पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

काठमाडौं । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि काज बिदा अविलम्ब कार्यान्वयनमा ल्याउन हानले माग गरेको हो । हानले काज बिदाको कार्यविधि पनि तुरुन्त पारित गर्न माग गरेको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा हानकी अध्यक्ष सिर्जना राणाले पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । सो अवसरमा आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले यसमा विभागले विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । यसैगरी वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटेलहरूलाई संक्षिप्त वातावरणीय अध्ययन गर्न बाध्यकारी व्यवस्था गरिएको भन्दै यस्तो नियम लागू नगर्न पनि हानले माग गरेको छ । यो ऐन पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटेलहरूलाई सान्दर्भिक नदेखिएकाले बाध्यकारी नबनाउन हानले विभागसमक्ष माग राखेको हो । यसैगरी पर्यटन उद्योगको सहजताका लागि दर्ता कर, शुल्क, नवीकरण आदि काम पर्यटन विभागमार्फत गर्न पनि माग गरिएको छ । यसले दिगो पर्यटनलाई टेवा मिल्ने हानको विश्वास छ । पर्यटन तथा होटेल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानून तथा निर्देशिकाहरू सरोकारवाला निकायहरूसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने पनि हानको सुझाव छ । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरू पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने, आधिकारिक सूचनाहरू पर्यटन विभागको वेबसाइटमा राखिनुपर्ने, तथ्यांकहरू आदानप्रदानमा सहज हुने विषयमा पनि हानले विभागको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित सामग्री

पर्यटन काज बिदा कार्यान्वयनमा ल्याउन होटल व्यवसायीको माग

२६ मंसिर, काठमाडौं । होटल व्यवसायीहरुले सरकारले बजेटमा घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यान्वयनमा जोड दिएका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा होटल संघ नेपाल (हान)ले सरकारको घोषणालाई कार्यान्वयन गर्न पर्यटन काज बिदा कार्यविधि पारित गरी अबिलम्ब कार्यान्वयनमा लैजान माग गरिएको छ । सो अवसरमा होटेल व्यवसायीले वातावरण संरक्षण ऐन अनुसार […]