साहसिक पर्यटनमा साइक्लिङ

नेपाल माउन्टेन बाइकिङका लागि उपयुक्त हुँदाहुँदै पनि यसबाट अपेक्षित लाभ लिन वञ्चित छ । यद्यपि बेला बेला माउन्टेन बाइकिङका बारेमा छलफल/चर्चा भने हुने गर्छ । माउन्टेन बाइकिङका लागि केही रुट तयार भए पनि ती उपयोगमा आउन सकेको देखिँदैन । नेपालमा व्यक्तिगत तथा सामूहिक रूपमा विभिन्न ट्रेलमा साइक्लिङ गर्ने पर्यटक आउने भएकाले बेलाबेलामा माउन्टेन बाइकिङ प्रतियोगिताहरूसमेत हुने गर्छन् । यसैक्रममा सोमवारदेखि १४ देशका माउन्टेन बाइकरहरूले प्रतिस्पर्धा गर्ने अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता शुरू हुँदै छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा पर्ने ३० किलोमीटर ट्रेलमा यो प्रतियोगिता शुरू हुन गइरहेको हो । जबकि यस्ता प्रतियोगिता निरन्तर भइरहनुपर्ने हो । यसरी प्रतियोगिता हुनु राम्रो हो तर यतिले मात्र पुग्ने देखिँदैन । साहसिक पर्यटनका लागि नेपाल प्रमुख गन्तव्य हुँदाहुँदै किन साहसिक खेलहरूको संख्या निकै कम छ भन्ने प्रश्न महत्त्वपूर्ण रहँदै आएको छ । यहाँको भौगोलिक बनोट यस्तो खेलका लागि निकै उपयुक्त छ । विश्वमै साहसिक पर्यटनको एउटा प्रडक्ट हिमाली र पहाडी क्षेत्रमा गरिने साइक्लिङ हो । नेपालमा माउन्टेन साइक्लिङका प्रतियोगिता भइरहे पनि अन्तरराष्ट्रिय रूपमा यहाँको ट्रेलले नाम कमाउन सकेको छैन । यसमा अन्तरराष्ट्रिय स्तरको कार्यक्रम नहुनु एउटा कारण हो भने अर्को भएका कार्यक्रमको पनि प्रचार हुन नसक्नु हो । अहिले विश्वमा उत्कृष्ट साइक्लिङ रुट वा टे्रेल भनेर जुन जुन ठाउँको चर्चा गर्ने गरिएको छ तीभन्दा उत्कृष्ट साहसिक साइक्लिङको अनुभव नेपालमा गर्न सक्ने देखिन्छ । ती रुटमा कतिपय मानवनिर्मित संरचनाबाट साहसिक खेल गराएको पाइन्छ जुन नेपालमा प्राकृतिक रूपमा नै रहेको छ । कतिपय मुलुकमा त कृत्रिम पहाडहरू बनाएर यस्ता खेल आयोजना हुन्छन् । नेपालमा भने यस्तो पहाडहरू र हिमालहरू अनगिन्ती छन् जहाँ माउन्टेन साइक्लिङको उत्कृष्ट अनुभव गर्न सकिन्छ । यी ठाउँमा अन्तरराष्ट्रिय प्रतियोगिताहरू हुने र विश्वविख्यात साइक्लिस्टहरूले भाग लिने हो भने यसको प्रचार भई नेपाल पनि उत्कृष्ट माउन्टेन साइक्लिङको सूचीमा पर्न सक्छ ।  अहिले पनि नेपालमा साइक्लिङ गर्न आउने प्रशस्त छन् । माउन्टेन बाइकिङ अफरोड र अनरोड दुवै हुन सक्छन् र नेपालमा यी दुवै थरी साइक्लिङमा विशिष्ट अनुभूति लिन सकिन्छ । माउन्टेन बाइकिङका पनि विभिन्न शैली र विधा हुन्छन् । यसमा इन्डयुरो, क्रसकन्ट्री, डाउनहिल, स्लोपस्टाइल, फ्रीराइड, फोरक्रस, पम्प ट्य्राक आदि विधा छन् । खासमा माउन्टेन बाइकरहरू उच्च पहाडी भूभाग र वनजंगलमा साइक्लिङ गरिरहेका हुन्छन् । यी सबै खाले साइक्लिङ नेपालमा हुन सक्छ । सरकारले ठूलो लगानीमा अन्तरराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने हो भने पनि विश्वका साइकलयात्रीहरूको ध्यान आकृष्ट गर्न सक्छ ।  साइकल टुरिजम पर्यटनको एउटा विधा हो । एक अध्ययनले २०२२ मा ११६ अर्ब मूल्य बराबरको साइकल टुरिजम भएको देखाएको छ । २०३० सम्म यो प्रतिवर्ष ९ प्रतिशतका दरले बढ्दै जाने आकलन उक्त अनुसन्धानले देखाएको छ । विश्व साइकल टुरिजमको ४० प्रतिशत अंश यूरोपले ओगटेको छ । तर, सम्भावना भएर पनि नेपालले यसको अंश लिन सकेको छैन । त्यसैले नेपालले यसको प्रवर्द्धनका लागि विशेष अभियान चलाउनुपर्छ । त्यसो भयो भने अहिले जसरी ट्रेकिङका लागि नेपाल आकर्षक गन्तव्य बनेको छ त्यसरी नै माउन्टेन साइक्लिङका लागि पनि विश्वकै आकर्षक गन्तव्य बन्न सक्छ ।