सीमापार सूचीकृत कम्पनीहरुमाथि निगरानी बढाउँदै चीन

असार २२, पेचिङ (चीन) । चीनले सीमापारका शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुमाथिको निगारानी बढाउने भएको छ । मंगलवार त्यहाँको मन्त्री परिषद्ले यस्तो बताएको हो ।  चीनले घरेलु अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती ग्लोबल इंकमाथि साइबर सुरक्षासम्बन्धी अनुसन्धान शुरु गरेको केही दिनपछि मन्त्रीपरिषद्ले यस्तो घोषणा गरेको हो ।  अमेरिकी शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुमाथि कडाई गर्न यो कदम चालिएको विश्लेषण गरिएको छ ।  नयाँ उपायहरु अन्तर्गत चीनले सीमापार डेटा प्रवाह र सुरक्षासम्बन्धी नियमन सुधार्नेछ, शेयर बजारमा हुने गैरकानूनी गतिविधिहरुमा कडाई गर्नेछ र जालसाझ गरेर गरिने शेयर जारी, बजारमा चलखेल र इन्साइडर ट्रेडिङ जस्ता गतिविधि गर्नेहरुलाई दण्डित गर्नेछ ।  शेयरसम्बन्धी लगानीका लागि आउने रकमको स्रोतमा पनि चीनले छानबिन गर्नेछ र लिभरेज रेशियो पनि नियन्त्रण गर्ने बताइएको छ ।  चीनको साइबर प्रशासन (सीएसी)ले घरेलु एप स्टोरहरुलाई तितीको एपलाई हटाउन आदेश दिएपछिको पहिलो दिनको कारोबारमा मंगलवार अमेरिकामा नियमित समय पूर्वको कारोबारमा तितीको शेयरमूल्य २५ प्रतिशतसम्म घटेको थियो । एजेन्सी