प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज)देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ ।
पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् ।
अदालतले पुस १० गते लिखित जवाफ पेस गर्ने र अन्तिम सुनुवाइको मिति तोकेको थियो । लिखित जवाफ पेसको समय थप नगर्न पनि इजलासले आदेशमै उल्लेख गरेको थियो । साथै २२ गतेबाट अन्तिम सुनुवाइको मिति तोकेको थियो । अदालतले सो आदेशसँगै प्रतिनिधि सभा विघटनसन्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन आदेश गरेको थियो । यस्तै इजलासले संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पनि माग गरेको थियो । प्रस्ताव पठाउँदा निवेदनसँगै मिति, दर्ता समय खुल्ने सक्कल रजिस्टरसमेत झिकाउन आदेशमा भनिएको थियो । आदेश अनुसारका कागजात संसद्ले सर्वोच्चमा पठाइसकेको छ ।