मूडिजद्वारा अमेरिकाको बैंकिङ प्रणालीको ‘आउटलुक’ मा कटौती

न्यूयोर्क । क्रेडिट रेटिङ एजेन्सी मूडिज इन्भेष्ट सर्भिसले अमेरिकी बैंकिङ प्रणालीको ‘आउटलुक’मा कटौती गरेको छ । सिलिकन भ्याली बैंक असफल बनेसँगै मातृ कम्पनी एसभीबी फाइनान्सियल ग्रुपको समस्या अन्यत्र पोखिने भय बढिरहँदा मूडिजले यसअघि स्थिर भनेको यस क्षेत्रको ‘आउटलुक’ रेटिङ घटाएर नकारात्मकमा झारेको हो ।  सिलिकन भ्याली, सिल्भरगेट क्यापिटल कर्पोरेशन र सिग्नेचर बैंकमा निक्षेप फिर्ता लाने निक्षेपकर्ताकाहरूको ताँती (बैंक रन)पछि बैंकहरू सञ्चालन गर्ने वातावरण नै खस्किएको छ ।  अवस्था तीव्ररूपमा खस्किँदै गइरहेको अनि अहिले बैंकप्रति निक्षेपकर्ता र लगानीकर्ता दुवैतिरबाट संकटको खडेरी भएको एजेन्सीको भनाइ छ । संघीय नियामकहरूले एसभीबी र सिग्नेचर बैंकका निक्षेपकर्ताहरूको पैसा एकमुष्ठ फिर्ता गरिदिने घोषणा गर्दा पनि निक्षेपकर्ता र लगानीकर्ता मनोबलमा उल्लेख्य कमी आउनु अमेरिकाको बैंकिङ क्षेत्रको सम्पत्ति-दायित्व व्यवस्थापनमा आक्रामक ब्याजदर वृद्धिले जोखिम झनै बढाएको छर्लङ्गै पारेको मूडिजको भनाइ छ ।  एक हप्ताभित्रै अमेरिकाका मझौला आकारका तीन बैंक धराशायी बनेपछि अब निक्षेपकर्ताहरू पनि पैसा थुपारेर राख्ने सुरक्षित विकल्प खोज्नतिर लागेका छन् । यस्तोमा निक्षेप बीमा नगराएका अनि शेयरमा उल्लेख्य क्षति बेहोरिरहेका बैंकहरू झनै मारमा परेका छन् ।  फेडको ब्याजदर वृद्धि अनि बैंकहरूको अदूरदर्शिताका कारण अहिलेको समस्या देखिएकोले एकथरी जमातमा भने फेडले आगामी नीतिगत ब्याजदरमा ब्याजदर नबढाउने अपेक्षा बढेको छ । तर मूडिजले यसको सम्भावना देखेको छैन । ब्याजदर वृद्धिको बाटोलाई पुनः आकार दिन यो महीना फेडले ब्याजदर बढाउने मूडिजको भनाई छ ।  सन् २००८ को विश्वव्यापी वित्तीय संकटयता असफल हुने एसभी बैंक पहिलो ठूलो बैंक थियो । अहिले बैंकिङ उद्योगबाहिर मात्रै होइन, भित्रै पनि यस क्षेत्रको स्वास्थ्य अवस्थाबारे चासो र चिन्ता बढेको छ । एजेन्सी