बेनी–तातोपानी सडक खण्डको निर्माण धमाधम

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । सहायक ठेकेदारले अपूरो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन गत भदौमा काममा फर्किएका मुख्य ठेकेदारले अहिले कामलाई तीव्र बनाएका हुन् । समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तर निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले बेनीदेखि तातोपानीसम्म सात ठाउँमा मजदूर र उपकरण परिचालन गरिएको बताए । उपकरण र मजदूरको संख्या बढाएर फरकफरक ठाउँमा परिचालन गरिएको उनको भनाइ छ । ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको उनले बताए । नदीजन्य वस्तुको अभाव भएको भन्दै उनले बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको जानकारी दिए । बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने ठेक्का लिएर अलपत्र पारेकाले लामा निर्माण कम्पनीका सञ्चालक जिपछिरिङ लामाको तस्विर सडकमा झुन्ड्याएर स्थानीयवासीले हालै विरोध व्यक्त गरेका थिए । २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक निर्माण २०७६ माघ ४ गते सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले पछिल्लोपटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको बताए । चौथोपटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम शुरू गरेको ठेकेदार कम्पनीका व्यवस्थापक सदाले बताए । बेनी–तातोपानी खण्डमा कालोपत्र र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण शुरू गर्ने उनले बताए । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किलोमिटरखण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले बताएको छ । रासस