बीमाको आधाभन्दा बढी व्यवसाय बागमतीमा

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमाको पहुँच विस्तारमा पहल गरे पनि बीमा कम्पनीहरूको व्यवसाय बागमती प्रदेशकेन्द्रित रहेको पाइएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूको कुल व्यवसायको आधाभन्दा बढी अंश बागमती प्रदेशमा सीमित भएको देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले गरेको कुल बीमाशुल्क संकलनमा बागमती प्रदेशको योगदान ४५ दशमलव १७ प्रतिशत छ । निर्जीवन कम्पनीको भने ६५ दशमलव ८३ प्रतिशत बीमाशुल्क संकलन बागमतीमा सीमित छ ।  सञ्चालनमा रहेका १७ ओटा जीवन बीमा कम्पनी (३ लघुबीमकसमेत)ले गत पुससम्ममा ७४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यसमध्ये बागमती प्रदेशबाट मात्रै ३३ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको प्राधिकरणले बताएको छ । जीवन बीमाको विस्तारमा सबैभन्दा कमजोर कर्णाली प्रदेश देखिएको छ । कर्णाली प्रदेशबाट जीवन बीमा कम्पनीले कुल बीमाशुल्कको २ दशमलव ७७ प्रतिशत मात्र संकलन गरेका छन् । यो भनेको २ अर्ब रुपैयाँ हो ।  निर्जीवन बीमा कम्पनीको व्यवसायमा पनि बागमती प्रदेश अग्रस्थानमा रहँदा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा त्यसमा बागमती प्रदेशको योगदान १२ अर्ब ७९ करोड रुपैयाँ छ । कर्णाली प्रदेशबाट भने उक्त अवधिसम्ममा १८ करोड ५१ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्कको शून्य दशमलव ९५ प्रतिशत मात्र हो ।  बागमती प्रदेशमा आर्थिक गतिविधि बढी भएकाले यस प्रदेशमा बीमाको अंश पनि बढी देखिएको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा र हवाई बीमा बागमती प्रदेशमा मात्र सीमित भएकाले यस क्षेत्रमा कम्पनीहरूको व्यवसाय बढी भएको हो । आर्थिक गतिविधिका आधारमा बागमती प्रदेशमा बीमा व्यवसाय बढी देखिएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । तर, प्राधिकरणले बीमा व्यवसाय विकेन्द्रित गरी ग्रामीण क्षेत्रसम्म पुर्‍याउन काम गरिरहेको उनले दाबी गरे । संघीयतापछि सबै प्रदेशमा बीमाको पहुँच पुर्‍याउन प्राधिकरणले प्रादेशिक कार्यालयसमेत स्थापना गरेको छ । कृषिबीमाको पहुँच बढाउन कम्पनीहरूलाई जिल्ला तोकेर काम गर्न निर्देशन दिएको प्राधिकरणले १ वर्षअघि प्रदेश तोकेर सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको छ ।