लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले ट्राफिक व्यवस्थापन अभियान सुरु गरेको छ । दुई पाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात गरेको हो । नेपालमा हुने दुर्घटनामध्ये दुई पाङ्ग्रेको सङख्या अत्यधिक छ, दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न बेसीशहरमा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका […]
पर्वत (अस) । पर्वतको कुश्मा नगरपालिकामा ‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले विशेषगरी ज्येष्ठ नागरिकमा रहेको नसर्ने रोग पहिचान र निदानका लागि अभियान सुरु गरेको हो ।
‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियानअन्तर्गत १४ वटै वडामा पुगेर रक्त परीक्षण गर्ने कार्यक्रम सुरु भएको छ । स्वास्थ्य शाखाले कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट कार्यक्रम सुरु गरी अभियान थालेको नगरपालिकाका स्वास्थ्य सह–संयोजक यामप्रसाद शर्माले बताए । कटुवाचौपारीमा आयोजित शिविरमा ३ सय जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोगजस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको स्वास्थ्य सह–संयोजक शर्माले जानकारी दिए ।
ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए । रोगले थलिएपछि उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोग पहिचान र निदान हुने हुँदा नगरपालिकाले अभियान चलाएको गुरुङको भनाइ छ । नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘कुश्मा बजारदेखि दूरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गरिनेछ’, जोशीले भने ।
उपप्रमुख सीता काफ्ले लामिछानेले विशेषगरी जेष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले उनीहरूको जीवनरक्षाका लागि विशेष ख्याल गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताइन् । नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको उपप्रमुख लामिछानेले जानकारी दिइन् । कुश्मा नगरपालिकाले सबै स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी व्यवस्थापन गर्न प्रदेश सरकारसमक्ष माग गरेको उनको भनाइ छ ।