डिभिजन वन कार्यालय बैतडीको राजस्व संकलनमा वृद्धि

साउन ३२, बैतडी । डिभिजन वन कार्यालय बैतडीले गत आर्थिक वर्षमा राजस्व संकलनमा वृद्धि गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को भन्दा आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख १५ हजार ४११ रुपयाँ बढी राजस्व संकलन गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा ३ लाख ३८ हजार ८११ रुपयाँ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा १२ लाख ५४ हजार २२२ रुपयाँ राजस्व संकलन गरेको छ । कोरोना माहामारी नियन्त्रणको लागि गरिएको निषेधाज्ञाले आर्थिक वर्ष २०७६/०७७ मा विक्री हुन नपाएको गैर काष्ठ वन पैदावार गत आर्थिक वर्षमा नै विक्री गरीएकाले गत आर्थिक वर्षमा राजस्वमा वृद्धि भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए । उनले भने ‘गत आर्थिक वर्षमा पञ्चवर्षिय योजना पनि स्वीकृत भयो । यसले गर्दा गैर काष्ठ वनपैदावारको मात्र बढी विक्री भयो यसले पनि राजस्व बढाएको हो’ ।  यसैगरी कार्यालयले गत आर्थिक वर्षमा प्रदेशको पूँजीगत खर्चभन्दा संघबाट प्राप्त पूँजीगत खर्च बढी गरेको छ । चालू आवमा भने संघको भन्दा प्रदेशको खर्च बढी भएको पाइएको छ ।  प्रदेशको पूँजीगत खर्चको जम्मा ७६ दशमलव १३ प्रतिशत र संघबाट प्राप्त जम्मा पूँजीगत खर्चको ९७ दशमलव ३० प्रतिशत खर्च गरेको छ । प्रदेशको चालू आवमा ९० प्रतिशत र संघको चालू आवमा ८४ दशमलव ३ प्रतिशत खर्च गरेको छ । संघको पूँजीगत ५० लाख ४० हजारमध्ये ४९ लाख ४ हजार ३४० खर्च गरेको छ भने प्रदेशबाट प्राप्त पूँजीगत ३ करोड २२ लाख ५५ हजार मध्ये २ करोड ४५ लाख ५८ हजार ५३६ रुपयाँ खर्च गरेको छ । यस्तै, संघको चालू १ करोड ६० लाख ४ हजार मध्ये ८९ लाख ११ हजार ३७१ खर्च गरेको छ । यस्तै प्रदेशको चालू ११ करोड ४७ लाख ३१ हजारमध्ये १० करोड ३३ लाख ५ हजार ३४५ रुपयाँ खर्च गरेको कार्यालयले बताएको छ ।   

सम्बन्धित सामग्री

लौठसल्ला संरक्षणको पहल

जथाभाबी सडक निर्माणले वन फँडानी हुँदा औषधीय गुणयुक्त लौठसल्ला संरक्षणमा चुनौती थपिएको छ। सङ्कटमा परेको लौठसल्ला संरक्षणका लागि बैतडीमा पहल थालिएको छ। वनस्पति अनुसन्धान केन्द्र कैलाली, डिभिजन वन कार्यालय बैतडी र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको पहलमा संरक्षण थालिएको हो।