छोटकरीमा : आज - २०७७ मंसिर २५, बिहीबार

आज 'पोखरेल एआईजीमा बढुवा, गेलाल सचिव नियुक्त', 'संवैधानिक परिषद्को बैठक मंसिर २८ गते', 'दुईदिन सार्वजनिक बिदा दिन अध्ययन समितिकाे सिफारिस', 'आधा वर्षमै आठ करोड मानिस विस्थापित, कोरोनाबाट थप पीडा', '८ सेकेन्डका लागि क्वारेन्टिन नियम तोड्दा ३५ सय डलर जरिवाना' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ। यसअघि डीआईजी रहेका पोखरेललाई अप्रेसन विभाग प्रमुख बनाउँदै एआईजीमा बढुवा गरिएको हो।


संवैधानिक परिषद्को बैठक मंसिर २८ गते ९ बजेका लागि बोलाइएको छ । ४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार बैठक बोलाइएको हो ।  


जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बनेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटक दुर्गन्धका कारण नाक खुम्च्याएर फर्किन बाध्य छन् ।


गोरखाका धार्मिक स्थलहरुमा निषेधाज्ञा हटाइएको छ । निषेधाज्ञा हटेसँगै मठ, मन्दिर, गुम्बा मस्जिद,चर्च लगायतका स्थानमा दर्शन तथा पूजा गर्न सर्वसाधारणका लागि शुक्रबारबाट खुला भएको छ ।

प्रसिद्ध धार्मिक स्थल मनकामना, गोरखा कालिका र गोरखनाथ मन्दिर खुलाउने तयारी थालिएको छ । मनकामना मन्दिर मंसिर २८ गतेबाट खुलाउने तयारी थालिएको छ ।


नेपाल र चीन सीमास्थित हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले माइनस ७ डिग्री तापक्रममा सुरक्षा गस्ती गरिरहेको छ।

गत वर्षसम्म हिल्सा क्षेत्र सुनसान रहन्थ्यो। ५ महिनाअघि हिल्सामा बीओपी स्थापना भएको हो।


बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय र प्रदेश सरकार कमजोर अवस्थामा नरहेको दाबी गरेका छन्। बिहीबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय र प्रदेश सरकार कमजोर अवस्थामा रहेको भन्ने हल्लामा कुनै सत्यता नभएको दाबी गरेका हुन्।


हप्तामा दुईदिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सिफारिस गरेको छ। दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरुको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष छ।


आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाइ जावलाखेलस्थित सदर चिडियाखाना खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।


खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताबापत एक वर्षमा झन्डै साढे ८७ लाख रुपैयाँ अनियमितता भएको खुलेको छ ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको गुनासोपछि असोज १४ मा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सरिता खड्काको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।


बौद्धिक अपांगता भएकी विराटनगरकी एक बालिका गत भदौ ४ गते छिमेकीबाटै बलात्कृत भइन् । परिवारका सबै सदस्य मेलापात गएको मौका छोपेर स्थानीय ३५ वर्षीय सञ्जय राजवंशीले बलात्कार गरेका थिए । शारीरिक रूपमा तन्दुरुस्त देखिए पनि उमेरअनुसार बालिकाको बौद्धिक विकास छैन ।


नौ महिनापछि नेपाल–भारतबीच नियमित हवाई संचालन हुने भएको छ । नेपाल र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउने गरी दुई देशबीच पुनः हवाई सुचारु हुन लागेको हो ।

नेपाल सरकारले भारतले सिफारिस गरेको एयर बबल स्किममा सहभागी हुने निर्णय गरेको थियो ।


अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।

फाउन्डेसनले कोभिड–१९ को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरुमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने पनि जनाएको छ । 


छिमेकी देश भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि प्रयासहरु बाक्लिएको देखिएको छ । 

भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेर फर्किएको दुई सातापछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक जिम्मेवार नेता नेपाल भ्रमणमा आएका छन् । 

भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवा आज काठमाडौं आइ पुगेका छन् । 


यसैसाता आफ्नो अनुसन्धानात्मक कृत्रिम मौसम सुधार कार्यक्रमलाई विस्तार गर्ने घोषणा गरेको छ जसले अब ५५ लाख वर्ग किलोमिटर अर्थात भारतभन्दा १.५ गुणा ठूलो क्षेत्रफलमा काम गर्ने बताइएको छ। चिनियाँ राज्य परिषदको बयान अनुसार २०२५ सम्ममै चीनले ‘वेदर मोडिफिकेसन सिस्टम’ स्थापित गराइसक्नेछ । 


शनिबार र आइतबार भारतको आन्ध्र प्रदेशमा एकैपटक सयौँ मानिसहरु रहस्यमयी तरिकाले बिरामी भइ ५०० भन्दा बढीलाई अस्पताल भर्ना गराउनु परेपछि भारतीय स्वास्थ्य अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरेका हुन् । र यसैको नतिजाले ती बिरामीहरुको रगतमा ‘लिड र निकेल’ धातु रहेको देखाएको छ । 


अधिकारीहरुले एक व्यक्तिलाई आठ सेकेन्डका लागि क्वारेन्टिनको नियम उल्लंघन गरेकामा ३५सय डलरको जरिवाना लगाएका छन् । फिलिपिन्सबाट आएका ती आप्रवासी कामदार, काओसिङ सहरको होटलमा क्वारेन्टिनमा बसेका थिए र त्यसैबीच उनी छोटो समयका लागि कोठाबाट बाहिर निस्किएको सहरको स्वास्थ्य विभागले ताइवान सेन्ट्रल न्युज एजेन्सी, सीएनएलाई जानकारी दिएको छ । 


अमेरिकाका सबै ५० राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरू पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् १४ डिसेम्बरमा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।


विश्वका विभिन्न देशबीच भइरहको युद्ध, द्वन्द्व र देशभित्रै जारी गृहयुद्धका कारण सन् २०२० को मध्यसम्ममा करिब आठ करोड (7.95 करोड) मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघकाअनुसार यस्ता घटनाबाट विस्थापित भएकामाथि कोरोना महामारी थपिँदा शरणार्थीहरूको जीवन कठिन बनेको छ। 


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक