भागरथीका हत्यारालाई चिनेको अभियुक्त दिनेशको दाबी, भन्छन्ः मार्ने धम्की दिएपछि अपराध स्वीकारेँ

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्याका अभियुक्त दिनेश भट्टले आफूले हत्या नगरेको दाबी गरेका छन् । उनले भागरथीको हत्यारालाई आफूले चिनेको र डराइ धम्क्याई गरेपछि अपराध कबुल गरेको बताएका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित बालसुधार गृहमा रहेका दिनेशले आफ्नो बुवा र काकासँग हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै भागरथीको हत्या गर्ने व्यक्तिलाई आफूले चिनेको बताएका हुन् । घटनामा दुई जनाको संलग्नता रहेको उनको दाबी छ । ती मध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई भने नचिनेको दिनेशलाई उदृत गर्दै उनका बुवा दीपकराज भट्टले बताए । ‘घाँटीमा चक्कु लगाएर कसैलाई भनिस् भने तेरो बुवा र भाइलाई मारिदिन्छु भनेर धम्क्याए त्यही भएर अपराध स्वीकार गरेँ । मैले भागरथीको हत्या गरेको होइन’ दीपकराजले भने, ‘बाबुले हत्या गर्ने एक जनालाई आफूले चिनेको र अर्कोलाई नचिन्ने बताएको छ । चिनेको एकजना वडा कार्यालयकै कर्मचारी हो भन्छ ।’ पहिला बुवा गाउँमै भएकोले मारिदिने डरले आफूले अपराध स्वीकार गरेको र अहिले साँचो कुरा भनेको दिनेशका दाबी छ । हाल दिनेशका बुबा कञ्चनपुरको महेन्द्रनगरमा भाइको घरमा रहेका छन् । यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी थियो । दिनेशले यसअघि घटनामा आफूबाहेक कोही पनि संलग्न नरहेको बयान दिएका थिए । हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाइ हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् । बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ मा शव फेला परेको थियो । घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमा दिनेशलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।