औषधिमा आत्मनिर्भर बन्न नीति तथा कानूनमा परिमार्जन आवश्यक : औषधि उत्पादक

भदौ १९, काठमाडौं । औषधी उद्योगीहरुले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुकुल वातावरण बनाउनुपर्ने सुझाव दिएका छन् ।    नेपाल औषधि उत्पादक संघ(एपोन) का नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा नेपाल  उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वागत कार्यक्रममा औषधि उद्योगीहरूले औषधि लगायत उद्योग व्यवसायसँग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन्, तीनको प्रस्तावनामै उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा व्यापक सुधारको खाँचो रहेको बताए  । नेपालमा केहि वर्ष अघिसम्म करीब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करीब ५० प्रतिशत पुगेको पनि उनीहरुले बताएका छन् । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरूको छ । यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्न आवश्यक रहेको पनि उनीहरुको भनाइ छ ।  एक तथ्यांक अनुसार नेपालको औषधि बजार करीब ४५ देखि ५० अर्ब रुपैयाँको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारत लगायतका मुलुहरूबाट आयात हुने गरेको छ । केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यातसमेत गर्दै आएका छन् । नेपालमा औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको उनीहरुको भनाइ छ ।  सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले सहभागीहरुलाई स्वागत गर्दै मुलुकको आर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेका थिए।  उनले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ, लगानी विस्तार रोजगारी सृजना गर्न सकिन्छ, एकै ठाउँमा बसौं, अप्ठेराहरू पहिचान गरी त्यसको कार्यान्वयका लागि सरकारमा पहल गरौं, महासंघ त्यसको नेतृत्व लिएर अगाडी बढ्न तयार रहेको बताए ।   महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले उद्योगधन्दाको विकास विस्तारमा रहेका समस्याहरूको पहिचान गरी तीनको समाधान र औषधि लगायतका उत्पादनहरूमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ महासंघले निजी क्षेत्रका तर्फबाट सरकारमा प्रस्टसँग लवींग गर्ने प्रतिवद्धता व्यक्त गरे । एपोनका अध्यक्ष प्रज्जवलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्छ र भन्ने आमधारणा रहेकोमा अहिले केही मात्रामा निर्यातसमेत गर्न सक्ने अवस्थामा पुगेको बताउँदै उचित सहयोग हुन सक्यो भने अवको केही वर्षमै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दावी गरे ।