४५८ जनाले मात्रा बैंक खाता खोलेका छन् । कुल निक्षेप खातामध्ये ६७ दशमलव ७ प्रतिशत खाता मात्र सक्रिय रहेको अध्ययनले देखाएको छ । ग्रामीण नगरपालिकामा ८१ दशमलव ५ प्रतिशत खाता सक्रिय रहेको अध्ययनले देखाएको छ । कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको अंश भने ९० दशमलव ६ प्रतिशत र मुद्दती निक्षेप खाताको अंश ३ दशमलव १ प्रतिशत रहेको छ । व्यक्तिगत खातामा ९६ दशमलव १५ प्रतिशत अंश वयस्क व्यक्तिको अंश (१५ वर्षभन्दा माथि) रहेको छ ।  एटीएम कार्ड प्रयोग गर्र्ने ग्राहकको संख्या भने २० दशमलव ३५ प्रतिशत देखिएको छ । यसैग्रि मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ दशमलव ३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत देखिएको छ । उमेर गत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने देखिएको अध्ययनले देखाएको छ ।