पैदलमार्गमा विद्युत् प्राधिकरणको ‘पासो’

बिजुलीका तार भूमिगत गर्ने नाममा कालोपत्रे सडक भत्काउनुका साथै फुटपाथ नै छेक्ने गरी विद्युत् सामग्री बक्स राखिएका छन् धराप १ चाबहिल महाँकालमा विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको करिब दुई...

सम्बन्धित सामग्री

शेयरबजारमा दोहोरो नियमन

जलविद्युत् कम्पनीहरूले जारी गर्ने हकप्रदका शेयरबजारमा चलखेल हुने गरेपछि त्यसलाई रोक्न विद्युत् नियमन आयोगले विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ सार्वजनिक गरेको छ । यसले हकप्रदको हल्लाका आधारमा शेयरबजारमा हुने चलखेल त रोक्ला तर आयोग आफै अघि सरेर शेयरबजारको नियमनका लागि निर्देशिका जारी गर्दा क्षेत्राधिकारभन्दा बाहिर गएको भन्दै यसको विरोध भएको छ । जलविद्युत् कम्पनीहरूले वर्षौंदेखि साधारणसभा सम्पन्न नगरेका पनि छन् । वित्तीय विवरणमा एकरूपता छैन । यिनको नियमन गर्न आवश्यक छ । आयोगले शेयर निष्कासनसम्बन्धी निर्देशिका जारी गरेका कारण त्यसको असर शेयरबजारमा परेर सोमवारको बजार घटेको विश्लेषण गरिएको पाइन्छ । खासगरी शेयर कारोबारीहरूको चासो बढी हकप्रद शेयरमा रहेको पाइन्छ र यसमा आयोगले कडाइ गरेपछि त्यसको असर बजारमा परेको भन्ने केही विश्लेषकको भनाइ पाइन्छ । यद्यपि हकप्रदको पासो थापेर बजारमा चलखेल भइरहेकाले यसले त्यस्तो चलखेल रोक्ने विश्वास ऊर्जा उद्यमीहरूको रहेको पाइन्छ । यति हुँदाहुँदै पनि नियमन आयोगले शेयरसम्बन्धी निर्देशिका जारी गरेर शेयरबजारको नियामक निकायको क्षेत्राधिकारमा प्रवेश गरेको छ भन्ने धेरेको भनाइ छ । बैंकिङ क्षेत्रको नियमन नेपाल राष्ट्र बैंक र बीमाक्षेत्रको नियमन बीमा समितिले गर्ने गरेका छन् । तिनको नियमनले पनि शेयरबजारको नियमन गरेको र मूल्यमा चलखेल भएको भन्ने आरोप लागेकै हो । यिनका निर्देशनले शेयरबजार प्रभावित बन्ने गरेको पाइन्छ । अहिले यसरी निर्देशिका बनाउँदा नियमन आयोगले पनि शेयरबजारका नियमकको काम गर्न खोजेको आरोप लगाइएको छ । त्यसैले यसको भूमिकामा प्रश्न उठाइएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम १७ ले सञ्चालक समितिले हकप्रद जारी गर्ने निर्णय गरेको २ महिनाभित्रमा साधारणसभाबाट पारित गर्नेपर्ने उल्लेख भएबाट साधारणसभा नै यसको प्रमुख निर्णयकर्ता भएको बुझिन्छ । त्यस्तोमा नियमन आयोगले विभिन्न शर्त राखेर शेयर निष्कासन निर्देशिका जारी गर्दा शेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमन क्षेत्रमाथि असर पर्छ । नियमन आयोग विद्युत् उत्पादन, प्रसारण, वितरण, मूल्य निर्धारणजस्ता आफ्ना मुख्य नियमनका क्षेत्र छाडेर शेयरबजारमा खेलाडी बन्न आएको आरोप अहिले लगाइएको छ । त्यसमा पनि कुनै संस्थागत लगानीकर्ताले जलविद्युत् कम्पनीको शेयर विक्री गर्दा सर्वसाधारणको जानकारीका लागि सूचना जारी गर्नुपर्ने तथा आयोगलाई जानकारी दिनुपर्ने व्यवस्थाका कारण सोमवार शेयरबजार घटेको विश्लेषण छ । सोमवार नै आयोगले यसमाथि उठेको विवादको स्पष्टीकरण दिएर आफ्नो नियमनको क्षेत्राधिकारभित्र पर्ने संगठित संस्थाका लागि मात्रै यो नियम भएकाले बजार प्रभावित हुनुपर्ने कारण नभएको स्पष्ट पारेको छ । अहिलेमात्र होइन, यसभन्दा अगाडि पनि यस्तै क्षेत्राधिकार बाहिर गएर काम गरेको आरोप आयोगमाथि लगाइएको छ । धितोपत्रसँग सम्बद्ध सबै कुरा बोर्डको क्षेत्राधिकार हो । यसमा नियमन आयोग, राष्ट्र बैंक वा बीमा समितिले हस्तक्षेप गर्नु हु“दैन । यसो भएमा प्रणालीमै समस्या आउ“छ । त्यसैले नियमन निकायहरूले अरूको क्षेत्राधिकारमा पर्ने कुरा गरिदिनु उचित हुन्छ र यसमा ती निकायको प्रशंसा पनि हुन्छ । नियमन आयोगले जलविद्युत् कम्पनीहरूका लागि वित्तीय विवरणको ढाँचा बनाउनुपर्ने हो । त्यो बनाएको छैन । त्यस्तै उत्पादन, प्रसारण लाइन, वितरण, विद्युत् महसुलजस्ता व्यावसायिक विषयमा आयोगको नियमन बढी केन्द्रित हुनुपर्छ । यी काममा आयोगले अपेक्षित मात्रामा काम गर्न नसकेको अवस्था छ । यस्तोमा शेयरबजारमा प्रभावित हुनेगरी निर्देशिका जारी नगरेको भए राम्रो हुन्थ्यो । जलविद्युत् कम्पनीहरूले वर्षौंदेखि साधारणसभा सम्पन्न नगरेका पनि छन् । वार्षिक विवरणमा एकरूपता छैन । सर्वसाधारण लगानीकर्ताको लगानी फस्ने र प्रवद्र्धकहरूले विभिन्न चलखेल गर्नेजस्ता विकृति यी कम्पनीहरूमा छ । त्यसको नियमन गर्न आवश्यक पनि छ । कम्पनी सञ्चालकहरूले अनियमितता नगरून् भनेर विभिन्न निर्देशनहरू जारी गरिएको छ । आयोगले पनि त्यस्तो भूमिकामा आफूलाई उभ्याउनु आवश्यक छ ।