आर्थिक सुस्तीले चितवनको फेन्सी व्यवसाय संकटमा

चितवन। प्रमुख चाडपर्व सकिएसँगै नारायणगढ बजारका पसल व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेका छन् । आर्थिक सुस्तीले कतिपय व्यवसायीले पेशा परिवर्तन गर्न थालेका छन् भने केही पलायन नै भएका छन् । मन्दीको असर सबै क्षेत्रमा परे पनि अन्यको तुलनामा फेन्सी व्यवसाय बढी समस्यामा परेको उद्योग वाणिज्य संघ चितवनले बताएको छ । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकरप्रसाद घिमिरेले १० प्रतिशत फेन्सी व्यवसायीले व्यवसाय छाडेको बताए । उनले भने, ‘१० प्रतिशत त विस्थापित नै भइसके ५० प्रतिशत फेन्सी व्यवसायी बन्द गर्ने अवस्थामा छन्, २५ प्रतिशत सुस्त चलेका छन् भने बाँकी व्यवसायीले जेनतेन व्यवसाय धानेका छन् ।’ फेन्सी व्यवसायी संघ चितवनमा १३ सय सदस्य आबद्ध रहेको बताइएको छ । ‘तीजमा खासै व्यापार हुन सकेन, दशैंमा पनि अपेक्षित रूपमा भएन, तिहारको समयमा जाडोको कपडाको व्यापार मात्र भयो,’ अध्यक्ष घिमिरेले भने, ‘तिहारपछि व्यापार सुनसान जस्तै छ ।’ घटेको घरभाडा बढ्दै जानु, बैंकको ब्याज दर नघट्नु र महानगरपालिकाले करमा छूटको व्यवस्था नगर्नु अहिलेको मुख्य समस्या रहेकोे उनको भनाइ छ । कोरोनाको समयमा घरधनीले एक–दुई महीनाको भाडामा कटौती गरे पनि पछिल्लो समय भाडादर बढाउँदा व्यवसायी मारमा परेको अध्यक्ष घिमिरेले बताए । प्राय: घरधनीले हरेक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्दै आएका छन् । व्यवसायीले अहिले भाडा नबढाउन माग गरिरहेका छन् । व्यवसायीलाई पलायन हुनबाट रोक्ने नीति अवलम्बन गर्न महानगरलाई व्यवसायीले आग्रह गर्दै आएका छन् ।