भड्किलो चुनावका विरुद्धमा

नेपाल भ्रष्टाचार हुने देशहरूको अग्रसूचीमा पर्दै आएको निकै समय भएको छ । तर, त्यसमा सुधार आइरहेको छैन । सरकारले त्यसका लागि खास काम गरेको पनि देखिँदैन । भ्रष्टाचार  बढ्नुमा राजनीतिक दल एउटा प्रमुख कारण भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले बताएको छ । यसको पनि मुख्य कारण निर्वाचन निकै महँगो भएको विश्लेषण भइरहेको छ । निर्वाचन आयोगले बिहीवार प्रधानमन्त्री तथा प्रमुख दलका प्रतिनिधिसँग गरेको छलफलमा सबैजसो दलले निर्वाचन निकै महँगो भएकाले त्यसमा सुधार ल्याउन सुझाव दिए । निर्वाचनमा उठ्न धनाढ्य हुनुपर्ने, चुनाव प्रचार निकै खर्चिलो भएको दलहरूको भनाइ छ । हुन पनि नेपालको राजनीतिमा विकृति आउन निर्वाचन एउटा कारण मानिन्छ । धनीमानीहरूले पार्टीलाई चन्दा दिएर टिकट लिने गरेका कारण सिद्धान्त र त्यागको महत्त्व घटेको छ । निर्वाचनमा टिकट पाउनकै लागि करोडौं खर्च गर्नुपर्ने, निर्वाचन जित्नका लागि पनि त्यसरी नै खर्च गर्नुपर्ने भएपछि राजनीति स्वच्छ हुने कठिन हुने नै भयो । त्यत्रो खर्च गरेर निर्वाचन जित्नेले मन्त्री हुन मरिहत्ते गर्ने र मन्त्री भएपछि विभिन्न किसिमले अवैध आर्जन गर्ने प्रवृत्ति पाइन्छ । त्यसैले नेपालमा भ्रष्टाचार बढी हुने गरेको हो । विगतमा लाख रुपैयाँमा हुने भ्रष्टाचार करोड हुँदै अहिले अर्बमा जान थालिसकेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेका संरचनामा समेत राजनीतिक दलको प्रभाव देखिन्छ । त्यसैले भ्रष्टाचारीलाई क्लिनचीट दिने काम मात्रै यस्ता संस्थाले गरेको आरोप लागेको छ । सानातिना कर्मचारीमात्रै समातिने गरेका छन् । तर, नीतिगत भ्रष्टाचार गर्नेहरू भने चोखो बनिरहेका छन् । त्यसैले नेपालमा भ्रष्टाचार न्यून गर्ने हो भने राजनीतिक दललाई शुुद्ध पार्नुपर्छ । निर्वाचन खर्च पारदर्शी हुनुपर्छ । दलहरूले गर्ने खर्च र उनीहरूले उठाएको चन्दा सबै पारदर्शी हुनुपर्छ । त्यसका लागि निर्वाचनले त्यसैअनुसार कानून र नीतिहरू बनाउनुपर्छ । तर, अहिले भइरहेका प्रावधान नै उसले लागू गर्न सकिरहेको छैन । राजनीतिक दललाई उनीहरूले पाएको मतका आधारमा सरकारले नै बजेट दिने गर्ने हो भने राजनीतिक दललाई केही स्वच्छ पार्न सकिन्छ । त्यस्तै निर्वाचनमा हुने खर्च घटाउन सकियो भने पनि निर्वाचन स्वच्छ हुन सक्छ । अहिले निर्वाचन आयोगका प्रयासका कारण बाहिर देखिने खालको खर्चमा निकै कमी आएको छ । यस्तो सुधारलाई निरन्तरता दिनुपर्छ ।