कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, ४३७ जना संक्रमित

फागुन ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ५ हजार १३३ पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ एन्टिजेन परीक्षणमा १६२ जना गरी कुल ४३७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ पुगेको छ । यसैगरी, शुक्रवार २ हजार ४५४ जना निको भएसँगै हालसम्म ९ लाख ४८ हजार ७८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।