हवाई यातायात थप सुरक्षित बनाउन नयाँ प्रावधान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउन नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको छ । प्राधिकरणले विभिन्न ६ ओटा निर्णय गर्दै विमानस्थलहरूमा अवतरण उचाइ कायम गर्ने र पाइलटले १ दिनमा जहाज उडाउन पाउने अवधि घटाएको छ । यही माघ १ गते निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएसँगै हवाई यातायातको सुरक्षाबारे चासो बढेको छ । प्राधिकरणले उक्त दुर्घटनापछि सुरक्षालाई थप भरपर्दो बनाउन नयाँ निर्णय गरिएको जानकारी दिएको छ । प्राधिकरणले नेपालको उडान सुरक्षालाई नियमित रूपमा अद्यावधिक गर्दै आएको पनि बताएको छ । शुक्रवार निर्णयहरू सार्वजनिक गर्दै प्राधिकरणले सुगम (स्टल) रूटका विमानस्थलमा अवतरणका लागि निश्चित उचाइ अनिवार्य रूपमा कायम गर्नुपर्ने निर्णय गरेको छ । हेलिकोप्टरबाहेक अन्य वायुयानले भीएफआर (भिजुआल फ्लाइट रूट) अन्तर्गत सर्ट टेकअफ एन्ड ल्यान्डिङ (स्टल) विमानस्थलहरूमा जमीनको सतहबाट कम्तीमा ५०० फीटको उचाइ अनिवार्य कायम गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको छ । यस्तै अन्य विमानस्थलमा यस्तो उचाइ हजार फीट अनिवार्य कायम हुनुपर्नेछ । प्राधिकरणका यो नियम लागू गर्दा पाइलटहरूले यो उचाइमा आएपछि र निर्धारित उचाइभन्दा अझ कममा ओर्लिएपछि धावनमार्ग परिवर्तन गर्न पाउने छैनन् । यस्तै प्राधिकरणले स्टल रूटमा उडानका लागि तोकिएको समय पनि घटाएको छ । अहिले स्टल रूटका विमानस्थलहरूमा पाइलटको उडान समयसीमा प्रतिदिन अधिकतम ८ घण्टाको छ । नयाँ नियममा यो अवधि घटाएर प्रतिदिन ७ घण्टा कायम गरिएको छ । यस्तै स्टल रूटबाहेकका अन्य विमानस्थलको उडानमा रहेको समयसीमामा पनि संशोधन गरिएको छ । स्टल रूटबाहेकका विमानस्थलमा उडान अधिकतम प्रतिदिन ९ घण्टा थियो । यसलाई घटाएर अहिले प्रतिदिन ८ घण्टा बनाइएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रतिदिन १० ओटा कायम रहेको उडान/अवतरण संख्यालाई ८ ओटामा झारिएको छ । अब त्यस्ता विमानस्थलमा उडान/अवतरण गराउने पाइलटले उडान गर्ने संख्या घटेको छ । यसैगरी प्राधिकरणले आगामी समर सेड्युल २०२३ बाट लागू हुने गरी यान्त्रिक उडान हुने कन्ट्रोल एरोड्रममा उडान गर्ने जहाजबाहेकका अन्य वायुयानलाई (इन्स्ट्रुमेन्ट फ्लाइट रूट) आईएफआर मात्रै गर्न पाइने निर्णय गरेको छ । यस्तै वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक/परीक्षक पाइलटले सम्बद्ध वायुयान निर्माता कम्पनीबाटै वा उक्त कम्पनीले सिफारिश गरेको संस्था वा परीक्षकबाट प्रोफिसिएन्सी चेक स्किल टेस्ट गर्नुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । प्राधिकरणले हालसम्म यस्तो प्रावधान अनिवार्य गरेको थिएन । नयाँ नियमअनुसार अब पाइलटले अनिवार्य रूपमा जहाज निर्माता कम्पनी वा उसले सिफारिश गरेको संस्थाबाट यस्तो शीप परीक्षण गर्नुपर्ने हुन्छ । यस्तै वायुयान चालक दलका सदस्यको थकानबाट हुने जोखिम न्यूनीकरण गर्न पनि प्राधिकरणले नयाँ निर्णय गरेको छ । उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा समय बढाउन पाउने प्रावधान अर्काे व्यवस्था नहुँदासम्म स्थगित गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : पारवहन विकासको पूर्वाधार

पारवहन अर्थतन्त्रको मेरूदण्ड हो । यसलाई अहिलेसम्म पनि सही तरीकाले उपयोग गर्न सकिएको छैन । अन्य देशहरूले ढुवानीको औसत लागतलाई १० प्रतिशतको हाराहारीमा राख्दा हामीकहाँ त वस्तुको कुल लागतमा पारवहनको खर्चमात्रै ३० प्रतिशतभन्दा बढी छ । यो हाम्रो अर्थतन्त्र प्रतिस्पर्धी हुन नसक्नुको कारण हो । सरकारको नीति यसमा समस्याका रूपमा रहेको छ । पारवहनको मुख्य आधार सडक हो । हामीकहाँ यो पूर्वाधारको हालत कसैबाट लुकेको छैन । आजभन्दा ३० वर्ष पहिला हेटौंडा–काठमाडौं कार्गो रोपवे थियो । एक समय नेपालबाट भारतको कोलकातासम्म पुगेर नेपालका ट्रकले सामान ओसार्थे । आज त्यो पनि इतिहास भइसक्यो । भारतको कोलकाता र हल्दियामा भारतले हामीलाई कार्गो सहजीकरण गर्न जग्गा दिएको छ, त्यो उपयोग हुन सकेको छैन । यतिसम्म कि त्यहीँ वीरगञ्जपारि रक्सौलमा हाम्रो १६ बिगाहा जग्गा अतिक्रमणको चपेटामा छ । हामीले त्यसको उपयोगमा पनि ध्यान दिएनौं । भारतले दिएको सहुलियत पनि हामीले उपयोग गरेनौं । अहिले हामी पारवहनमा पूर्णरूपमा परनिर्भर भएका छौं ।  अहिले भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाह प्रयोग भइरहेको छ । अन्य केही बन्दरगाहका कुरा पनि आएका छन् । तर, जुन ठाउँका लागि जहाँबाट सहज र सुपथ हुन्छ, त्यो बन्दरगाहको उपयोगका लागि भारतसित किन पहल नगरेको ? सरकार यसमा गम्भीर छैन । हामीले बेलैमा विकल्पको पहिचान र व्यवस्थापन गर्नुपर्छ । हाम्रो पारवहन व्यवस्थापनका आयामहरू पश्चगमनतिर गइरहेको भान हुन्छ ।  मुख्य आयातनिर्यात केन्द्र भएकाले वीरगञ्ज पारवहनको सबैभन्दा ठूलो केन्द्र हो । ७० प्रतिशत पारवहन यहीँबाट हुन्छ । काठमाडौं–तराई फास्टट्र्याकले ढुवानीको दूरीलाई ३०० किलोमीटरबाट १२० किलोमीटरमा झार्न सक्ने थियो । अनेक बहानामा यसको निर्माण पछि धकेलिइरहेको छ । सन् २००४ मा वीरगञ्जमा सुक्खा बन्दरगाह शुरू हुनु एउटा टर्निङ प्वाइन्ट थियो । त्यसयता पूर्वाधारमा सुधार भएको छैन । बन्दरगाह त्यही स्थितिमा छ । एकीकृत जाँचचौकी पनि बन्यो । तर, जाँचचौकी र बन्दरगाहको बीचमा पर्ने ६२ बिगाहा जग्गा अधिग्रहण गर्ने भनिएकै १ दशक पुग्न लाग्यो, अझै मुआब्जा टुंगिएको छैन । रक्सौलबाट काठमाडांैसम्म पुर्‍याउने योजना छ । यो कहिले पूरा हुने हो, अनुमान पनि अनिश्चित छ । अन्यत्र बनाइएका आईसीपी र रेल सेवाले अपेक्षित काम गर्न पाएका छैनन् ।  ढुवानीको केन्द्र वीरगञ्ज क्षेत्रमा एउटा बेग्लै ट्रान्सपोर्ट नगरको खाँचो देखिएको छ । वीरगञ्ज शहरलाई व्यवस्थित बनाउन पनि मालसामानको ओसारपसारको क्षेत्र छुट्याउनुपर्छ । मुख्य शहरबाट केही टाढा एउटा क्षेत्रलाई ट्रान्सपोर्ट क्षेत्र घोषणा गर्नुपर्ने माग उठिरहेको छ । सबै ट्रान्सपोर्टसम्बद्ध कारोबार त्यहीँबाट हुने व्यवस्था मिलाउनुपर्छ । अन्यथा तीव्र शहरीकरण, अस्तव्यस्त निर्माण, सवारी र ढुवानीका साधनको चापले वीरगञ्जको अस्तित्व नै संकटउन्मुख भइरहेको छ । यसमा तहगत कुनै पनि सरकार आवश्यकताजति गम्भीर देखिएका छैनन् ।  सरकारको नीतिले लागत बढाएको छ । बन्दरगाह निजीक्षेत्रले पनि बनाउन सक्छ । निजीक्षेत्रको बन्दरगाह भएमा प्रतिस्पर्धा बढ्छ र लागत घटाउँछ । हामीकहाँ सुक्खा बन्दरगाह विदेशीले सञ्चालन गरेको छ । कोलकातामा लागू भएको ईसीटीएसको सञ्चालन पनि विदेशीले गरेको छ । यसले एजेन्टलाई हटाएर सिपिङ कम्पनीलाई पोस्ने काम गर्‍यो । लागत घट्न सकेन । अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन पारवहन बलियो हुनुपर्नेमा हामीकहाँ यही क्षेत्र सबैभन्दा कमजोर छ ।  पारवहनलाई प्रतिस्पर्धी बनाउन स्वदेशको निजीक्षेत्रलाई अगाडि ल्याउने नीति चाहिन्छ । पारवहनमा सरकारको स्पष्ट नीति छैन । ढुवानीका कहिले भ्याट लगाउने, कहिले हटाउने गरिएको छ । यतिसम्म अस्थिरतामा ढुवानीमा लगानी आउँदैन । नीतिगत अस्थिरताको यो हदमा लगानीकर्ता आकर्षित हुँदैनन् । सरकारले निजीक्षेत्रसँग नीति निर्माणका निजीक्षेत्रसँग सुझावसमेत लिँदैन । नेपालको पारहवन नीति भने विदेशीले बनाउँछन् । विदेशीले बनाएका नीति हाम्रा लागि उपयोगी हुन सक्दैनन् । सरकारले लजिस्टिक व्यवसायका लागि कानूनको निर्माण गर्न सकेको छैन । यसको अभावमा पारवहन सहजीकरण भएको छैन । नेपालमा कन्टेनर फ्रेट स्टेशनको अभाव देखिन थालेको छ । यसले सिपिङ कम्पनीको सेवा विस्तारमा समस्या देखिएको छ । यसका लागि उपयुक्त कानूनी प्रावधान हुने हो भने लगानीका लागि निजीक्षेत्र तयार हुन सक्छ । यसबाट निर्यात पनि बढाउन सकिन्छ । अन्य देशमा निजीक्षेत्रले यस्ता संरचनाको सफल सञ्चालन गरिरहेका छन् । हामीकहाँ सडक, हवाई यातायात, रेलमार्ग, जलमार्गलगायत सम्भावनाका अनेक आयाम छन्, जुन क्षेत्रमा निजीक्षेत्रलाई सहभागी गराउन सकिन्छ । सरकार यसमा उदासीन छ । निकट छिमेकी भारतले पारवहनका पूर्वाधारमा निजीक्षेत्रलाई प्रोत्साहनको नीतिमार्फत लोभलाग्दो उन्नति गरिरहेको छ । त्यहाँ सडकदेखि समुद्री बन्दरगाह निजीक्षेत्रको सहभागिताले प्रतिस्पर्धी भएका छन् । हामीकहाँ यस्ता सम्भावना खेर गइरहेका छन् । पारवहन सहज बनाउनेतिर सरकारी पहल प्रभावकारी छैन । यसलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने सरकारको दायित्व हो । (टेमानी नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष हुन्)

बजेटमा घोषित नयाँ व्यवस्था कार्यान्वयनमा

काठमाठौं। नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारले गत जेठ १५ गते ल्याएको बजेट कार्यान्वयनमा आएको छ । सोमवारबाट नयाँ बजेट कार्यान्वयनमा आएसँगै यसअघिका थुप्रै व्यवस्थामा फेरबदल भएको छ ।  बजेटमा व्यवस्था गरिएको विलासिता कर र वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क पनि सोमवारबाट लागू भएको छ । हवाई उडानमा पनि मूल्य अभिवृद्धिकर लाग्न थालिसकेको छ । आर्थिक ऐन, २०८० मा हवाई यातायात सेवामा मूल्य अभिवृद्धिकर लाग्ने भएकोले कर लाग्ने कारोबारको सीमा २० लाख रूपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्ने उल्लेख छ । हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धिकरमा दर्ताको लागि दरखास्त दिनुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरूले प्रदान गर्ने सेवामा र १० लाखभन्दा बढीको बहुमूल्य धातुमा २ प्रतिशत विलासिता कर पनि कार्यान्वयनमा आएको छ । आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हीरा, मोति, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहनामा पनि सोही दरमा कर लागेको छ । ट्राभल एजेन्सीहरूले विक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क पनि सोमवारबाटै कार्यान्वयनमा आएको छ । आयकरमा नयाँ व्यवस्था लागू वार्षिक ५० लाख रूपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । भन्सार विभागले सोमवारदेखि नै आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउनुपर्ने बजेटमा आएको व्यवस्था कार्यान्वयनमा लगेको छ । आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुरुप विभागले उक्त व्यवस्था कार्यान्वनय गरेको हो । आर्थिक ऐन २०८० मा आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनुअघि तिनको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाउनुपर्ने प्रावधान राखिएको छ । त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालालाई जानकारी गराइसकेको छ ।  सोमवारदेखि लेबल नलगाई वस्तु बजारमा विक्री वितरण भएमा कारबाही हुने विभागका निर्देशक राजुप्रसाद प्याकुरेलले बताए । बजेट कार्ययोजनामा मुख्यसचिवको चासो नयाँ बजेट कार्यान्वयनमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले चासो देखाएका छन् । उनले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारी रूपमा काम गर्न विभिन्न मन्त्रालय र निकायका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्यालले नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा विभिन्न मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका थिए । बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न भनेका छन् । बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फछ्र्यौटमा समेत ध्यान दिन छलफल भएको थियो ।