उपत्यकाका ३५ प्रतिशत सटरका व्यवसायी पलायन, 'भाडा वृद्धि र बैंकको चर्को ब्याजले संकट'

काठमाडौं । राजधानी उपत्यकाभित्र व्यापार व्यवसाय गरेर बसिरहेका साना व्यवसायी पलायन हुँदा तिनले प्रयोग गरेका करीब ३५ प्रतिशत सटर खाली भएका छन् । मन्दीले व्यापार/व्यवसाय खस्केकै बेला घरबेटीले मनपरी भाडा बढाएको र बैंकको चर्को ब्याज तिर्न नसकेर संकटमा परेपछि साना व्यवसायी पलायन भएका हुन् । यसले गर्दा व्यापारिक प्रयोजनका सटर धमाधम खाली भइरहेको बताइन्छ । सटर खाली गरेर पलायन हुने क्रम अझै बढ्ने अनुमान व्यवसायीले गरेका छन् । अर्थतन्त्र (Economy)मा देखिएको मन्दीले आम उपभोक्ताको आम्दानी (Income) घटेको बेलामा घरबेटीहरूले भाडा वृद्धि गर्ने र बैंक (Bank)ले पनि ब्याजदर (Interest Rate) बढाइरहने गर्दा साना व्यापारी सबैभन्दा बढी मर्कामा परेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् ।  उनका अनुसार यतिबेला सामान्य अवस्थाको तुलनामा समग्र व्यापार/व्यवसाय ३० देखि ४० प्रतिशतमा खुम्चिएको छ । व्यापार/व्यवसाय चले/नचले पनि उपत्यकाका अधिकांश घरबेटीले हरेक वर्ष १० प्रतिशतका दरले भाडा (Rent) बढाउने गरेको उनले सुनाए । ‘तरलता (Liquidity)मा कमी, चर्को भाडा, बैंकको उच्च ब्याजदर र बढ्दो प्रतिस्पर्धाले व्यवसाय खस्कँदो छ । फलस्वरूप व्यवसायी सटर खाली गरेर व्यवसायबाट पलायन हुन बाध्य छन्,’ उनले आर्थिक अभियानसँग भने, ‘अहिले करीब ३५ प्रतिशत सटर खाली भएको हाम्रो अनुमान छ ।’  व्यवसायमा मन्दीको प्रभावस्वरूप काठमाडौं (Kathmandu) का मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक, खिचापोखरी, ठमेल, सुनधारा, बालाजु, कलंकी, चाबहिल, कोटेश्वर र बानेश्वर आसपासका बन्द सटरमा ‘भाडामा’ वा अंग्रेजीमा ‘टु लेट’ (to-late) लेखेका पोस्टर देखिने क्रम बढेको पाइन्छ । ती क्षेत्रका एउटै सटरको लागि व्यवसायीले मासिक ५० हजारदेखि ५ लाख रुपैयाँसम्म भाडा तिरिरहेका छन् । कोरोना (Corona Virus) महामारीपछि सुस्ताएको व्यापार व्यवसाय क्षेत्र सबैतिरबाट पिल्सिएका कारण धान्नै नसक्ने अवस्थामा व्यापारी पुगेका छन् । व्यापारीहरू मानसिक रूपले विक्षिप्त बनेकाले अहिलेको अवस्था आएको असनमा रेडिमेड कपडाको व्यापार गर्दै आएका रञ्जित तण्डुकार बताउँछन् । उपभोक्ताको आम्दानी घटेकोले अचेल व्यापार नै हुन छाडेको उनले सुनाए । बजारमा भीड देखिए पनि सामान महँगिएका कारण उपभोक्ताले किन्न सक्ने अवस्था छैन । पसलमा आउनेमध्ये धरैजसो सामानको मूल्य सोध्ने र फर्किने उनको अनुभव छ । साना व्यवसायीको संस्था राष्ट्रिय व्यवसायी महासंघमा उपत्यकाका १५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । कोरोना महामारीको बेला सटर नै बन्द गर्नुपर्ने अवस्था आएपछि महासंघको पहलमा कतिपय घरबेटीले घरभाडा छूट गरेका थिए । त्यसबेला न्यूरोड र आसपासका सिभिल मल, पिपुल्स प्लाजा, रञ्जना ट्रेड मललगायतले १ देखि ७ महीनासम्मको घरभाडा छूट दिएका थिए । अहिलेको संकट धान्न नसकेर साना व्यवसायी पलायनको बाटोमा पुग्नुमा सबैभन्दा ठूलो कमजारी सरकारकै रहेको अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी बताउँछन् । उनका अनुसार सरकारले मौद्रिक नीति र बजेटमै साना र ठूला व्यवसायीलाई छुट्टाछुट्टै खालको नीति लागू गर्नुपर्छ । हजारौं जनशक्तिलाई रोजगारी दिन सक्ने र पाँच जनालाई रोजगारी दिने व्यवसायीलाई सरकारले एउटै डालोमा हालेर नीति नियम बनाउँदा संकटको बेला सबैभन्दा धेरै मर्का साना व्यवसायीलाई परेको उनको तर्क छ । राजनीतिक अस्थिरतादेखि विश्व अर्थतन्त्रको संकटका कारण लगानी गर्ने वातावरण नभएकाले पनि अहिलेको अवस्था आएको अधिकारी बताउँछन् । व्यवसायीलाई पलायन हुनबाट रोक्न वैज्ञानिक घरभाडा (Home Rent) दर लागू गरेर वर्गफिटको आधारमा घरभाडा तोकिनुपर्ने र दोहोरो अंकमा रहेको बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने व्यवसायीको माग छ ।