काठमाडौं । नेपालमा जातजातिको संख्या पछिल्ला दशकहरूमा बढेको बढ्यै छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ । २०६८ सालको जनगणनाअनुसारका कुल १२५ जातजाति रहेकोमा अहिले १७ ओटा जातजाति थपिएको छ ।
२०६८ सालको जनगणनाअनुसारको १२३ मातृभाषामध्ये १२ ओटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘अन्य भाषा’अन्तर्गत राखी नयाँ थपिएका १३ ओटा समेत गर्दा जम्मा १२४ मातृभाषा कायम भएको बताइएको छ । जातजाति, भाषा तथा धर्मसँग सम्बद्ध यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिशअनुसार बनाइएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीले जानकारी दिए ।
जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट दर्ता गराइएका माग र ध्यानाकर्षणलाई समेत सम्बोधन गरेर तथ्यांक सार्वजनिक गरिएको रेग्मीको भनाइ छ । नेपालमा १९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । मुलुकमा अक्सर बसोवास गरेका सबै व्यक्तिको घरदैलोमा गणक एकै समयमा पुगेर निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरण संकलन गर्ने गरिन्छ ।
जनगणनाको शुरुआतदेखि प्रश्नावलीमा ‘जात’ समेटिएको पाइन्छ । त्यसपछि जात र थर खुलाइएको छ । २०४८ सालदेखि जात र जातिको परिभाषासमेत समेटियो, जसअनुसार ‘जात’ भन्नाले हिन्दू वर्णाश्रमअन्तर्गतका विभिन्न वर्गका समूहलाई जनाउँछ । ‘जाति’ भन्नाले आप्mनो छुट्टै मातृभाषा र संस्कार भएका जनजातिलाई जनाउँछ । पाँचौं जनगणना २००९/११ मा ‘धर्म’, ‘मातृभाषा’ र ‘अरू भाषा’ उल्लेख छ । ‘मातृभाषा’ व्यक्तिले बोली फुटेदेखि नै आमाबाबुले बोल्न सिकाई आप्mनो परिवारमा बोल्दै आएको पहिलो भाषा हो ।
२०४८ सालको जनगणनामा ६० जातजाति र ३१ भाषा देखिएको थियो । २०५८ को जनगणनामा १ सय १ जातजाति र ९२ भाषा देखिएको थियो । पहिचानको मुद्दा प्रमुख बनिरहेको नेपालको राजनीतिक धरातलमा कुन जाति कति छन् भन्ने विषयमा सर्वत्र चासो छ ।
२०७८ को गणनामा के फरक आयो ?
जनगणना २०७८ मा प्रमुख धर्म, भाषा र जातजातिको जनसंख्या अनुपातमा फेरबदल देखिएको छ । २०६८ को जनगणनाअनुसार धर्मका आधारमा सबैभन्दा धेरै हिन्दूको जनसंख्या ८१ दशमलव ३ प्रतिशत रहेकोमा २०७८ मा ८१ दशमलव १९ प्रतिशतमा झरेको छ ।
जातजातिको आधारमा २०६८ सालमा सबैभन्दा धेरै क्षत्री जनसंख्या १६ दशमलव ६ प्रतिशत रहेकोमा अहिले क्षत्रीको जनसंख्या १६ दशमलव ४५ प्रतिशत छ । मातृभाषाका आधारमा २०६८ को जनगणनामा नेपाली भाषा बोल्नेको संख्या ४४ दशमलव ६३ प्रतिशत रहेकोमा अहिले बढेर ४४ दशमलव ८६ प्रतिशत भएको छ ।
नेपालीपछि धेरै बोलिने मातृभाषा मैथिली भने २०६८ मा ११ दशमलव ६ प्रतिशत रहेकोमा अहिले घटेर ११ प्रतिशत कायम भएको छ ।
२०६८ सालमा हिन्दू, बौद्ध, इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको अनुपात क्रमशः ८१ दशमलव ३, ९, ४ दशमलव ४, ३ र १ दशमलव १४ प्रतिशत रहेको थियो । २०७८ को जनगणनाअनुसार यो अनुपात ८१ दशमलव १९, ८ दशमलव २१, ५ दशमलव शून्य ९ र १ दशमलव ७६ प्रतिशत देखिन्छ । अनुपातका दृष्टिकोणले बौद्ध र हिन्दूधर्म मान्ने घटेको र इस्लाम, किरात र क्रिश्चियन बढेको देखिन्छ ।