एक वर्षमा श्रृजनशील लघुवित्तले कमायो १ करोड ११ लाखभन्दा बढी नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड ११ लाखभन्दा बढी नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी रू. ४७ लाख ४९ हजार नोक्सानीमा थियो ।  गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफामा सुधार आएको हो । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ करोड ८४ लाख रहेकोमा गत आवमा घटेर रू. २ करोड ८२ लाखमा कायम भएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा अघिल्लो आवमा ऋणात्मक रहेकोमा गत आवमा रू. १ करोड ५८ लाख धनात्मक भएको हो ।  नाफामा सुधार आएसँगै अघिल्लो आवमा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेकोमा गत आवमा सुधारिएर १० रुपैयाँ १८ पैसा धनात्मक रहेको हो । त्यस्तै कम्पनीको तरलता अनुपात २१ दशमलव ११ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव ५९ छ ।  गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ८६ लाख ७९ हजार छ । चुक्ता पूँजी रू. १० करोड ९३ लाख रहेको कम्पनीले जगेडामा रू. १० करोड ३३ लाख र रिटेन्ड अर्निङमा रू. ४ करोड ३९ लाखभन्दा बढी सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्