नेपालमा कोरोना संक्रमण दर तीव्र : एकैदिन थपिए १० हजार २५८ जना संक्रमित

माघ ४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा एकैदिन थप १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा १७ हजार ८७२ पीसीआर परीक्षणमा ८ हजार ७३० जना र ४ हजार ९५६ एन्टिजेन परीक्षणमा १ हजार ५२८ जना गरी कुल १० हजार २५८ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर कोरोना संक्रमणबाट १ जनाको मुत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना पुगेको छ । यसैगरी, मंगलवार ५६२ जना निको भएसँगै हालसम्म ८ लाख १७ हजार ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै, काठमाडौं उपत्यकामा ५ हजार ५४९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जना संक्रमित थपिएका छन् ।