सुरु भएन नौबस्ता औद्योगिक क्षेत्र निर्माण

नौबस्ता औद्योगिक क्षेत्र परियोजनाको काम अझै पनि सुरु हुन सकेको छैन । निवर्तमान सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ औद्योगिक क्षेत्र शिलान्यास गरेको चार महिना बितेको छ तर काम भने सुरु भएको छैन । औद्योगिक क्षेत्र निर्माणस्थलमा तीन सय जति स्थानीयले घर टहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको हो । सो परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड रुपियाँ बजेट छुट्याएको थियो तर काम सुरु नहँुदा सो बजेट चालू आर्थिक वर्ष २०७७÷७८ मा खर्च हुन नसकेका नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटकपटकको प्रयास सफल हुन नसकेपछि निर्माण कार्य सुरु हुन नसकेको हो ।