भदौ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ २९ लाखभन्दा बढी नोक्सानीमा

असोज १५, काठमाडौं । भदौ २३ गतेदेखि सञ्चालनमा रहेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ भदौ मसान्तसम्ममा रू. २९ लाख ४४ हजार नोक्सानीमा रहेको छ ।  योजना सञ्चालनको पहिलो महीना योजनाको प्राप्त भइसकेको आम्दानी रू. ५४ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ३० लाख ८३ हजार रहेको छ । जम्मा आम्दानी रू. ३१ लाख ३८ हजार भएको योजनाको जम्मा खर्च भने ६० लाख ८३ हजार भएको छ ।  यस महीना योजना निष्कासन तथा अन्य पूर्व सञ्चालन खर्च, योजना लेखा परीक्षण शूल्क, योजना व्यवस्थापन शूल्क, डिपोजीटरी शुल्क, कोष सुपरीवेक्षक शुल्क र बैंक शुल्कमा उक्त रकम खर्च भएको हो । आम्दानी भन्दा खर्च बढी भएकाले भदौ मसान्तसम्म योजनाले नोक्सानी व्यहोरेको हो ।  योजना सञ्चालनको पहिलो महीनामा योजनाको धितोपत्र दलाल कमिशन सहित कारोबार शुल्क समेत धितोपत्रमा लगानीको परल मूल्य रू. ५९ लाख ७७ हजार हजार रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी रहेको छ ।  भदौ मसान्तसम्म योजनाले सूचीकृत शेयरमा गरेको लगानीको बजारमूल्य रू. ३३ लाख ६९ हजार, सूचीकृत हुन बाँकी शेयरमा गरेको लगानीको बजार मूल्य रू. ५३ लाख ५४ हजार रहेको छ ।  यस अवधिसम्म योजनाले मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । भदौ मसान्तसम्म योजनाको कुल सम्पत्ति रू. १ अर्ब २४ करोड ७६ लाख ८ हजार छ । यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ९८ रहेको छ ।