बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने

बागलुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २२९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् । साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहत उपलब्ध गराएको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा रु एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकिएको छ ।