उडिसामा ५०० मेवा सौर्य ऊर्जा उत्पादन गर्न एनएचपीसी र जीईडीकोल बीच  सम्झौता

पुस २७, नयाँदिल्ली(भारत) । भारतको उडिसामा ५०० मेगावाट(मेवा) सौर्य ऊर्जा उत्पादन गर्न सम्झौता भएको छ ।  त्यहाँको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपीसी) ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसन अफ उडिसा(जीईडीकोल) सँग ५०० मेवा ऊर्जा उत्पादन गर्न हालै सम्झौता गरेको हो। सौर्य ऊर्जाबाट विद्युत् निकाल्न लागिने ज्वाइन्ट भेन्चरमा पहिलो चरणमा ३०० मेवा बिजुली उत्पादनका लागि २० अर्ब  भारु खर्च हुने इकोनोमिक टाइम्सले  आफ्नो वेब संस्करणमा समाचार छापेको छ।  उडिसा सरसकारका ऊर्जा राज्यमन्त्री दिव्यशंकर मिश्रको उपस्थितिमा एनएचपिसीका सीएमडी एके सिंह र उडिसाको उत्पादक कम्पनीका तर्फबाट अध्यक्ष विष्णुपद सेठीले हस्ताक्षर गरेको भारतीय ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले  समाचार छापेको छ। उनीहरु  बीच  सन् २०२० को जुलाई २० मा ऊर्जा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। अब दुवै कम्पनीका तर्फबाट ज्वाइन्ट भेन्चर कम्पनी स्थापना हुनेछ र त्यसले त्यहाँको सरकारको निर्देशन अनुसार काम अघि बढाउने छ। कम्पनीमा केन्द्र सरकार मातहतको कम्पनीको दुईतिहाई लगानी हुनेछ भने एक तिहाई उडिसाको कम्पनीको हुने छ।  कम्पनीमा एनएचपिसीतर्फ तीनजना निर्देशक तथा एकजना प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुने छन् भने उडिसाको कम्पनीले एकजना निर्देशक तथा मातहतका अन्य महत्वपूर्ण पद पाउने सम्झौतामा उल्लेख छ। भारतले उडिसामा नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्न लागिएको यो ठूलो लगानी भएको बताएको छ । एजेन्सी