स्वस्तिक र समाज लघुवित्त मर्जर प्रक्रिया अघि नबढ्ने निष्कर्ष

भदौ १७, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा नजाने भएका छन् ।  समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया अघि बढाउन नसकिने निर्णय गरेको हो । यी दुई कम्पनी बीच २०७७ साल असोज ५ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।  समाज लघुवित्तले २०७८ साल जेठ ११ गते मर्जर प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको थियो । उक्त सभामा गणपूरक संख्या नपुगेपछि असार १० गते पुनः दोस्रो पटक विशेष साधारण सभा बोलाइएको थियो ।  दोस्रो पटकको विशेष साधारण सभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपूरक मानिने व्यवस्था बमोजिम कुल शेयरको ५५ दशमलव ४९ प्रतिशतको उपस्थिति रहेको थियो ।  उक्त सभामा कुल उपस्थितिको ६६ दशमलव ६७ प्रतिशत तथा कुल शेयरपूँजीको ३७ प्रतिशत शेयरधनीहरुबाट केन्द्रीय कार्यालय बर्दिबास महोत्तरीमा नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय लहानमा राख्ने भएकाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगै मर्जर गर्न नसकिने राय बहुमतबाट प्राप्त भएको कम्पनीको भनाइ छ ।  तत्पश्चात पुनः मर्जर प्रक्रियालाई अगाडी बढाउनका लागि नेपाल राष्ट्र बैंकका पदाधिकारीको राय सल्लाहबमोजिम शेयरधनीहरुसँग आन्तरिक छलफल तथा परामर्शसमेत गरेको कम्पनीले अन्तत : सकारात्मक निष्कर्ष नआएकाले मर्जर प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । यी दुई कम्पनी बीच १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जाने सहमति भएको थियो ।