शेयरबजारका भित्री कुरा

शेयरबजार जति नै प्रविधिमैत्री भए पनि यसमा अनेक घोटाला र काण्डहरू भइरहने गर्छ । भारत, बंगलादेशमात्रै होइन, अमेरिकालगायत विकसित देशमा समेत शेयरबजारमा थुप्रै काण्ड भएका उदाहरण छन् । ती देशका नियामक निकायले यस्ता काण्डको सूक्ष्म अध्ययन गरेर तिनलाई पुनरावृत्ति हुन नदिने व्यवस्था गरेका हुन्छन् । नेपालमा भने यस्तो घटना गुपचुपमै हराएर जान्छन् वा दबाइन्छ । नेपालको शेयरबजारमा अदृश्य कारोबारको गति निकै छ जसमध्ये केही घटनामात्रै सार्वजनिक हुने गरेका छन् । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ विक्रीमा यस्तै घोटालाको आशंका छ जसले गर्दा नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया नै रद्द गरिदिएको छ । यसरी आईपीओ रोकिएको पहिलो घटना हो । तर, कम्पनीहरूले आईपीओ जारी गर्दा सार्वजनिक गर्ने सूचनालाई लिएर अनेक आशंका हुने गरेको कुरा भने नयाँ होइन । कतिसम्म भने आईपीओ जारी गर्ने कम्पनीले अनुमान गरेअनुसार आम्दानी गर्न सक्यो वा सकेन भन्ने सामान्य सोधीखोजीसमेत नेपालमा हुँदैन । आईपीओ जारी गरेपछि कम्पनीले किन नाफा गरेन ? समस्या के थियो ? भन्ने जस्ता सामान्य कुरामा चासो राख्ने हो भने मात्र घाटामा गएका कम्पनीलाई नाफामा देखाई लगानीकर्ता डुबाउने खेल रोकिन सक्छ । शेयरबजारलाई परिपक्व र सुदृढ बनाउन बोर्डको आ“खा सदैव चनाखो भइरहनुपर्छ । बोर्डले नयाँ अनुमतिपत्र प्रदान गर्दा नैसम्भावित समस्याको अध्ययन गर्नुपर्छ ।कुनै पनि निर्णय गरेपछि आउने चुनौतीको सामना गर्न त्यसले सहयोग गर्छ । अहिले पैसा नै नभएको खाताबाट आईपीओ भरेर बढी माग भएको देखाउन खोजिएको छ । मूल्यमा चलखेल गर्न १० कित्ता शेयर बढी मूल्यमा आफैले किन्ने र त्यसकै हाराहारीमा आफ्नो शेयर विक्री गर्ने गरी विक्री र खरीद अर्डर राख्ने गरेको पनि पाइन्छ । मूल्यान्वेषण विधिबाट प्रिमियम मूल्य तोकेर शेयर विक्री गर्न लाग्दा यस्तो मूल्यमै चलखेल गरिएको घटना भएको पनि धेरै भएको छैन । कर्नरिङ गरेर विक्री गर्ने तथा आन्तरिक सूचना चुहाएर शेयर किनबेच गर्ने काम भइरहेको छ । यस्तो काममा संलग्न केहीलाई बोर्डले कारबाही प्रक्रियासमेत चलाएको छ । पछिल्लो समयमा धितोपत्र बोर्डले शुरू गरेको नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणको कामलाई सकारात्मक रूपमा लिन सकिन्छ । त्यस्तै घोराही सिमेन्टको फर्जी लगानीमाथि पनि अनुसन्धान थालिनु सकारात्मक हो, जसले सर्वसाधारणलाई सम्भावित नोक्सानीबाट जोगाएको छ । आईपीओ निष्कासनमा कम्पनीले सार्वजनिक गर्ने आह्वानपत्रदेखि क्रेडिट रेटिङसम्ममा नै मिलोमतो हुन सक्छ । बोर्डको काम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्नु हो र बजारलाई नियम र प्रक्रियाका आधारमा सञ्चालन गराउने वातावरण तयार पार्नु हो । बोर्डले तदारुकता देखाउनु सकारात्मक भए पनि यसमा अझै सूक्ष्म दृष्टि पुग्न आवश्यक देखिन्छ । जसरी नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकका कारोबारलाई दैनिक रूपमा नजिकबाट अनुगमन गरिरहेको छ त्यसैगरी बोर्डले पनि नेप्से र ब्रोकर सबैका कामको अनुगमन गरिरहनुपर्छ । यसमा शंका लाग्नेबित्तिकै अनुसन्धान थालिहाल्नुपर्छ र गल्ती भए कारबाही गरिहाल्नुपर्छ । बंगलादेशको शेयरबजारमा भएका ठूलाठूला काण्डमा त्यहाँको बोर्डले अनुसन्धान गरेर कैयौंलाई कारबाही गरेको छ । यस्ता काण्डहरू भइरहे शेयरबजारप्रति अविश्वास पैदा हुन सक्छ र लगानीकर्ता बजार छाड्न सक्छन् । त्यसैले शेयरबजारलाई परिपक्व र सुदृढ बनाउन बोर्डको आँखा सदैव चनाखो भइरहनुपर्छ । बोर्डले नयाँ अनुमतिपत्र प्रदान गर्दा नै सम्भावित समस्याको अध्ययन गर्नुपर्छ । कुनै पनि निर्णय गरेपछि आउने चुनौतीको सामना गर्न त्यसले सहयोग गर्छ । गलत गर्नेलाई कारबाही त गर्नुपर्छ नै साथै यस्तो गलत कार्यमा जोडिनेहरूको पहिचान गर्नु पनि अहिलेको आवश्यकता हो । यस्ता काम हुन सके मात्र नेपाली शेयरबजार परिपक्व भई लगानीकर्ता डुब्ने अवस्था आउँदैन ।