जगदम्बा स्टील्सका उत्पादन तेस्रो देश निर्यात

काठमाडौं (अस) । स्टील उत्पादक कम्पनी जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालेको छ । नेपालमा उपभोक्ता रोजाइमा परिसकेका कम्पनीका उत्पादन विदेशमा बिक्री हुन थालेको हो । कम्पनीका अनुसार जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा आपूर्ति गरिन लागेको हो । जगदम्बा स्टील्सले केही समयअघि मात्रै सीआर सिट एन्ड कोइल्स दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यात गर्न थालेको छ । ‘उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तर हाम्रो प्रतिबद्धता हो । गुणस्तरको सुनिश्चित गर्न अत्याधुनिक प्लान्टमार्फत निर्मित उत्पादनका गुणस्तरका लागि नेपाली उपभोक्ताको सहयोग र साथका लागि कृतज्ञ छौं । नेपाली उत्पादन तेस्रो देश निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउँदा गौरवान्वित छौं’, कम्पनीले भनेको छ । यसले भविष्यमा अझ उत्कृष्ट उत्पादन उपभोक्तामाझ ल्याउन थप आत्मबल मिलेको बताइएको छ । जगदम्बा स्टील्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । कम्पनीका नेपालभर १ हजार ५ सयभन्दा बढी रिटेल आउटलेट छन् ।