नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए । खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् । यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् । यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ । नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । करण चौधरीको प्यानलका उम्मेदवार अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी ध्रुव थापाको प्यानलका उम्मेदवार आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान ।

सम्बन्धित सामग्री

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका...