बुद्ध एयरले घटायो डलर हवाई भाडादर

काठमाडौं (अस) । निजी क्षेत्रको वायुसेवाप्रदायक कम्पनी बुद्ध एयरले सन् २०२० जनवरीदेखि लागू हुने गरी डलर हवाई भाडादर घटाएको छ । विदेशी पर्यटक तथा यात्रुका लागि कम्पनीले झन्डै आधा प्रतिशतले भाडा घटाएको जानकारी दिएको छ । नेपालमा पर्यटकका लागि भिसा खुला गरिएसँगै पर्यटक आगमन सहज हुने र विदेशी पर्यटकलाई सस्तोमा सेवा दिने उद्देश्यले कम्पनीले डलरको भाडादर समायोजन गरेको हो । कम्पनीले पर्यटकीय गन्तव्य पोखरा, जनकपुर, भैरहवालगायत गन्तव्यको भाडादर घटाएको छ । कम्पनीका अनुसार पोखराका लागि १०६ डलर तोकिएकोमा जनवरी २०२२ देखि लागू हुने गरि ६५ डलरमा झारिएको छ । यस्तै, अन्य गन्तव्यमा पनि भाडादर समायोजन गरिएको छ । महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाई भाडाले थप आकर्षित गर्ने कम्पनीका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले दाबी गरे । पछिल्लो समय अनलाइनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशी बताउँछन् । कम्पनीका अनुसार काठमाडौं–पोखरा ६५ डलर, काठमाडौं–विराटनगर ७६, काठमाडौं–जनकपुर ४२, काठमाडौं–सिमरा ३०, काठमाडौं–भैरहवा ६५, काठमाडौं–धनगढी १३८, काठमाडौं–नेपालगञ्ज १०२ र काठमाडौं–भद्रपुरका लागि ९४ डलर भाडादर तोकिएको छ । यो भाडादर भने एकतर्फी हो । पर्यटकीय सिजन सुरु भएसँगै सरकारले अनअराइभल भिसा खुला गरेको र पर्यटक आगामी २०२२ मा बढ्ने सम्भावनाको प्रक्षेपण भएका बेला निजी क्षेत्रको उक्त कम्पनीले डलर भाडादर समायोजन गरेको छ ।

सम्बन्धित सामग्री

बुद्धले फेरि भित्र्यायो ७२ सिटे एटीआर जहाज, दुई साताभित्र उडान सेवा दिने लक्ष्य

फागुन १२, काठमाडौं । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बुधवार ७२ सिटे थप एउटा जहाज ल्याएको छ । योसँगै कम्पनीसँग जहाजको जम्मा संख्या १६ पुगेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्न थालेको कम्पनीले थप एक एटीआर- ७२ जहाज भित्र्याएको हो । कलसाइन ९ एन- एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर आगामी दुई साताभित्र उडान सेवा दिने कम्पनीले बताएको छ । कम्पनीसँग हाल ११ ओटा एटीआर- ७२, तीन  ओटा एटीआर- ४२ र दुई  ओटा बिचएयरक्राफ्ट जहाज छन् । कम्पनीले जारी गरेको विज्ञप्तिमा बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध रहेको उल्लेख छ । कम्पनीले गत जनवरी महीनादेखि अन्तरराष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । कम्पनीले नेपालमै ६ महीना अवधि बसाई गरेका अन्तरराष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्रयाउन ठूलो मद्दत गर्ने भन्दै विज्ञप्तिमा यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्ने उल्लेख छ ।

आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा हवाई कम्पनीहरु

असार १२, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।             आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले संक्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । ती एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने बताएका छन् ।             एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने बताएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित संख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको बताएका छन् ।             अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने बताएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले बताएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।             अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ ओटा उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।             यस्तै यती एयरलाइन्सले कुल १५ ओटा उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।             कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।   रासस