‘व्यवसायीको अभियानमा सरकारको साथ छ’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायलाई स्वच्छ र मर्यादित बनाउनु सरकारको पनि विशेष सरोकारको विषय भएकाले व्यावसायीहरूले अगाडि सारेको अभियानलाई सहयोग गर्ने बताउनुभयो । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घले शुक्रबार सुरु गरेको स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी अभियानको उद्घाटन गर्दै उहाँले यस अभियानलाई सार्थक बनाउन त्यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार भएको पनि बताउनुभयो । उहाँले नेपालको मौलिक कला र संस्कृतिमा आधारित परम्परागत गरगहनाको उत्पादन गरेर स्वदेश तथा विदेशमा बजार विस्तार गर्न व्यवसायीहरूलाई सुझाउनुभयो । उहाँले यतिबेला सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेकाले सबै क्षेत्र, पेसा, व्यवसायबाट प्राप्त सुझावलाई ग्रहण गरिरहेको र जायज माग सम्बोधन गर्न प्रयास हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो