२० वर्षसम्म दावी नपरेका निक्षेप विकास कोषमा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले  २० वर्षसम्म लिन बुझ्न नआएका/दावी नपरेका निक्षेप राष्ट्र बैंकको बैकिङ्ग विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहौरलाई निर्देशन द्दिएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका/दावी नपरेका निक्षेप  कोषमा जम्मा गर्नेको लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो।जस अनुसार बीस वर्षसम्म बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसावमा जम्मा गर्नु पर्नेछ ।  यसरी बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रकृया पुरा गरी राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित यस बैंकमा दावी पेश गर्नु पर्नेछ । आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विना व्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।