घरजग्गा मेला : हाउजिङ र अपार्टमेन्टका स्टलमा अवलोकनकर्ताको भीड [तस्वीरहरू]

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला जारी छ । बिहीबारदेखि शुरु भएको मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट लगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैङ्क र बीमा कम्पनीको समेत सहभागिता रहने आयोजक नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताए ।  मेलामा हाउजिङ (सामूहिक आवास) र अपार्टमेन्ट (संयुक्त आवास), घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल राखिएका छन् ।तीमध्ये हाउजिङ र अपार्टमेन्टका स्टलमा अवलोकनकर्ताको भीड बढी देखिएको छ ।  मेलामा रियल इस्टेट व्यावसायीले ग्राहक आकर्षित गर्न किस्ताबन्दीदेखि नगद छूटसम्मका विभिन्न अफर ल्याएका छन् । मेलाको साढे १ लाख मानिसले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको आयोजकको भनाइ छ । मेला पुस १५ गतेसम्म चल्नेछ । 

सम्बन्धित सामग्री

नेपालमै पहिलोपटक पुस ७ देखि बसोबास घरजग्गा मेला हुने

काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक घरजग्गा मेला आयोजना गर्ने भएको छ । यो मेला पुस ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।  मेलामार्फत घरजग्गा खरीदकर्ता र ग्राहकलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जानकारी दिएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि दिइने छ ।  ‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताएका छन् । यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेता÷विक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने उनको विश्वास छ ।  ‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा सूचीकरण भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यावसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्यधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सयभन्दा बढी प्रपर्टीहरूमा छूट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरीदकर्ताका लागि उपयुक्त हुने किसिमका छन् ।  मेलामा सहभागी भई प्रपर्टीको छूट बुकिङ गर्ने सेवाग्राहीले कम्पनीको तर्फबाट प्रपर्टीको किसिम तथा मूल्यअनुसार १ करोडसम्म नगद छूट र १० ग्रामदेखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । यी प्रपर्टीको बुकिङ मूल्य बजारमा चलेको भन्दा एकदमै कम राखिएको छ ।   बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केट प्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबास नेपालले शुरूआती दिनदेखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधि, प्रपर्टीको मूल्य तथा नीतिनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र प्रविधिहरूको बारेमा ग्राहकहरूलाई सुसूचित गर्दै आएको छ ।

न्युयोर्कमा नेपाली घरजग्गा मेला

अमेरिकाको न्युयोर्कमा दोस्रो नेपाल घरजग्गा मेला २०१० आयोजना हुने भएको छ । आगामी अगस्ट १५ मा हुने मेलामा नेपालका हाउजिङ कम्पनीहरू सहभागी हुनेछन् । फस्ट काठमाण्डू प्रालिले मेला आयोजना गर्न लागेको हो । अमेरिकामा बसोबास गरिरहेकाहरूले मेलाको अवसरमा नेपालमा घरजग्गा तथा अपार्टमेन्ट बुकिङ गर्नसक्ने बताइएको छ । गुण कोलनी, ओरियन्ट ग्रुप तथा नेवाः इन्टरप्राइजेजसँगको सहकार्यमा मेला आयोजना गरिन लागेको फस्ट नेपालका प्रबन्ध निर्देशक राजन कर्माचार्यले बताए । अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरी आयोजना गरिएको मेलाको प्रचारप्रसार जारी रहेको उनले बताए । न्युयोर्कको रुजभेल्ट एभिन्यु उड स्लाइड ज्याक्सन हाइटस्थित सगरमाथा हलमा मेला आयोजना हुँदैछ । गुण कोलनी, ओरियन्ट हाउजिङ, स्तुपा हाउजिङ, लगायत आधा दर्जन हाउजिङ कम्पनीको मेलामा सहभागिता रहनेछ । त्यसबाहेक नेपालीद्वारा अमेरिकामा सञ्चालित हाउजिङ कम्पनीहरूको समेत मेलामा सहभागिता रहने कर्माचार्यले बताए । फस्ट काठमाण्डूले न्युयोर्कमा यसअघि सन् २००८ डिसेम्बरमा पनि यस्तै मेला सम्पन्न गरिसकेको छ । त्यसबेला दुई अर्ब रुपैयाँ बराबरको १ सय ६८ वटा अपार्टमेन्ट विक्री भएको थियो । यस मेलामा २ सय ५० वटा अपार्टमेन्ट विक्री हुने लक्ष्य राखिएको कर्माचार्यले जानकारी दिए । आगामी डिसेम्बरमा नेपालमा र सन् २०११ भित्र जापान र कोरियामा पनि घरजग्गा मेलाको आयोजना गर्ने जानकारी कम्पनीले दिएको छ । वर्ष ५, अंक ४९, २०६७, साउन २४–३०