छोटकरीमा : आज - २०७७ मंसिर १८, बिहीबार

आज 'नेकपा विवाद : एकै दिन ओली र दाहालले भेटे राष्ट्रपति', डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमणमुक्त, सिमकोट विमानस्थलमा लागेकाे आगो नियन्त्रणमा, पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन, १५ वर्षपछि पेट्रोल कार उत्पादन र बिक्री नगर्ने योजनामा जापान लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।

 विवादले पार्टी एकता नै संकटमा परिरहेका बेला बिहीबार नेकपाका दुवै अध्यक्षले राष्ट्रपतिसँग भिन्दाभिन्दै भेटवार्ता गरेका छन्। नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन्। 


 लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका बेला सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले महिलाविरुद्धका घटना नेपालमा मात्रै बढेको नभएर संसारभर बढेको बताएका छन् । यसरी बढेका घटनामा कसरी न्यूनीकरण ल्याउन सकिन्छ भनेर सबैले लाग्नुपर्ने उनको भनाइ थियो । 


 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताएका छन् । बिहीबार गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघारेस्थित बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताएका छन् 


कोरोना भाइरस (कोभिड–१९) पत्ता लगाउन पीसीआर परीक्षण गरिन्छ । परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको खण्डमा प्रयोगशालाले सीटी भ्यालुसहितको रिपोर्ट दिन थालेको धेरै भइसकेको छ । तर, के सीटी भ्यालुले संक्रमितको अवस्था वा अरूलाई संक्रमित बनाउन सक्ने सम्भावनालाई उजागर गर्न सक्छ त ?


स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशभर ३९ लाख जना कोरोना संक्रमित भइसकेको देखाएको छ । सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । तर, अझै उक्त प्रतिवेदन गोप्य राखिएको छ ।


गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी गर्न अर्को निर्देशन दिएको छ। त्यस्तै, मन्त्रालयले भेरिफिकेसन गर्न बाँकी दाबीको जतिसक्दो छिटो भेरिफिकेसन सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् ।घटनाका सम्बन्धमा छलफल गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।


कर्णाली करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्ग जोड्ने नाम्खा गाउँपालिका– २ मा पर्ने च्याछरा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ । 

हिल्सा–सिमकोट योजनासँग ०७२ सालमा सम्झौता भई ०७५ सालमै निर्माण सम्पन्न हुने भनिएको च्याछराखण्ड साढे ६ वर्षसम्म पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको छ ।


हुम्लाको सिमकोटस्थित विमानस्थलमा लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको छ । बिहीबार बिहान ५ बजे लागेको आगो ७ बजे नियन्त्रणमा आएको हो।

विमानस्थल प्रमुख बस्ने क्वार्टरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयले नियन्त्रणमा लिएका हुन्।


प्रधानसेनापति पूर्णचन्द्र थापा दुर्गममा रहेका सेनाका ब्यारेक निरीक्षणका क्रममा सिभिल हेलिकाेप्टरमा बाजुरा जिल्लास्थित समरजित गुल्ममा पुगेका छन् ।

निरीक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अवस्थाबारे छलफल गरेको नेपाली सेनाले जनाएको छ ।


 सरकारले २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म कर्जा लिन सकिने गरी नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि जारी गरेको छ । मन्त्रिपरिषद्बाट यो कार्यविधि पास गरी अर्थ मन्त्रालयले जारी गरेको हो । सुरुमा राष्ट्रिय योजना आयोगले अनुदानमा नवप्रवर्तन सुरुवाती पूँजी दिने गरी कार्यविधि बनाइएको थियो । तर, कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको र सरकारलाई पनि अप्ठ्योरो परेको भन्दै २ प्रतिशतमा ब्याजमा ऋण दिने गरी नयाँ कार्यविधि आयोगले तयार पारेको थियो । 


नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी ओली फुट र विभाजनतर्फ अग्रसर भएको बताएका छन् । बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले यस्तो बताएका हुन् । 


 डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन् । उनी २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् । उनी अहिले बेलुका त्रिवि शिक्षण अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । 



 अमेरिकामा कोरोना संक्रमित र अस्पताल भर्ना हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रेकर्डमा पुगेको छ । स्वास्थ्यविद्हरुका अनुसार क्रिस्मससम्म यो दर घट्न धेरै कठिन पर्नेछ । 

पहिलोपटक त्यहाँ एकैदिनमा अस्पताल भर्ना हुनेको सङ्ख्या १ लाख पार गरेको ‘कोभिड ट्रयाकिङ प्रोटेक्ट डाटा’ ले देखाएको छ ।


 अमेरिकी स्टेट जर्जियाका निर्वाचन अधिकारीले राष्ट्रपति ट्रम्पमाथि हिंसालाई बढावा दिइरहेको आरोप लगाएका छन् । नोभेम्बरमा भएको चुनावमा हार बेहोरेपछि मतगणनामा धाँधली भएको भन्ने आधारहिन दाबी गरिरहँदा यसबाट उत्पन्न विभिन्न किसिमका हिंसात्मक गतिविधिकका लागि उनले ट्रम्पलाई जिम्मेवार ठहर्याएका हुन् ।  


पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिण्डीस्थित अस्पतालमा निधन भएको छ । उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयाघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । 


जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । 


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक