बाँकेका कारोना संक्रमितको मृत्युदर ह्वात्तै घट्यो

जेठ १६, बाँके । कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ ।  शनिवार रातिदेखि आइतवा बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बाहिरी जिल्लाका रहेका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शून्य रहेको छ । अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका संक्रमित रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  उनका अनुसार कोरोना संक्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ ।  पछिल्लो पटक शनिवार रातिदेखि आइतवार बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११:०० बजे मृत्यु भएको छ । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३:३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५:३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६:४५ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । रासस