किसानको सहजताका लागि गृह र उद्योग मन्त्रालयमा पत्राचार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ को महामारीको समयमा पनि कृषि कर्म निर्बाध रूपमा सञ्चालनमा सहयोगका लागि गृह मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । किसानले उत्पादन गरेको वस्तु बिनारोकटोक बजारसम्म लैजान र ल्याउन प्रहरी प्रशासनबाट कुनै प्रकारको रोकावट नहोस् भनी आग्रह गरिएको कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बजारसम्म लैजान बेलाबेलामा प्रहरी प्रशासनबाट अवरोध हुने गरेको गुनासो आएपछि आफूहरूले त्यस्तो आग्रह गरेको उहाँले बताउनुभयो । कृषिजन्य उद्योग तथा व्यापारमा सहज व्यवस्था मिलाइदिन उद्योग मन्त्रालयलाई आग्रह गरेको उहाँले बताउनुभयो । कृषि उत्पादनका लागि किसान तथा व्यापारीलाई कुनै अप्ठयारो नहोस् भनी मन्त्रालय सचेत रहेको र त्यसका लागि प्रदेश तथा स्थानीय सरकारमाथि अनुगमन तथा निगरानी पनि बढाइएको उहाँले बताउनुभयो ।