बिग्रँदो अर्थतन्त्रप्रति बल्ल सरकारको चासो

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्रका सूचकहरू नकारात्मक दिशातर्फ उन्मुख हुँदै गएपछि त्यसलाई सुधार्न सरकारले चासो दिएको छ । अर्थतन्त्रमा परेका असरहरूको अध्ययन गर्न अर्थमन्त्री जनार्दन शर्माले संविधानसभाका पूर्वसदस्य तथा अर्थ राजनीति विश्लेषक हरि रोकाको नेतृत्वमा पाँचसदस्यीय विज्ञ समूह गठन गरेका छन् । मुलुकको समग्र अर्थतन्त्रमा देखिएका विद्यमान समस्याका साथै विश्व अर्थतन्त्रको कारण नेपालमा पर्ने असर लगायत विषयमा अध्ययन अनुसन्धान गरी सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्न मन्त्री शर्माले विज्ञ समूह गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाका अनुसार विज्ञ समूहमा सोम घिमिरे, जगत श्रेष्ठ, रघुवीर विष्ट र सुगमजंग केसी छन् । यो समूहले आर्थिक विकास र समृद्धि हासिल गर्न नीतिगत पक्षपोषण गर्ने, आर्थिक नीति विश्लेषण गर्ने र समग्र विश्व अर्थतन्त्रको समेत अध्ययन गरेर नेपालले लिनुपर्ने आर्थिक नीतिको बारेमा सुझाव दिने निरौलाले बताए । पछिल्लो समय अर्थतन्त्रका सूचकहरू बिग्रँदै गएको सरकारी तथ्यांकले नै देखाएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा देशको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ । बढ्दो शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिए पनि आयातमा कमी आएको देखिँदैन । चालू आर्थिक वर्षको ८ महीनामा रू. १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात हुँदा निर्यात भने रू. १ खर्ब ४७ अर्ब ७४ करोड बराबरको मात्र भएको छ । पछिल्लो समय मुलुकको बिग्रँदो अर्थतन्त्रप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राख्नुभएको छ । प्रधानमन्त्री देउवाले आर्थिक अवस्था सन्तुलनमा राख्न व्यापार घाटा घटाउने गरी काम गर्न मंगलवार सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले व्यापार घाटा कम गर्नेगरी काम गर्न भन्नुभएको हो । वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय र राष्ट्रिय याजना आयोगका अधिकारीहरू संलग्न बैठकमा उहाँले भनुभयो, ‘हाम्रो व्यापारघाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरू व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस् ।’ प्रधानमन्त्री देउवाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सम्भावना भएका क्षेत्रमा लगानी बढाउन पनि आग्रह गर्नुभएको छ । व्यापार घाटा कम गर्न विद्युत् खपत बढाउनुपर्ने भन्दै उहाँले विद्युतीय सवारीसाधन, विद्युतीय चूलो लगायतको प्रयोग बढाउन पनि निर्देशन दिनुभएको छ । ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,’ उहाँले भन्नुभयो, ‘अब हामीले पेट्रोलियम पदार्थ खरीदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधनको प्रयोग र विद्युत्को खपत बढाउनुपर्छ ।’

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारमा विश्वास पहिलो शर्त

नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष अर्थतन्त्रसँग सरोकार राख्ने विविध क्षेत्रका संघसंस्थाले भेटेर आआफ्नो समस्या र सुझाव दिइरहेका छन् । अर्थमन्त्री महतले पनि सबै पक्षसँग छलफल गरिरहेका छन् र समस्याको निकास निकाल्ने बताइरहेका छन् । यसरी अन्तरक्रिया र छलफल गर्नु सकारात्मक हो । तर, अर्थमन्त्रीले आश्वासन दिने र आफ्नो धारणा सार्वजनिक गर्ने गरेका छन् जुन उपयुक्त देखिँदैन । अर्थतन्त्र सुधारका लागि सार्वजनिक धारणाभन्दा पनि काम महत्त्वपूर्ण हो, यति बेला । यद्यपि नेपालमा सबैजसो सरकारका मन्त्रीहरूले काम कम र कुरा बढी गर्ने गरेको जगजाहेर नै छ । अर्थतन्त्रको विद्यमान संकटमा अर्थमन्त्रीले कुराबाट नभई आफ्ना कामबाट जवाफ दिनु बढी उपयुक्त हुन्छ । सरकारको पहिलो काम अर्थतन्त्रप्रति विश्वास जगाउनु हो । यतिबेला सर्वसाधारणको विश्वास कायम हुन नसकेका कारण नै अनेक समस्या देखिएका छन् । त्यसैले नयाँ अर्थमन्त्रीको जोड जनताको विश्वास कसरी कायम गर्ने भन्नेतिर हुनुपर्छ । सरकारको पहिलो काम अर्थतन्त्रप्रति विश्वास जगाउनु हो । यतिबेला सर्वसाधारणको विश्वास कायम हुन नसकेका कारण नै अनेक समस्या देखिएका छन् । त्यसैले नयाँ अर्थमन्त्रीको जोड जनताको विश्वास कसरी कायम गर्ने भन्नेतिर हुनुपर्छ । यसका लागि तुरुन्त ठोस नीति र कार्यक्रम जरुरी हुन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयबाट सुराकीका नाममा हुने खर्च रोकेका छन् । सुराकीको नाममा हुने रकम कटौतीले थोरै भए पनि सर्वसाधारणको सरकारप्रति विश्वास बढाउन मद्दत गरेको छ । सरकारले यस्ता थुप्रै काम गर्‍यो भने बल्ल जनताको विश्वास बढ्दै जाने हो । फेरि पनि यसका लागि सरकारको काम र मन्त्रीहरू नै उदाहरण  बन्नुपर्छ । अर्ती उपदेश, निर्देशन नयाँ कुरा होइनन् । राज्य कोषबाट अनावश्यक रूपमा हुने खर्च कटौती गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सक्नुपर्छ । आर्थिक सहायताको नाममा कार्यकर्तालाई रकम वितरण बन्द गरिनुपर्छ । सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीको अनावश्यक स्वदेशी/विदेशी भ्रमण रोकिनुपर्छ । सबभन्दा महत्त्वपूर्ण कुरा उत्पादन दिन नसक्ने आयोग, विकास समितिलगायत निकाय खारेज गर्नुपर्छ । यस्ता काम गर्न सक्यो भने मात्र संकटको डिलमा पुग्न थालेको अर्थतन्त्रमा सुधार देखिन्छ । कुनै एउटा क्षेत्रको सुधार गर्न खास निर्णय गर्दैमा त्यसबाट निस्कने परिणामले समग्र अर्थतन्त्रमा सुधार हुँदैन । अहिलेको समस्या कुनै एउटा क्षेत्रको सुधार मात्र होइन । नवनियुक्त अर्थमन्त्रीले शेयरबजार सुधारमा चासो दिएका छन् । हो, केही नीतिगत सुधारले बजारलाई गति दिन्छ । अर्थतन्त्रका धेरै सूचकमा सुधार आएपछि यस क्षेत्रमा पनि सुधार आउँछ । शेयरबजार सुधारका लागि लगानीकर्ताले दिएका सुझाव, माग राम्रा छन्, जसले बजार वृद्धिमा सघाउँछ । त्यो कुरा सुन्नु पनि उपयुक्त नै हो । तर, शेयरबजारलाई मात्र सुधारेर अर्थतन्त्र बलियो हुने होइन । समग्र अर्थतन्त्र सुधारका लागि योजना देखा परिनसकेका कारण नयाँ अर्थतन्त्री आउँदा समेत शेयरबजारमा हरियाली छाउन सकेको छैन । यसको अर्थ सर्वसाधारण अर्थतन्त्रप्रति आशावादी छैनन् भन्ने हो । अर्थतन्त्रप्रति आशा बढ्नेबित्तकै शेयरबजारमा सुधार देखिहाल्छ । विगतमा कम्तीमा नयाँ अर्थमन्त्री नियुक्ति हुँदाको केही दिनसम्म शेयरबजारमा हरियाली छाउने गर्थ्यो । सरकारका लागि अहिलेको अर्को चुनौती आम्दानी र खर्चको सन्तुलन कायम राख्नु हो । राजस्व उठ्न नसकेको बेला सरकारले अनुदान वृद्धिलाई जोड दिन सक्छ । तर, चैत २१ सम्म वैदेशिक सहयोग पनि लक्ष्यको २३ प्रतिशतमात्रै हुनुले यसमा काम भइरहेको छैन भन्ने देखिन्छ । यस्तो सहयोगको रकम पनि केही प्रावधान पूरा गरेपछि मात्रै खातामा आउने भएकाले सरकारले काम गर्नैपर्ने हुन्छ । यीबाहेक विकास निर्माणका कामलाई तीव्रता दिई भुक्तानी दिने र पूँजीगत खर्च बढाउने नियमित काम त छँदै छन् । त्यसैले नवनियुक्त अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्ने हो भने यस्ता सूक्ष्म कुराको विश्लेषण गरी समस्याको जरामा नै समाधानको मल हाल्ने काम गर्नुपर्छ । तर, कुनै क्षेत्रको मात्रै कुरा गर्ने हो भने हाँगामा मल हाले जस्तै हुन सक्छ भन्नेमा ध्यान जानु जरुरी छ । संकटोन्मुख अर्थतन्त्रलाई कसरी सही ट्र्याकमा आउँछ भन्ने कुराले नै नयाँ अर्थमन्त्रीको विज्ञता देखिने हो ।