असार मसान्तसम्म २४ कम्पनीले मात्र गरे आस्बा सदस्यता नवीकरण

काठमाडौं । आर्थिक वर्ष ०८०/८१ को लागि २४ कम्पनीहरूले मात्रै आस्बा सदस्यता नवीकरण गरेका छन् । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार १३ वाणिज्य बैंकहरूसमेत २४ कम्पनीहरूले मात्र असार मसान्तसम्म आस्बा सदस्यता नवीकरण गरेका हुन् । धितोपत्र खरीद सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका ५६ आस्बा सदस्यहरूले सेवा प्रदान गर्दै आएका थिए । तीमध्ये आधाभन्दा कमले मात्र सदस्यता नवीकरण गराएका हुन् । यी सदस्यहरूले धितोपत्रको सार्वजनिक निष्कासन हुँदाको बखत लगानीकर्ताको दरखास्त संकलनलगायत कार्य गर्छन् । २०७४ सालदेखि अनिवार्य गरिएको आस्बा प्रणालीमा आस्बा सदस्यहरूको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । बोर्डका अनुसार आस्बा सदस्यता लिएका सबै सदस्यहरूले सदस्यता नवीकरणपश्चात् मात्र सेवा प्रदान गर्न सक्नेछन् ।  असार मसान्तसम्म आस्बा सदस्यता नवीकरण गराउने कम्पनीहरूमा कृषि विकास बैंक, आइसिएफसि फाइनान्स, रिलायन्स फाइनान्स, नबिल बैंक, प्रोग्रेसिभ फाइनान्स, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, शाइन रेसुङ्गा बैंक, सन्राइज बैंक र सिद्धार्थ बैंक छन् । यसैगरी नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले पनि आस्बा सदस्यता नवीकरण गराएका छन् ।