वैशाख ४, काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधस्वरुप आइतवार राष्ट्र बैंकमा कोण सभा पनि आयोजना गरेका छन्।
सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरे। कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।
यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारहरुले गरेको बर्खास्ती तथा निलम्बनको कर्मचारीहरुले विरोध गरेको पनि उनले बताए।
कर्मचारीहरुले विरोधस्वरुप राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका कार्यालयहरुमा पनि कालो ब्यानर झुन्डाएका छन्।
ब्यानरमा केन्द्रीय बैंकको स्वयत्ततामाथिको हस्तक्षेप बन्द गर्न, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नरमाथि शुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्न र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।