वसन्त ऋतु शुरू हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

काठमाडौँ, १९ फागुन : पर्यटकीय याम शुरू हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल शुरू भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु शुरू भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको शुरूआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्‍वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्‍वका विभिन्न मुलुकसहित नेपालमा शुरू भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् । ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा संघ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउँछन् । “अन्य समयमा दैनिक पाँच/सात जना स्पाका लागि आउँथे, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गरेका छन्, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो”, उनले भने । क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउँछन् । “पर्यटक याम शुरू भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्”, उनि भन्छन् ।  ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आउनुभएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम शुरू भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्‍वास व्यक्त गर्नुहुन्छ । “कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ”, उनि भन्छन् । ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आउनुभएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् । “फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ”, ढकाल भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । “पर्यटकीय याम शुरू भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ”, उनि भन्छन् । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुईहजारभन्दा बढी व्यवसायी आबद्ध छन् । ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउँछन् । एक हप्ताभित्र ठमेलमा बिग्रिएका सडक कालोपत्र गर्ने तयारी महानगरपालिकाले गरिरहेको उनिको भनाइ छ । काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउँछन् । वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् । गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।

सम्बन्धित सामग्री

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।

वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको सुरुआतसँगै […]

खुम्बुमा बाह्य पर्यटकको चहलपहल

सोलुखुम्बु । पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।  अहिले लुक्लास्थित...

कोरोना घटेपछि रारामा पर्यटक बढ्न थाले

कोरोना संक्रमण दर घटेपछि प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । घुमघाम गर्ने उपयुक्त समय वसन्त ऋतु भएकाले पनि आन्तरिक पर्यटकको चहलपहल बढेको होटल व्यवसायीको भनाई छ ।