मुलुकको अर्थतन्त्र फेरि अप्ठ्यारोमा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ६ महीना पूरा हुँदासमेत बजेट कार्यान्वयन सन्तोषजनक नहुनु र कोभिड संक्रमण बढ्दै जाँदा आर्थिक सूचकांकहरूमा संकुचन आउन थालेपछि अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्न थालेको छ । अर्थ मन्त्रालयकै तथ्यांकमा बजेट कार्यान्वयनतर्फ पूँजीगत खर्चको स्थिति बिजोग छ भने बजेटमा घोषणा गरिएका चालू कार्यक्रमहरूसमेत बजेट आएको लामो समयसम्म कार्यान्वयनमा जान सकेका छैनन् । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ६ महीनाको अवधिसम्ममा सरकारी खर्चको अवस्था कमजोर देखिएको छ । पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ३१ प्रतिशत बराबर मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । यो खर्चको स्थिति संक्रमण दर कम हुनुअघिको हो । महामारीको स्थिति बढ्दै जाँदा सरकारलाई खर्चसहित राजस्व संकलनमा प्रभाव पर्ने र आगामी दिनमा लक्ष्य भेट्न थप चुनौती हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार विकास खर्च नहुनुका कारण कोभिड संक्रमण दर मात्रै होइन, सरकारको नीति, बैंकले ऋण दिन नसक्नुजस्ता अरू धेरै कारण पनि छन् । सिंहका अनुसार सरकारले अहिले निर्माण व्यवसायीबाट बैंकमा राखेको धरौटी रकम मात्र फुकुवा गरे विकास निर्माणलाई तीव्रता दिन सकिने अवस्था छ । सरकारले रोक्का गरेर राखेको धरौटी रकम ३० अर्ब छ । त्यस्तै, मोबिलाइजेशन रकम दिने व्यवस्थालाई २० प्रतिशतमै कायम गरे अर्थतन्त्रको चक्र राम्रो हुने र निर्माणको कामले तीव्रता पाउने उनको बुभाइ छ । बैंकले निर्माण व्यवसायीलाई ऋण नदिएका कारण निर्माणका काम अघि बढाउन नसकिएको उनको जिकीर छ । सिंहका अनुसार कोभिड संक्रमण बढ्दै गएपछि विकास आयोजनाको काम प्रभावित भएको छ । २ वर्षदेखि कोभिडबाट प्रभावित आयोजनालाई पछिल्लो ओमिक्रोनले थप समस्यामा पार्नेछ । ओमिक्रोनबाट मुलुकभरका २ हजार ७ सय ७२ ओटा विकास आयोजना प्रभावित हुनेछन् । यस्तै, सरकारले चालू बजेटमा घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा समेत पटक्कै ध्यान दिएको छैन, त्यसमध्येको एउटा कार्यक्रम हो, सरकारले कोभिडबाट प्रभावित गरीब घरपरिवारलाई १० हजारका दरले राहत दिने कार्यक्रम कार्यान्वयनमा नजानु । दशैंमा राहत बाँड्ने घोषणा गरेको सरकारले त्यस्ता परिवारलाई अहिलेसम्म राहत बढ्न नसक्नुले राहतको सट्टा जनतालाई आघात पुगेको छ । यसले अर्थतन्त्र मात्रै नभई सरकारमाथिको जनविश्वाससमेत गुम्न पुगेको छ । यस्तै, बजेटमा बारम्बार आएको तर लागू हुन नसकेको अर्को कार्यक्रम हो, स्टार्टअप बिजनेश गर्नेलाई सहुलियतपूर्ण कर्जा दिने । यो कार्यक्रम विगत १० वर्षदेखि बजेटमा आए पनि सरकारले लागू गर्न सकेको छैन । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगले कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनिरहेको भन्दै आए पनि यो कार्यक्रम अहिलेसम्म लागू हुन सकेको छैन । अर्थ मन्त्रालयका सहसचिव रीतेशकुमार शाक्य कार्यविधि निर्माणको कामले गर्दा समय लागेको र यसको काम सकिनेबित्तिकै कार्यान्वयनमा जाने बताउँछन् । महामारीबाट रोजगारी गुमाएकाहरूलाई समेत रोजगारी दिनेगरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम चालू वर्षको बजेटमा दायरा विस्तार गरेर सञ्चालन गर्दै आए पनि यो कार्यक्रमको अवस्था बिजोग छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ७ लाखले निवेदन दिएकोमा अहिलेसम्म ६ हजारले रोजगारी पाउनुले सरकार बजेट कार्यान्वयनमा गम्भीर नभएको स्पष्ट पारेको छ । बजेट कार्यान्वयन कमजोर भएसँगै चालू वर्षमा प्राप्त गर्ने भनेको आर्थिक वृद्धिदर पूरा हुन सकस पर्ने देखिएको छ । त्यसो त विश्व बैंकले सरकारको लक्षित वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा खुम्चाएको थियो । कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख भएको प्रतिवेदनले औंल्याएको थियो । यता, अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रहरू फेरि महामारीको चपेटा फस्न थालेका छन् । ठूला होटेलमा धमाधम बुर्किङ रद्द हुन थालेको छ । सोल्टी, एभरेष्ट, होटेल याक एन्ड यती, हायात, मेरियट, अलोफ्ट, र्‍याडिसन, हायात प्लेसलगायत विभिन्न पाँचतारे होटेलले रूम र बेंक्वेट हल बुकिङ धमाधम रद्द हुन थालेको बताएका छन् । ओमिक्रोन प्रभाव शुरू भएसँगै यतिखेर अकुपेन्सी नै ७ प्रतिशत मात्रै रहेको बानेश्वरस्थित होटेल एभरेष्टले जानकारी दिएको छ । ठूला इभेन्टका लागि लिइएको अग्रिम बुकिङ धमाधम रद्द हुँदै आएको एभरेष्टमा कार्यरत एक कर्मचारीले बताए । घरजग्गा कारोबारमा समेत मन्दी छाएको छ । मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुरलगायत ठाउँमा पनि पुसमा १५/१६ सयभन्दा धेरै घरजग्गा किनबेच हुन सकेनन् । विगत ३/४ महीनादेखि नै घरजग्गा कारोबार सुस्ताएको छ । व्यवसायीले ५ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर बढेर १२/१३ प्रतिशत पुगिसकेको छ । घरजग्गा व्यवसायी दिनेशलाल चुकेले भने, ‘यति लामो समयसम्म कारोबारमा मन्दी आएपछि नेपालमा पनि घरजग्गा क्षेत्रमा अन्तरराष्ट्रिय बजारको जस्तै मन्दी आएको हो कि भन्ने आशंका छ ।’ अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्र बैंक हो । बैंकमा लगानीयोग्य रकमको अभाव देखिनुले अर्थतन्त्रलाई सकारात्मक देखाउँदैन । वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात बढेर ९० पुगेको छ । यसअघि मङ्सिर २४ मा सीडी अनुपात बढेर ९१ दशमलव ४९ प्रतिशतसम्म पुगेको थियो । तर, पुस महीना लागेपछि नेपाल राष्ट्र बैंकले वस्तु आयातको प्रतीतपत्र ‘एलसी’ खोल्नका लागि गरेको कडाइ तथा पुनर्कर्जा, अर्थ मन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशतसम्म सीडी गणनामा प्रयोग गर्न दिने व्यवस्थाले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा सीडी अनुपात ८९ दशमलव २९ प्रतिशत पुगेको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार तरलता व्यवस्थापनमा काम भइरहेकाले सुधारको सम्भावना भने कायमै छ । जानकारहरूका अनुसार पूँजीगत खर्चमा वृद्धिसँगै बाह्य ऋण तथा अनुदान बढाएर सरकारले मुलुकलाई आर्थिक मन्दीमा फस्नबाट बचाउन सक्नुपर्छ । त्यसका लागि प्रधानन्त्रीकै अग्रसरतामा विकासे मन्त्रालयसँग छलफल गरी खर्च हुन नसक्नुका कारण पहिल्याएर समाधान गर्नुपर्ने पूर्वमुख्यसचिव विमल कोइराला बताउँछन् । सरकारी नीति तथा कार्यक्रम र बजेटमार्फत महत्त्वाकांक्षी योजना घोषणा गर्ने तर लक्ष्य हात पार्न गृहकार्यसमेत नगर्ने प्रवृत्तिले समग्र सूचकहरू नकारात्मक बाटोमा जान थालेको उनको बुझाइ छ ।

सम्बन्धित सामग्री

मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा गुज्रिरहेको छः विनाेद चौधरी

नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा गुज्रिरहेको बताएका छन् ।

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

पाल्पा : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएको बताएका छन्।पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दैअर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए।अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको दायरामा ल्याइने बताए। देशभरका सहका

मुलुकको अर्थतन्त्र गम्भीर संकटमाः पूर्वअर्थमन्त्री

लुम्बिनी- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् । रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औं अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले […]

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । “अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “अब ढिलो गर्ने …

मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा छैन्, चुनौती कायम छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती कायम रहेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत भने देखा परेको उल्लेख गरे।...

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन तर केही समस्याहरु छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको तर केही समस्याहरु रहेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित केटीएम भ्वाइसको वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको तर केही समस्याहरु रहेको दाबी गरेका हुन्। अर्थतन्त्रमा देखापरेका समस्याहरुलाई समाधानका लागि छलफल गरिरहेको […]

‘मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको मेला तथा प्रदर्शनी’ कार्यक्रममा उनले विप्रेषण, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्नसके मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् । “मुलुकको अर्थतन्त्र विप्रेषणमात्रै आएर चल्दैन, विप्रेषण, […]

उद्योग क्षेत्रको विकासबिना मुलुकको अर्थतन्त्र सबल हुन सक्‍दैन : मुख्यसचिव बैरागी

१७ मंसिर, काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकासबिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रवारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा बोल्दै उनले देश विकासका लागि उद्योग क्षेत्रको महत्वपूर्ण भुमिका भएकाले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल […]

मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गएकाे छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको र श्रीलंकाको बाटोतर्फ नेपाल गइरहेको छ भन्ने तर्कमा कुनै सत्यता नरहेको बताएका छन्।नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे।शनिवार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि

मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताएका छन्।...