जनगणनाका लागि स्याङ्जामा १०० जना सुपरिवेक्षक खटिए

भदौ ३०, स्याङ्जा । बुधबारबाट शुरु भएको जनगणनाका लागि स्याङ्जामा १०० जना सुपरिवेक्षक खटिएका छन् ।  स्याङ्जा जिल्लाका विभिन्न ११ ओटा पालिकालाई मध्यनजर गर्दै जिल्ला जनगणना कार्यालयसहित चार ओटा स्थानीय जनगणना कार्यालय स्थापना गरी १०० जना सुपरिवेक्षकमार्फत बुधवारबाट जनगणना शुरु गरिएको जिल्ला जनगणना कार्यालय स्याङ्जाकी प्रमुख शारदा शर्माले जानकारी दिइन् ।  स्याङ्जाका पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत पायक पर्ने पालिकाहरुलाई समेटी जनगणना गरिने प्रमुख शर्माले बताइन् ।  प्रमुख शर्माका अनुसार पुतलीबजार नगरपालिकामा स्थापना भएको स्थानीय जनगणना कार्यालयले पुतलीबजार नगरपालिकासहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकामा जनगणना गर्नेछ ।  वालिङमा स्थापना भएको कार्यालयले वालिङ, चापाकोट, भीरकोट नगरपालिकामा जनगणनाको कार्य गर्नेछ । गल्याङमा रहेको कार्यालयले गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा गणना गर्नेछ भने बिरुवा रहेको कार्यालयले बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्ने गरी भेग मिलाएर कार्य विभाजन गरिएको प्रमुख शर्माले जानकारी दिइन् ।  जिल्लाका वालिङ नगरपालिकामा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरिवेक्षकहरु खटिएका छन् । त्यस्तै बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६, र हरिनासमा ५ जना रहेका स्थानीय जनगणना कार्यालय वालिङका प्रमुख पोमनारायण शर्माले जानकारी दिए । सुपरिवेक्षकहरुको छनौट गरी उनीहरुलाई एक हप्ताको आवश्यक तालीम तथा अभिमुखीकरण गरिएको वालिङका प्रमुख शर्माले बताए । बुधवारबाट शुरु भएको जनगणना कार्यकालागि सुपरिवेक्षकहरुले असोज १८ गतेसम्म सूची तयार गर्ने छन् । घर घरमा पुगेर तयार पारिएको सूचीलाई पछि गणकहरुको माध्यमबाट अझै विस्तृत रुपमा प्रश्नावली तयार गरी त्यसैका आधारमा प्रतिवेदन तयार पारिने छ । आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन गणकहरु घर घरमा पुगेर परिवार संख्या, घरधुरी, मानिस बसे नबसेको घरहरु, पेशा, रोजगारी, सामुदायिक भवनहरु लगायतका विषयहरुलाई समेटेर गणना गरी प्रतिवेदन तयार गर्नेछन् । 

सम्बन्धित सामग्री

जुम्लामा कृषि गणनामा कर्मचारी खटिए

खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहमा कृषि गणनाका लागि ३८ कर्मचारी खटिएका छन् । जिल्लामा ३० गणक र आठ सुपरिवेक्षक खटिएको जिल्ला कृषि गणना कार्यालय जुम्लाका कृषि गणना अधिकृत लक्ष्मण कँडेलले बताए । उनले भने, ‘गणकले जिल्लाका ७७ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन् । करिब तीनदेखि चार गणकलाई एक सुपरिवेक्षकले ‘गाइड’ गर्नेछन् । एक […]

देशभर जनगणना सुरु : ८ हजार सुपरिवेक्षक खटिए, झन्डै ४० हजार गणक छनौटको तयारी

काठमाडौं । कोभिड-१९को महामारीका कारण स्थगित राष्ट्रिय जनगणना पुनः सञ्चालन भएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना अभियान भदौ अन्तिममा सुरु गरेर मङ्सिर अन्तिम सम्म सक्ने निर्णय गरेको हो ।