५ महिनाभित्रै गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्दै छौं

नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले २३औं वार्षिकोत्सव शुक्रवार मनाउँदै छ । कोरोना महामारीको दोस्रो लहरपछि अहिले उड्डयन क्षेत्र विस्तारै लयमा फर्किन लागेको छ भने यसले प्राधिकरणको आम्दानीमा पनि राहत पुगेको छ । यद्यपि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिँदा लयमा फर्किन लागेको उड्डयन क्षेत्रमा प्रभाव पार्ने आकलन गर्न थालिएको छ । ओमिक्रोनको प्रभाव, ढिलो गरी आएको बजेट कार्यान्वयन, हवाई सुरक्षा र गौतमबुद्ध विमानस्थलमा क्यालिबे्रसन उडानदेखि व्यावसायिक उडान, पोखरा, निजगढ विमानस्थल निर्माणलगायत योजनाका विषयमा केन्द्रित रहेर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीसँग अभियान संवाददाता हिमा वि.कले गरेको कुराकानीको सार : चालू आर्थिक वर्षको ६ महिनापछि मात्रै प्रािधकरणको बजेट पारित भएको छ । प्राधिकरणका प्राथमिकता के के छन् ? मुख्यगरी विगत वर्षका बहुवर्षीय कार्यक्रम छन्, त्यसलाई नै प्राथमिकता दिइएको छ । यो वर्ष केही नयाँ कार्यक्रम अघि बढाउने उद्देश्यले एक/दुईओटा विमानस्थलमा काम अघि शुरू गरिनेछ । विमानस्थल विस्तार र त्यहाँको काम अघि बढाउने गरी धनगढी, डोटी, पूर्वको विराटनगर विमानस्थललाई केन्द्रित गरिएको छ । ती विमानस्थलमा कामै नभएको भने होइन । विगतमा सञ्चालन भएका हुन् । तर, धनगढी, डोटीका विमानस्थललाई अझ व्यवस्थित गर्ने र नयाँ ढंगले काम अघि बढाउने योजना छ । यसका साथै गौरवका आयोजना भैरहवास्थित गौतमबुद्ध, पोखरा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएका छौं । क्षेत्रीय विमानस्थल विराटनगर, नेपालगञ्ज, धनगढीमा पनि थप काम हुनेछन् । प्राधिकरणको करिब ४३ अर्ब ६० करोड बजेट छ । अबको बाँकी महिनामा विनियोजित बजेट खर्चिने अवस्था छ ? अहिले पनि प्राधिकरणको खर्च भइरहेको छ । गत वर्षको छैटौं भागको बजेट खर्च गरिरहेकै छौं । अहिले सुरुआती चरणमै भइरहेका कामको बिल आएकाले सोही आधारमा भुक्तानी दिने तयारीमा छाैं । प्राधिकरणबाट हुने काममा ढिलाइ भएको छैन । हाम्रा धेरै कार्यक्रम बहुवर्षीय भएकाले यो वर्ष खर्च हुन नसके पनि अर्र्काे वर्ष खर्च हुन्छ । कोरोना महामारीको त्रासकै बीच अहिले आएको नयाँ भेरियन्ट ओमिक्रोनले आउने राजस्व पनि गुम्ने हो कि भन्ने चिन्ता थपिएको छ । कोरोना महामारीको दोस्रो लहरपछि उड्डयन क्षेत्र चलायमान भएको छ । गत वर्ष १२ अर्ब गुमाएको प्राधिकरणको आम्दानीमा यसपटक सुधार हुने सम्भावना कत्तिको छ ? कोरोना महामारीले नेपालमा मात्रै नभई विश्वभरि नै प्रभाव पार्‍यो । विशेषगरी उड्डयन क्षेत्रमा निकै दबाब पर्‍यो । प्राधिकरणले १२ अर्बको आम्दानी गुमाएको अवस्था थियो । गुमाएको आम्दानीलाई तुरुन्तै फर्काउन सकिने अवस्था पनि अहिले देखिँदैन । तर, जुन हिसाबले हाम्रो हवाई चाप बढेको छ, यसले सकारात्मक लक्षण देखाएको छ । आन्तरिकतर्फ हामी शतप्रतिशत अवस्थामा पुगेका छौं र अन्तरराष्ट्रियतर्फ झन्डै–झन्डै ६० प्रतिशत हाराहारीमा छौं । केही समयपछि शतप्रतिशत व्यापार गर्ने लक्ष्य लिएका छौं । यसले विगतमा हुने व्यापारलाई पूर्ववत् अवस्थामा फर्काउन सकिने आस थियो । अहिले पुनः ओमिक्रोन नयाँ भेरियन्ट आएकाले यसमा केही धक्का पुग्ने हो कि भन्ने अवस्था छ । यद्यपि अहिलेसम्म डराइहाल्नुपर्ने अवस्था देखिएको छैन । उडानहरू पनि राम्रोसँगै भइरहेका छन् । चालू आर्थिक वर्ष ०७८/७९ मा राजस्व संकलनको लक्ष्य ९ अर्ब रुपैयाँ राखेका छौं । क्यालिब्रेसन उडानको तयारी भएको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा किन ढिलाइ भइरहेको छ ? एरो थाईसँग ५ वर्षदेखि नै गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका लागि सम्झौता भई सोहीअनुसार काम भइरहेको थियो । हाम्रो कमजोरी कहाँनेर भयो भने विद्युत् प्राधिकरणले हामीलाई दिनुपर्ने जुन डेडिकेटेड लाइन थियो, त्यसअनुसार भएन । यो विमानस्थलमा भारतबाट आएको डेडिकेटेड लाइन दिइयो । त्यसका कारण हामीले विद्युत् लाइनको सुनिश्चितता गर्न नसक्दा विलम्ब भएको हो । क्यालिब्रेसन (परीक्षण) उडान गर्दा विदेशमा ३० दिनसम्म २४ घन्टै निर्बाध बिजुली आउनुपर्छ । तर, नेपालको हकमा ७ दिन विमानस्थलमा २४ घन्टा बिजुली जान नहुने व्यवस्था छ । रनवे लाइट, इक्विपमेन्टजस्ता अन्य प्रणाली सञ्चालन गर्दा निरन्तर बिजुली आवश्यक हुन्छ । अहिले प्राधिकरणबाट नेपालकै डेडिकेटेड लाइनमार्फत विद्युत् पाएका छौं । अहिले लाइट परीक्षणमा राखिएको छ । त्यसको सुनिश्चितता भएपछि एरो थाईलाई बोलाउँछौं । प्राधिकरणले बोलाएको २ सातामै उनीहरू आउनेछन् भने अबको १ महिनाभित्र क्यालिब्रेसन उडानको डेट पाउनेछौं । क्यालिब्रेसन उडान गर्ने जिम्मा भारतलाई दिने चर्चा थियो । तर, अहिले एरो थाईलाई नै दिने भनिएको छ । किन यस्तो द्विविधा देखियो ? एरो थाईसँग ५ वर्षअघि नै सम्झौता भएको हो । एरो थाईले यसमा धेरै काम गरिसकेको थियो । त्यसबीचमा कोभिडका कारण उनीहरू आउन नसक्ने जानकारी गराए । तुरुन्तै क्यालिब्रेसन उडान गर्ने हो भने अरू कम्पनीसँग पनि गर्न सकिने एरो थाईले भनेपछि मअघिका महानिर्देशकले भारतसँग कुराकानी मात्रै गरेका हुन् । तर, कुनै सम्झौता भएको छैन । भारतले उडान गर्न नेपाललाई रेट पठाएकै बेला एरो थाईले पनि हामी पुरानै मूल्यमा क्यालिब्रेसन उडान गर्न तयार छौं भनेर पत्र पठाएको थियो । जहाज तयारी अवस्थामा छ र नयाँ रेट चाहिँदैन भनेपछि हामीले पुनः एरो थाईसँग गर्ने भएका हौं । भारतसँग गर्दा नयाँ मूल्य र रेट तय गर्नुपर्ने एवं महँगो पनि हुने भएकाले यसलाई स्थगित गरेर थाई एरोसँग गर्ने तयारी छ । उनीहरू यसबीचमा आएर अध्ययन गरेर फर्किइसकेका छन् । क्यालिब्रेसन उडान भएको ३ महिनामा हामीले अरू प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि ढिलोमा ५ महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान शुरू हुन्छ । गौतमबुद्ध तथा पोखरा विमानस्थल छिट्टै सञ्चालनमा आउँदै छन्, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित यी विमानस्थद सञ्चालनमा आउँदा नेपालको उड्डयन क्षेत्रमा देखिने संकेत कस्तो हुनेछ ? त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प हामीलाई अपरिहार्य हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कारणवश कुनै जहाज अवतरण हुन सकेन भने हामीले यहाँका जहाज भारत, बंगलादेश या चीनतिर पठाउनुपर्ने बाध्यता छ । हाम्रै देशमा विकल्प भए त्यहाँ अवतरण गराउन पाइयो । दोस्रो कुरा, काठमाडौंमा जसरी जनघनत्व बढ्दै गएको छ र यात्रु चाप बढेको छ, यस हिसाबले अबको १० वर्षभित्र काठमाडौंले थेग्न सक्दैन । त्यसैले पनि हामीलाई उपत्यकाबाहिर अन्तरराष्ट्रिय विमानस्थल निर्माण नगरी नहुने भएको हो । सोही विकल्पमा भैरहवा र पोखरा विमानस्थल बनेका छन् । यी विमानस्थल सञ्चालनमा आइसकेपछि यात्रु संख्या पनि बढ्छ र काठमाडौंमा हुने चाप कम हुनेछ । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा समग्र पर्यटनलाई पनि टेवा पुग्छ । निजगढ विमानस्थल बनाउने घोषणा र गुरुयोजना बने पनि काम हुन सकेको छैन । यो विमानस्थल बूढीगण्डकी जलविद्युत्जस्तै हुने हो कि ? निजगढ विमानस्थल निर्माण बूढीगण्डकी आयोजना जस्तो नहोला । किनभने, हामीले निजगढमा आधारभूत काम गरिसकेका छौं । विमानस्थलको स्वीकृत ८ हजार ४५ हेक्टर क्षेत्रफलको सीमांकनमा तारबार गर्ने काम, रुख कटानका लागि वनले टाँचा लगाइसकेको छ भने सुकुमबासी समस्यालाई सरकारले व्यवस्थापन गर्ने र मुआब्जा दिनेलगायत काम भइसकेका छन् । बूढीगण्डकी जस्तो नहोस् भन्न सरकारले २ वटा काम तुरुन्तै गर्नुपर्ने हुन्छ । एउटा, मोडालिटी तय गर्ने र अर्काे लगानी सुनिश्चितता । निजगढ विमानस्थल न्यूनतम ३ खर्बभन्दा कम लागतमा बन्दैन । यति ठूलो रकम प्राधिकरणले जुटाउन सक्दैन । सरकारले नै व्यवस्थापन गर्ने हो । सरकारले यी दुई विषय छिटो व्यवस्थापन गरे प्राधिकरण विमानस्थल निर्माणका लागि तयारी अवस्थामा छ । तर, निजगढको वनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । त्यसको निकास नहुँदासम्म निर्माण तथा अन्य कार्यमा हामी अघि बढ्न सक्दैनौं । वन विनाश गर्नुहुन्न भनेर निकै विवाद छ । त्यसको छिनोफानो नभई निजगढ विमास्थल निर्माण अघि बढ्न पाउँदैन । वन, मोडालिटी र लगानी सुनिश्चितता भई कुनै समस्या नभए ५ वर्षभित्र निजगढ विमानस्थल बनिसक्छ । जस्तो, भारतले उत्तर प्रदेशको नोयडामा विश्वकै चौथो ठूलो विमानस्थल बनाउने घोषणा गरिसकेको छ । नेपालले पनि काम अगाडि बढाए निजगढका लागि धेरै समय कुर्नुपर्दैन । निजगढ पनि त्रिभुवन विमानस्थलकै विकल्प हो ? हो । त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा यसलाई अघि बढाइएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प होइन । अर्को पोखरा क्षेत्रीय विमानस्थल भइहाल्यो । निजगढलाई वैकल्पिक विमानस्थलकै रूपमा अघि सारिएको हो । मुख्य कुरा निजगढ विमानस्थल बनाएर मात्रै हुँदैन, यसको बजार व्यवस्थापनमा भने ध्यान दिनैपर्छ । जस्तो, निजगढ विमानस्थल बनेपछि भारतीय सीमावर्ती सहरका नागरिकलाई यहाँ तान्न सक्नुपर्छ । दोस्रो कुरा, नेपालबाट जाने ट्रान्स हिमालय रूटको अवधारणामा पनि यसलाई कार्यान्वयन गर्न सकिन्छ । यद्यपि यो रूटमा विवाद भइरहेको छ । ट्रान्स हिमालय रूट कार्यान्वयन सफल हुँदा नेपाली आकाश हुँदै आउ/जाउ गर्ने विमानका लागि निजगढ विमानस्थल ‘ट्रान्जिट हब’ बन्नेछ । दोहा, दुबई, सिंगापुरजस्ता देशहरू ट्रान्जिट रुटकै कारण राम्रो व्यापार गर्न सफल भएका छन् । यसका लागि नेपालले मार्केटिङ गर्न जरुरी हुन्छ । हवाई सुरक्षाको विषयमा ईयूले अझै पनि कालोसूचीबाट हटाएको छैन । यसमा नेपालले नसुधारेको हो वा ईयूले शर्त थप गरेको हो ? विगतमा हामीकहाँ केही ठूला हवाई दुर्घटना भएकै हुन् । त्यसलाई आधार बनाएर ईयूले सेफ्टी (ब्ल्याक लिस्ट नभनौं) लिस्टमा राखेकै हो । तर, दुर्घटनामा के हाम्रोमा मात्रै भएका छन् । भारतमा मात्रै हरेक महिना दुईओटा विमान दुर्घटना हुन्छन् भनिन्छ । वर्षमा ७२४ वटा विमान दुर्घटना भारतमा हुने गरेको देखिन्छ । हामीकहाँ साढे ३ वर्षदेखि विमान दुर्घटना भएको छैन । दोस्रो कुरा, ईयूले जहाज सेफ्टी छैन भन्छ । तर, नेपालमा आउने जहाज ती देशबाटै आएका हुन् नि । एयरबस नेपालले बनाएको होइन, फ्रान्सबाट आएको हो । त्यहाँको जहाज ल्याउँदा नेपाल सुरक्षित हुने तर यहाँबाट ती देशमा लैजाँदा असुरक्षित कसरी हुन्छ ? यो अलिकति न्यायसंगत छैन । उनीहरूले प्राधिकरणलाई अलग–अलग गराउन भनेका छन् । यसमा हामीले काम गरिरहेकै छौं । त्यसो भए नेपालले किन यस विषयमा ईयूलाई विश्वासमा लिन सकेको छैन ? विगतमा ग्लोबल एभरेज रेटमा सुरक्षामापन जुन ६० प्रतिशत छ, त्यसमा सुरक्षाका विभिन्न ८ विधामा हामी कमजोर भएकै हो । त्यसबेला यो अवस्था ५७ प्रतिशत थियो भने अहिले हामी ६७ प्रतिशतमा छौं । सुरक्षाका विषयमा नेपाल माथि उक्लिसकेको यो बलियो प्रमाण हो । यस हिसाबले अब अप्रिलमा हुने इस्यू अडिट (यूएसओपी) मा ईयूले सेफ्टी लिस्टबाट नेपाललाई हटाउँछ होला । यसमा हामी आशावादी छौं । जागिरे जीवन यही संस्थाबाट शुरू गर्नुभयो र छोटो समयकै लागि भए पनि प्राधिकरण प्रमुख बन्नुभएको छ । कार्यकाल सकिँदै गर्दा उल्लेख्य काम के गरेजस्तो लाग्छ ? प्राधिकरणमा महानिर्देशकको रूपमा आएको २ महिना बितिसकेको छ भने आगामी पुस २५ गते कार्यकाल सकिँदै छ । देखिने गरी स्पष्ट काम गर्न नसके पनि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गराउन सफलता पाएँजस्तो लाग्छ । विगत एक/डेढ वर्षदेखि रोकिएको क्यालिब्रेसन उडानलाई कम्तीमा उडाउन सक्ने बनाइएको छ । दोस्रो, कर्मचारीवृत्तमा पनि ध्यान दिएका छौं । एयर ट्राफिक कन्ट्रोलरले १२ वर्षदेखि रेटिङ लाइसेन्स भत्ता माग गरेका थिए । यसमा पर्यटनमन्त्री र मेरो अग्रसरतामा भत्ता पाउने अवस्था बनेको छ ।

सम्बन्धित सामग्री

जजिराले पर्यटकीय गन्तव्य प्रवर्द्धनमा सघाउने

काठमाडौं (अस) । कुवेतको एयरलाइन्स कम्पनी जजिराले भैरहवालाई पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सघाउने घोषणा गरेको छ । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल (गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल)मा पहिलो अन्तरराष्ट्रिय उडान गरेको उक्त कम्पनीले पर्यटन प्रवर्द्धन सघाउने बताएको हो । जेठ २ गतेदेखि नै व्यावसायिक उडान गरेको कम्पनीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुद्धभूमिलाई गन्तव्य बनाउन सहयोग गर्ने बताएको हो । जजिरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले कम्पनीले हवाई सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्य थप्दै आएको बताए । नेपालको भैरहवामा सीधा उडान गर्दा नेपाली तथा विदेशी पर्यटकलाई पनि विदेशबाट सीधै तराई तथा पश्चिमतर्फ जान सहज हुने उनको भनाइ छ । लुम्बिनीमा प्रत्यक्ष उडान सेवा गर्दा पर्यटनमा पनि योगदान पुग्ने उनले बताए । यसैगरी नेपाली टुर अपरेटर्स तथा एजेन्टहरूसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा सघाउने बताइएको छ । जजिराले यो उडानबाट मध्यपूर्व र यूरोपमा रहेका ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिन सक्ने उल्लेख गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको उक्त एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा पनि नियमित उडान शुरू गरेको छ । कम्पनीले सो विमानस्थलबाट सोमवार, बुधवार र शुक्रवार उडान गर्ने तालिका पाइसकेको छ ।

नेपालको उडान सुरक्षामा उल्लेख्य सुधार

काठमाडौं (अस) । नेपालको उडान सुरक्षामा उल्लेख्य सुधार देखिएको छ । ५ वर्षपछि गरिएको सम्परीक्षण (अडिट) ले नेपाली आकाश उडानका लागि थप सुरक्षित भएको देखाएको हो । सन् २०१७ मा गरिएको सम्परीक्षणको तुलनामा अहिले उल्लेख्य सुधार देखिएको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अध्ययनले देखाएको हो । नेपालको उडान सुरक्षाका विभिन्न आठओटा क्षेत्रको आइकाओले अध्ययन गरेको हो । यो अध्ययनका लागि आइकाओको १० सदस्यीय टोली चैत ३० गते नेपाल आएको थियो । टोलीले वैशाख १२ गते प्रतिवेदन बुझाएको हो । प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमवारै सार्वजनिक गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइकाओको प्रतिवेदनलाई नेपाली उड्डयन क्षेत्र अझ सुरक्षित भएको बलियो प्रमाण भनेका छन् । आइकाओको सम्परीक्षण टोलीले प्रारम्भिक नतीजा सार्वजनिक गरेको र त्यसअनुसार अहिले नेपालको परिपालना दर ७० दशमलव १ प्रतिशत कायम भएको उनले बताए । नेपालको उडान सुरक्षा निगरानीको स्तर मापन गर्न आइकाओले सन् २००९ मा सम्परीक्षण गरेको थियो । त्यसयता सन् २०१३, २०१६ र २०१७ मा आइकाओले सुरक्षा सम्परीक्षण गरेको छ । यसअघिको अडिटअनुसार नेपालको आठ क्षेत्रको कुल परिपालना दर ६६ दशमलव ७६ प्रतिशत थियो । यसमा सुधार हुँदै अहिले ७० दशमलव १ प्रतिशत कायम भएको हो । आइकाओेले गर्ने सम्परीक्षणका आठओटा क्षेत्रमा लेजिस्लेशन एन्ड रेगुलेसन, अर्गनाइजेशन एन्ड सेफ्टी ओभरसाइट फङ्शन, पर्सनल लाइसेन्सिङ, एयरक्राफ्ट अपरेशन्स, एयरवर्दीनेस अफ एयरक्राफ्टस्, एक्सिडेन्ट एन्ड इन्भेस्टिगेशन, एयर नेभिगेशन सर्भिस र एरोड्रम पर्छन् । यी क्षेत्रको परिपालना दरमा सुधार भएको छ । यी क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायअनुरूप परिपालना नगरेको विषयमा तिनको कार्य र प्रगतिका सम्बन्धमा टोलीले जाँच गरेको हो । आइकाओले नेपाललाई २०१७ मा गम्भीर सुरक्षा चासोको सूचीबाट हटाएको थियो । आइकाओले २००९ मा पहिलोपटक नेपालको यस्तो सुरक्षा सम्परीक्षण गरेको थियो । यसैगरी प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यावसायिक उडान गर्ने घोषणा गरेको छ । केही दिनअघि उडान परीक्षण गरेको उक्त विमानस्थलबाट जेठ २ गतेबाट अन्तरराष्ट्रिय वायुसेवा कम्पनी जजिराले व्यावसायिक उडान शुरू गर्नेछ । उक्त व्यावसायिक उडानको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ । झन्डै ७ दशकपछि नेपालले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न लागेको छ । २०७१ देखि गौतमबुद्ध विमानस्थललाई विस्तार गर्दै अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न शुरू गरिएको थियो ।

वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं (अस) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ । उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो । उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो । परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ । निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

इलाम । इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ । निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यले परीक्षण उडान गरेको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल समेत भएको छ । काठमाडौंदेखि इलामका लागि भएकोे पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताए । विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो । यसअघि धावनमार्ग पक्की नभई तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो । अब आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान शुरू हुने बताइएको छ । प्राधिकरणका इञ्जिनीयर भट्टराईले परीक्षण उडानमा मौसमले राम्रो साथ दिएको बताए । उनका अनुसार सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की भएपछि बुधवार परीक्षण उडान गरिएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा जहाज अवतरण गर्न करिब ५५ मिनेट समय लागेको उनको भनाइ छ । निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराएको बताइएको छ । ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो । समुद्र सतहबाट १ हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ । यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारि भारतका दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ । तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ । रासस

बुवाको त्यो प्रस्ताव अनि अक्षय गोल्यानको व्यावसायिक उडान

५१ औं वर्षमा कुदिरहेको नेपालकै प्रतिष्ठित एवं स्थापित औद्योगिक घराना 'गोल्यान समूह'को नेतृत्व तेस्रो पुस्ताको काँधमा पुगेको छ । सोहनलाल गोल्यानले सन् १९७० मा कपडा उद्योग स्थापना गरी शुरू गरेको गोल्यान समूहलाई दोस्रो पुस्तामा उनका छोरा पवन गोल्यानले अगाडि बढाए । ‘बाबुको लिगेसी’लाई अझ मजवूत बनाउँदै अगाडि बढेका पवनले अहिले आएर छोरा अक्षयलाई पनि सँगसँगै डोहोर्‍याएका छन् । अक्षयले गोल्यान समूहमार्फत व्यावसायिक यात्रा अगाडि बढाएको ५ वर्ष भयो । पवनले अक्षयलाई ‘लिगेसी’ मात्...

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।             काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ । रासस

साढे ६ दशकको पर्खाइ : ठूला विमानस्थल पूर्वाधारमा फड्को

वि.सं. २००६ मा गौचरण विमानस्थलबाट हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले नागरिक उड्डयन सेवा शुरू गरेको थियो । यद्यपि यो विमानस्थलको औपचारिक उद्घाटन भने वि.सं. २०१२ मा भएको थियो । यो तथ्य हेर्दा ठूला अन्तरराष्ट्रियस्तरका विमानस्थल पूर्वाधार विकास गर्न नेपालले साढे ६ दशक कुरेको देखिन्छ । उडान सेवा शुरू गरेको हिसाबले भने ७ दशक नै पुगेको छ । नेपालमा उड्डयन सेवा शुरू भएको यो अवधिका बीच अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अवस्थामा छ । यद्यपि यसमा पनि विभिन्न प्रक्रियागत विषय नटुंगिदा क्यालिब्रेशन उडानका साथै व्यावसायिक उडान कहिले शुरू हुने भन्ने निश्चित हुन भने सकेको छैन । मुलुकमा उड्डयन सेवा शुरू भएको दशकौंपछि भए पनि हाल अन्तरराष्ट्रियस्तरका थप दुईओटा विमानस्थल निर्माण भएर सञ्चालनको तयारीमा पुग्नुलाई उपलब्धिकै रूपमा लिन सकिन्छ । नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको विमानस्थल त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पमा अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल झन्डै सञ्चालनको चरणमा छ भने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ८९ प्रतिशत प्रतिशत काम सम्पन्न भएको छ । यसैगरी निजगढ विमानस्थल निर्माणको योजना पनि अघि सारिएको छ । निजगढ विमानस्थल निर्माण र सञ्चालनमा सरकारले तीव्र चासो दिएर बजेट, निर्माणको मोडालिटी तय गरेमा अबको ५ वर्षभित्रै यो विमानस्थल पनि सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको आकलन छ । आन्तरिक तथा बाह्य यात्रु÷पर्यटक बढ्दो अवस्थामा रहेका बेला सरोकारवालाले हवाई पूर्वाधार नै अपुग भएको बताउँदै आएका छन् । सरकारले नै कोरोना भाइरस (कोभिड–१९) पूर्व नै नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो भने अर्काेतर्फ आन्तरिकतर्फ पनि यात्रु बढिरहेका छन् । यात्रु र गन्तव्य बढ्दै जाँदा खासगरी अन्तरराष्ट्रिय उडानतर्फ पूर्वाधार विस्तार नहुँदा उडानमा चाप पर्ने गर्छ । तर, २०५१ सालदेखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन गरिएका अध्ययन र यो आवश्यकता सम्बोधनका लागि तदारुकता नदेखिँदा अर्काे अन्तरराष्ट्रिय विमानस्थल बन्न लामो  समय लागेको छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल हुँदा हवाई तथा यात्रुको चाप बढेपछि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन उपयुक्त स्थान पहिचानको गरिएको थियो । काठमाडौं मात्र नभई अन्य स्थानमा पनि स्तरीय विमानस्थल बनाउन अध्ययन शुरू भएको थियो । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनको अवस्थामा पुग्नै २७ वर्ष लागेको छ । त्यतिबेला दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन निजगढसहित विभिन्न ११ ओटा स्थान छनोट गरिएको थियो भने निजगढ नै उपयुक्त विमानस्थल बन्न सक्ने ठहर गर्दै यसमा काम अघि बढाइएको छ । हाल गुरुयोजना बनिसकेको र अधिग्रहण गरिएको जग्गामा तारबारको काम सकिएको निजगढ विमानस्थललाई नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि सारिएको छ । यद्यपि यो विमानस्थलभन्दा लगानी र निर्माणका हिसाबले तत्कालका लागि गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल उपयुक्त देखिएपछि अहिले यी दुवै विमानस्थललाई निर्माण तथा सञ्चालनको अन्तिम चरणमा पु¥याइएको छ । निजगढ विमानस्थल निर्माण गर्न शुरूदेखि नै अर्थात् जग्गा अधिग्रहणदेखि अन्य सबै काम ‘फ्रेस’ नै हुने भएकाले सरकारले सञ्चालनमै रहेका भैरहवा र जग्गा अधिग्रहण भइसकेको पोखरा विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन शुरू गरेको हो । पोखरा र भैरहवा विमानस्थलमा केही लगानी थप्दा मात्रै पनि अन्तरराष्ट्रिय स्तरको बनाउन सकिने आधार थियो । पोखरा विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउन २०३१ सालमै जग्गा अधिग्रहण गरिएको थियो । पोखरा पर्यटकीय दृष्टिले पनि उपयुक्त मानिएको हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान गर्न यो विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको थियो । निजगढमा ठूलो लगानी (७ खर्ब प्रक्षेपण), जंगल क्षेत्र, बस्ती समेत भएकाले त्यहाँ छिटो निर्माण सम्पन्न गर्न असम्भव थियो । नेपाल–भारत सीमा क्षेत्र नजिक, हवाई इन्धनको ढुवानी सहज, तराई भूमिमा विमान अवतरण गर्न अनुकूल र देशको मध्य भागमा रहने हुँदा देशका सबै यात्रुलाई सुविधा हुने हिसाबले निजगढ विमानस्थल निर्माण गर्न सिफारिश गरिएको थियो । साथै ठूलो क्षेत्रफलमा बन्ने भएकाले ट्रान्जिट र कार्गाे हबको रूपमा बहुउद्देश्यीय रूपले प्रयोग गर्न सकिने भएकाले सिफारिश गरिएको थियो । काठमाडौंमा मात्र केन्द्रित हुँदै आएको हवाई उडान ‘डाइभर्ट’ गर्न पनि यी विमानस्थलहरू सञ्चालनमा ल्याउन जरुरी छ । कोरोना भाइरस संक्रमणका कारण अन्य पूर्वाधार आयोजनाका साथै विमानस्थल पूर्वाधार विकास तथा निर्माणमा पनि ढिलाइ भएको छ, जसकारण पोखरा विमानस्थलको म्याद नै १ वर्ष थपिएको छ भने सञ्चालन लागि तयार भएको गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडानका लागि मिति सारिँदै आएको छ । पछिल्लो समय कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट देखापर्दा यी आयोजनामा थप विलम्ब हुने हो कि भन्ने आंशका पनि उत्पन्न भएको छ । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान छिटो गर्नुपर्नेछ । साथै व्यावसायिक उडान गर्दा विमानस्थल सञ्चालन तथा व्यवस्थापनको मोडालिटी पनि तयार गर्नुपर्छ । खाँचो सञ्चालन मोडालिटीको निर्माण सम्पन्न हुँदै गर्दा यी दुई विमानस्थल कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले छिटो मोडालिटी तय गर्नुपर्नेछ । ९८ दशमलव ७६ प्रतिशत काम सम्पन्न भइसकेको गौतमबुद्धमा छिट्टै नै क्यालिब्रेसन उडान हुँदै छ । यसको ५ महिनाभित्रै व्यावसायिक उडान गर्न गौतमबुद्ध विमानस्थल तयार हुने प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए । तर, यो विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने, प्राधिकरणले सञ्चालन गर्ने कि निजीक्षेत्र र अन्तरराष्ट्रिय कम्पनीको साझेदारीमा सञ्चालन गर्ने भन्ने विषय स्पष्ट हुन सकेको छैन । यस्तै यो व्यवस्था हाल ८९ प्रतिशत काम सम्पन्न भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि लागू हुन्छ । सञ्चालनको मुखमा रहेका यी दुई विमानस्थल सरकार तथा प्राधिकरणले सञ्चालन गर्न नहुने प्राधिकरणका अधिकारी बताउँछन् । विमानस्थल सञ्चालन र त्यसबाट हुने राजस्व संकलन नै प्राधिकरणको आम्दानीको स्रोत हो भने अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्राधिकरणको प्रमुख आम्दानीको स्रोत हो । सञ्चालनको मुखमा रहेका यी विमानस्थल भने सरकार तथा प्राधिकरणले सञ्चालन गर्न नहुने तर्क प्राधिकरणका अधिकारीले अघि सारेका छन् । सरकार तथा प्राधिकरणले नै सञ्चालन गर्ने भन्दा पनि प्राधिकरणले प्राविधिक रूपमा सघाउने तर सञ्चालन तथा व्यवस्थापन भने निजीक्षेत्र वा अन्तरराष्ट्रिय कम्पनीले गर्नुपर्छ । यसका लागि सार्वजनिक–निजी–साझेदारी (पीपीपी)मा जानुपर्ने ती अधिकारीले बताएका छन् । यसले गर्दा व्यावसायिक रूपमा पनि क्रियाकलाप बढाउन सकिने हुँदा आम्दानी बढ्छ । अब सञ्चालन हुने अन्तरराष्ट्रिय विमानस्थल निजीक्षेत्रसँग समन्वय गरेर अन्तरराष्ट्रिय मापदण्डमा चलाउनुपर्छ । सबै खर्च प्राधिकरण तथा सरकारले गर्न सक्दैन । प्राविधिक सहयोग प्राधिकरणले गरे पनि व्यवस्थापन तथा सञ्चालन निजी क्षेत्रबाट आउनुपर्नेमा सम्बद्ध अधिकारीले जोड दिएका छन् । यसले विमानस्थलको सेवा, सुविधा र गुणस्तर राम्रो हुने भएकाले सरकारले छिट्टै विमानस्थल सञ्चालन मोडालिटी तय गर्नुपर्छ । त्रिभुवन विमानस्थलमा बढ्दो ‘मुभमेन्ट’ नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विमान उडान अवतरणका साथै यात्रु संख्या पनि बढ्ने देखिएको छ । कोरोना भाइरस शुरू हुँदाको वर्ष सन् २०२० को तुलनामा २०२१ मा यात्रु संख्यामा उल्लेख्य सुधार देखिएको छ । सो विमानमा २०२१ नोभेम्बरसम्ममा ९ हजार ९७२ उडान हुँदा १२ लाख ३६ हजार ४८६ यात्रुले सेवा लिएका छन् । सन् २०२० मा उडान र अवतरण गरी कुल ९ हजार ५३९ उडान हुँदा कुल १० लाख ३९ हजार २६१ यात्रुले हवाई यात्रा गरेका थिए । यसैगरी आन्तरिकतर्फ २०२१ को नोभेम्बरसम्म उडान र अवतरण ७२ हजार ८२ पटक हुँदा कुल ३१ लख १६ हजार ५७८ यात्रुले सेवा लिएका छन् भने सन् २०२० मा यस्तो उडान अवतरण जम्मा ३२ हजार ८५१ पटक भएको थियो । यस क्रममा कुल जम्मा ११ लाख ४३ हजार ५५२ यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए ।

पोखरामा प्याराग्लाइडिङ उडान पुनः सञ्चालन गरिँदै

पोखरा । कोभिड–१९ का कारण पोखरामा पछिल्लो समय ५ महीनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौं, अब यसै हप्ता उडान शुरू हुनेछ,’ उनले भने । सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नले बताए । संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी उनले दिए । ‘लामो समय उडान नहुँदा उपकरण बिग्रिन सक्ने भएकाले ग्लाइडर, रेस्क्यु, जाँच गरेर टेष्ट फ्लाइट गरी उडान सञ्चालन गर्नेछौं,’ उनले भने । संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए । साहसिक खेलका रूपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान शुरू भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी छन् भने ३५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने १५ जना छन् । यस क्षेत्रमा झण्डै १ अर्ब रुपैयाँ लगानी छ भने १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छूट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए । छूटसँगै प्याराग्लाइडिङ गर्न पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको थियो । कोभिडअघि ५ हजारदेखि ८ हजारसम्म शुल्क लिइँदै आएकोमा पछिल्लो समय २५ सयदेखि ३ हजार रुपैयाँ शुल्कमा उडान हुँदै आएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुंगो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए । रासस