बजेट सकारात्मक : हस्तकला महासंघ

काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी महासंघ, काठमाडौंले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको बताएको छ । संघले विज्ञप्तिमार्फत बजेटबारे प्रतिक्रिया दिएको हो । ‘आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका सिद्धान्त र यसका उद्देश्यलाई विश्लेषण गर्दा आगामी वर्षको बजेट सकारात्मक र प्रोत्साहनदायी देखिएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै महिला उद्यमशीलताको विकास, साना तथा मझौला उद्योगका लागि ब्याकवार्ड र फरवार्ड लिंकेजको स्थापना, निर्यातको आकार दोब्बर बनाउने लक्ष्यसहित आयातमा नियन्त्रण गर्ने एवं साना तथा मझौला उद्योगको वृद्धि गर्ने लक्ष्यले हस्तकला उद्यमी उत्साहित भएको संघको भनाइ छ । संघले निर्यात प्रवर्द्धन र आयात घटाउन आपूर्ति क्षमतामा सुदृढ गर्नेतर्फ बजेट आकृष्ट हुनुका साथै आयकरको सीमा बढेको कारण साना तथा मझौला उद्योगले प्रत्यक्ष लाभ लिन सक्ने बताएको छ । त्यसबाट उत्पादन र रोजगारीमा सुधार आउने अपेक्षा गरिएको संघको ठहर छ । उत्पादन दशक २०७९–८९ को घोषणा गरिएकाले सो कदम आत्मनिर्भरताका लागि सहयोगी हुने विश्वास संघले लिएको छ । वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी निकासीयोग्य वस्तुमा दिइने प्रोत्साहनलाई ८ प्रतिशतसम्म बढाइएकाले निर्यात लक्ष्य प्राप्त गर्न यसले उल्लेख्य टेवा पुग्ने संघको भनाइ छ । त्यस्तै विदेशी प्रत्यक्ष लगानी (एफडीआई) सीमालाई ५ करोडबाट घटाएर २ करोडमा ल्याइएकाले यसले हस्तकला क्षेत्रका साना उद्योगलाई समेत आकर्षित सक्ने विश्वास संघको छ ।