निर्मलाको जस्तै भागरथीका बलात्कारी हत्यारा उम्किन नदिन ठुलो दबाब आवश्यक’

दिनेश रैदास, दाङ । बैतडीकी किशोरी भागरथी भट्टको बलत्कारी र हत्यारालाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङले घोराहीको तुलसीपुर चोकमा विरोधसभा सम्पन्न गरेको छ । विरोधसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्टले निर्मला पन्त र भागरथी भट्टको बलात्कारीलाई छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘जसरी निर्मला पन्तको हत्यारालाई अहिलेसम्म अगाडि ल्याउन सकेको छैन, हत्यारालाई पक्राउ गर्न सकेको छैन। कतै त्यही भागरथी भट्टको पनि हुने होकी त्यसैले हजारौं हजार विद्यार्थी तथा जनता न्यायको लागि सडकमा आउन खाँचो छ ।’ कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र अखिल (छैठौं) दाङ जिल्ला उपाध्यक्ष सरिता पुनले पनि सम्बोधन गर्नुभएको थियो। प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलात्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाको सुरक्षा गर, सरकारी उदासिनता मुर्दावाद, अखिल (छैठौं) जिन्दाबादजस्ता नारासहित क्याम्पस रोड देखि बीपी चोक, सहिद मार्ग, बालमन्दिर चोक हुँदै तुलसीपुर चोकसम्म जुलुस निकालिएको थियो । कार्यक्रमको सञ्चालन ध्रुव बेल्बासेले गर्नु भएको थियो।