सहिद स्मारक लिग ‘ए’ डिभिजन : सातदोबाटोले गुमायो, फ्रेन्ड्सले गुमाएन

फ्रेन्ड्स प्रशिक्षक मृगेन्द्र मिश्रले ठीकै भनेका हुन्, भर्खरै ‘ए’ डिभिजनमा उक्लेको टिमको जोस बेग्लै हुन्छ । सातदोबाटोको सामना गर्नअगाडि उनको मनको कुनै कुनामा थियो, यो खेल गाह्रो हुनेछ । प्रतियोगिताको उद्घाटन खेल गोलरहित बराबरीमा समाप्त भएपछि उनले २०६२ को लिग सम्झे जति बेला उनी थ्रीस्टारका प्रशिक्षक थिए । त्यो संस्करणको लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रहेको थ्रीस्टार एपीएफको हातबाट २–१ ले पराजित रहेको थियो ।