उत्पादन कटौती गर्दै तेल उद्योग

कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।

सम्बन्धित सामग्री

माग नभएपछि खुम्चियो खाद्यवस्तुको विक्री

विराटनगर । कोभिड संक्रमण र निषेधाज्ञाको प्रभावले माग घटेपछि मोरङमा सञ्चालित उद्योगको खाद्य उत्पादनको विक्री ७५ प्रतिशतसम्म खुम्चिएको छ । जिल्लाका केही चाउचाउ र बिस्कुट उद्योगले बजारबाट माग नआएपछि आफ्नो उत्पादन बन्द गरेका छन् । गतवर्षको लकडाउन अवधिमा भने विभिन्न संघसंस्थाले राहतको रूपमा वितरण गर्दा दाल, चामल, तेल लगायत खाद्यवस्तुको विक्री बढेको थियो । बजार र यातायात समेत बन्द भएकाले उत्पादित वस्तु उपभोक्तासम्म पुग्न नसकेको र कोभिड संक्रमणको जोखिमका कारण उपभोक्ताहरू किनमेलका लागि पसलसम्म नआएकाले दैनिक उपभोग्य वस्तुको विक्री घटेको व्यवसायीको भनाइ छ । चन्द्रशिव राइस मिलका प्रबन्धक नरेश राठी अघिल्लो लकडाउनमा सामान्य अवस्थामा झैं उद्योग सञ्चालनमा रहेको, दैनिक ४० टन धानबाट चामल र २५ टन तोरी पेलेर तेल उत्पादन गर्दै आएकोमा यस वर्षको लकडाउनमा १० टन धानबाट चामल बनाइरहेको बताउँछन् । ‘मूल्य बढे पनि खाने तेलको माग ठीकै छ, तर चामलको माग ७५ प्रतिशत घटेको छ,’ उनले भने । गएको चार महिनामा प्रतिटन ५५० डलरबाट ८५० पुगेपछि तोरी तेलको खुद्रा मूल्य एक लिटरको २ सय ८० पुगेको छ । यद्यपि अन्तरराष्ट्रिय बजारको तुलनामा नेपालमा अहिले तोरीको तेलको मूल्य सस्तो रहेको दाबी राठीको छ । भारत र अष्ट्रेलियाबाट तोरी मगाएर यहाँका उद्योगले तेल उत्पादन गर्दै आएका छन् । अहिले भारतबाट आउने तोरी अष्ट्रेलियाबाट आउने भन्दा महँगो भएकाले उद्यागीहरूले अष्टे«ेलियाबाट आयात गर्न थालेका छन्, जुन भारतभन्दा लिटरमा २० रुपैयाँ सस्तो उत्पादन भइरहेको छ । गुडलाइफ ब्रान्डका बिस्कुट उत्पादन गर्दै आएको एसियन बिस्कुट इन्डस्ट्रिजले शुक्रवारदेखि उद्योग बन्द गरेको छ । गोदाममा बिस्कुट थन्किएको र डिलरबाट पनि उपभोक्तासम्म नपुगेपछि उद्योग बन्द गर्नुपरेको उद्योगका सञ्चालक महेश जाजूले बताए । उनको उद्योगले दैनिक ४० टन बिस्कुट उत्पादन गर्दै आएको थियो । अघिल्लो वर्षको लकडाउनमा माग अनुसार आपूर्ति गर्न उद्योगहरूलाई धौ धौ परेको थियो । तर यो पटक कडाखाले लकडाउन भएकाले उपभोक्ताले किन्ने ठाउँ नै नपाएकाले उद्योगको उत्पादन क्रमशः घटाउदै लगेर अन्तमा बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । उनका अनुसार चाउचाउको पनि उत्पादन ५० प्रतिशतमा झरिसकेको छ । त्यस्तै जुस, साबुन लगायत उद्योग पनि एक साताभन्दा बढी उत्पादन दिन सक्ने अवस्थामा नरहेको उनले बताए । उनका अनुसार बिस्कुट र चाउचाउ उद्योगमा एक हजार श्रमिक काम गर्छन् । उद्योग बन्द भएपछि उनीहरूको समेत रोजगारी गुमेको छ । गतवर्षको लकडाउनका बेला दाल, चामल, बिस्कुट, चाउचाउ लगायत मालवस्तुको प्याकिङ बनाएर विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाले देशभरि नै राहत सामग्री वितरण गरेकाले उद्योग सञ्चालन सहज भएको थियो । तर यसपटक राहतका कार्यक्रम कसैले ल्याएका छैनन्, जसकारण खाद्यान्न खपत घटेको छ । झापाको मेचीनगरमा सञ्चालित मगमग चाउचाउको उत्पादक कम्पनी मनसा थाई फुड्स पनि बन्द भएको छ । दैनिक ३० टन चाउचाउ उत्पादन गर्दै आएको उद्योग माग आउन छाडेपछि बन्द गर्नुपरेको सञ्चालक बुद्धिप्रकाश घिमिरेले बताए । बुधवार साँझमा सूचना प्रकाशित गरेर अर्को सूचना जारी नगरिएसम्म बिहीवारदेखि उद्योगको उत्पादन बन्द गरिएको उनको भनाइ छ । उक्त उद्योगमा २ सय कामदार कार्यरत थिए । युवा उद्योगी विपीन कावराले पछिल्लो समय कोभिड संक्रमित तथा मृत्युदर पहिलेको भन्दा बढी रहेको र उद्योगी व्यवसायीका कोही न कोही आफन्त गुमेका कारण पनि व्यापार गरौं भन्ने अवस्थामा नरहेको लगायत कारणले पनि उत्पादन कटौती भएको बताए । ‘बजारमा माग पनि छैन र सामान पनि पर्याप्त छ,’ उनले भने । उद्योगले ‘बुलेट’ ब्राण्डको चाउचाउको उत्पादन एक सिफ्ट घटाएको उनले बताए । मोरङमा वैशाख १८ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । यसअघि झापा र सुनसरी जिल्ला जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेका थिए । प्रदेश १ का १४ जिल्लामै अहिले निषेधाज्ञा जारी छ ।