काठमाडौं (अस) । सरकारले आइतवार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट स्वागतयोग्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले बताएको छ । बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै महासंघले यसको कार्यान्वयनमा जोड दिएको छ । निजीक्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायमैत्री वातावरण निर्माण, विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलब्ध गराउने विषय बजेटको सकारात्मक पक्ष भएको महासंघको ठहर छ । ‘कृषिक्षेत्रको रूपान्तरण र रोजगारी वृद्धि, निरपेक्ष गरीबीको अन्त्य र आर्थिक समृद्धि कार्यक्रम अन्तर्गत आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान, कृषिलाई व्यावसायिकीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने, किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानको मनोबल बढाउन योगदानमा आधारित किसान पेन्सन योजना शुरुआत गर्न किसान हितकोष स्थापना गर्ने जस्ता कृषिमैत्री कार्यक्रम आउनु बजेटका सकारात्मक पक्ष हुन्,’ महासंघद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–८९ सञ्चालन गरी नेपाली उत्पादनको वृद्धि, रोजगारी सृजना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने विषय समेत बजेटको सबल पक्ष भएको महासंघले बताएको छ ।