निल्नु कि ओकल्नु बन्दै अमेरिकाको कर्जा सीमा

अमेरिकामा संघीय सरकारको कर्जा तोकिएको सीमासम्म पुगेको छ । यसैले तीव्र राजनीतिक खिचातानी शुरू भएको छ भने विश्वको वित्तीय प्रणाली नै जोखिममा पुग्ने भय बढेको छ । समस्या समाधान गर्न कंग्रेस र राष्ट्रपति कार्यालय ह्वाइट हाउससँग कम्तीमा पनि जुनसम्मको समय छ । डेब्ट सिलिङ शब्द सुन्दा धेरैलाई मितव्ययी र कठोर लाग्न सक्छ । तर, यसले सरकारको खर्चमा सीमा लगाउँदैन । अहिलेको विद्यमान खर्च धान्न सक्ने सरकारको क्षमता मात्रै प्रभावित पार्ने हो । सरकारले कर्जाको सीमा निलम्बन गर्‍यो र सीमा परिवर्तन गर्‍यो भने मात्रै सरकारले ऋण लिन पाउँछ । अहिले अमेरिकाको कर्जा सीमा करीब ३१४ खर्ब येन छ । के हो कर्जा सीमा ? सरकारको आय कर र गैरकर राजस्व हो । यो आयलाई सरकारले सार्वजनिक वस्तु र सेवामा खर्च गर्छ । कहिलेकाँही सरकारको आयभन्दा खर्च धेरै हुन्छ । अर्थात् बजेट घाटा हुन्छ । यस्तोमा सरकारले वित्तीय बजारबाट ऋणपत्र जारी गरेर स्रोतको जोहो गर्छ । घरपरिवारले आफूले थेग्न नसक्ने भन्दा धेरै ऋण लिन सक्दैन । सरकारलाई भने यस्तो विवशता हुँदैन । तर, सरकारले लिने कर्जाको पनि केही सीमा हुन्छ । व्यक्ति वा व्यवसायहरू टाट पल्टिए जसरी सरकार तोकिएको ऋण सीमामा पुगेपछि पनि टाट पल्टिन्नन् । तैपनि सरकारलाई कर्जाबारे चिन्तै हुँदैन भन्नेचाँहि होइन । अमेरिकाले संघीय सरकारको कर्जा सीमा क्षमता सीमित बनाउन सन् १९१७ मा सीमा लगाउन थालेको हो । १९६० यता कर्जा सीमा बढाउने, विस्तार गर्ने वा संशोधन गर्ने काम ७८ पटक भएको छ । तीनओटा हेरफेर त गएको ६ महीनामै भयो । तर, अहिले त्यहाँको कंग्रेसमा नयाँ तनाव उत्पन्न भएको छ । सरकारका लागि समस्या उत्पन्न गराउन विपक्षी दलले कर्जा सीमाको संशोधन नगर्ने प्रवृत्ति बढेको छ । रिपब्लिकनको बाहुल्य रहेको तल्लो सदनले खर्च घटाउन माग राखिरहेको छ । यस मागलाई सम्बोधन गर्न यसपटक सांसदहरूले समयमै उपयुक्त कदम नचाल्ने अनि अमेरिका इतिहासमै पहिलोपटक ‘डिफल्ट’मा जाने अवस्था सृजना हुने हो कि भन्ने चिन्ता बढेको छ । अब अमेरिकाले के गर्छ ? सीमा नै नाघ्ने अवस्था रोक्न अमेरिकी अर्थ मन्त्रालयले केही उपाय अपनाउन सक्छ । विगतमा पनि संघीय सरकारका कर्मचारीको सेवा निवृत्ति र स्वास्थ्य लाभमा खर्च गर्न भनेर राखिएको पैसा खर्च गर्नेलगायत उपाय अपनाइएको थियो । जनवरी १९ को रातमा अर्थमन्त्री जेनेट येलेनले जुन ५ सम्म निजामती सेवा निवृत्त र अपांगता कोषका लागि कर्जा जारी रोक्काको घोषणा गरिसकेकी छन् । हुलाक सेवा निवृत्त स्वास्थ्य लाभ कोषका लागि भुक्तानी पनि रोकिएको छ । कर्जा सीमा बढाइयो वा निलम्बन गरियो भने यी दुवैलाई एक मुष्ठमा भुक्तानी गरिन्छ । कर्जा सीमासम्बन्धी खिचातानीका कारण सन् २०११ मा एसएन्डपी क्रेडिटले अमेरिकाको इतिहासमै पहिलोपटक कर्जा शाख नै घटायो । उक्त वर्ष कर्जा सीमा समाधान नहुँदा अर्थ मन्त्रालयको कर्जा लागत १ अर्ब ३० करोड डलर बढेको छ । अनिश्चिय बढ्दा लगानीकर्ताले उच्चदर मागेका थिए । यो वर्ष पनि कर्जा सीमाको बहसले वित्तीय बजार नै त्रस्त पार्ने भय विश्लेषकहरूको छ । अर्थ मन्त्रालयले विशेष खालका उपायहरू अपनाएर कम्तीमा जुन महिनासम्म कर्जा सीमा नाघ्ने अवस्था टार्न सक्ने येलेनको अनुमान छ । त्यति बेला भने सरकारले आफ्नो खर्चका लागि रकम जुटाउनै नसक्ने अवस्थामा पुग्नेछ । यसबाट आर्थिक विपद् आउने विश्लेषकहरू बताउँछन् । महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर वृद्धि गर्दा अमेरिकाको ऋणभार बढेको छ । अमेरिका ऋणको साँवाब्याज नै तिर्न नसकेर डिफल्टमा नजाला भन्न सकिँदैन । यस्तो भएमा रक्षा खर्चदेखि सेवा निवृत्तहरूले पाउने भत्तालगायत सामाजिक सुरक्षाका खर्च ठप्पै हुनेछ । सेनासहित सबै सरकारी कर्मचारीको तलब भुक्तानी रोकिनेछ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले लिएको कर्जाको भुक्तानी गर्न सकेन भने अमेरिकाप्रतिको विश्वास सकिनेछ, वित्तीय बजार ध्वस्त हुनेछ । अमेरिकी डलर कमजोर हुनेछ । कर्जाको लागत बढ्नेछ । शुरूमा सरकारको कर्जा लागत बढ्छ अनि बिस्तारै यसको प्रभाव सर्वसाधारणमा देखिनेछ । धितो कर्जाको ब्याजदर, क्रेडिट कार्डको कर्जा र अन्य ऋण सबैको ब्याजदर बढ्नेछ । अहिले नै अमेरिकाको उपभोक्ता मनोबल अर्थतन्त्र अनिश्चित अवस्थामा छ । यो बिन्दुसम्म अवस्था आउनु भनेको अकल्पनीय हुनेछ, उपभोक्ता मनोबल र अर्थतन्त्रमा समेत व्यापक क्षति गराउनेछ । किन बढ्दै छ अमेरिकामा कर्जा सीमाको समस्या ? अमेरिकाले सन् १९१७ मा कर्जा सीमा लागू गरेको थियो । पहिलो विश्वयुद्धको समयमा सरकारलाई पैसा उठाउन सजिलो होस् भनेर यसलाई लागू गरिएको थियो । सिद्धान्ततः कर्जा सीमाले कंग्रेसलाई खर्चमाथि निगरानी गर्ने अवसर दियो । तर, कर्जा सीमाको विषयमा गुटबन्दी बढाएको छ । राजनीतिक धु्रवीकरण बढाएको छ अनि अमेरिकाको कर्जा आकाशिएको छ । १ दशकमा सरकारको ऋण दोब्बर भएको छ । वित्तीय संकट र कोरोना भाइरसको महामारीको समयमा सरकारले व्यापक खर्च गर्दा पनि कर्जा बढेको हो । अर्को कारणचाँहि बजेट घाटा हो । सन् २००१ यता हरेक वर्ष अमेरिकाको बजेट घाटामा गएको छ । अहिले कर्जाको सीमा राजनीतिक मोलमोलाइको मुख्य विषय बनेको छ । सन् २०११ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले ९ खर्बभन्दा धेरै खर्च घटाउने सहमति जनाएपछि कर्जा सीमाको समस्या समाधान भएको थियो । तर, कर्जाको सीमा सोही अनुपातमा बढाइयो । केही रिपब्लिकनहरूले यसपटक पनि खर्च कटौतीमा जोड दिइरहेका छन् । तर, डेमोक्रेटहरूले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री

मौद्रिक नीतिका केही कमजोरी: के व्यावसायिक क्षेत्र र शेयरबजारमा सुधार हुन्छ त ?

कुनै पनि मुुलुकको केन्द्रीय बैंकले समग्र मुद्राको आपूर्ति, बैंकदर, बैंक कर्जाको व्यवस्थापन गर्दै बजेटले लिएका आर्थिक लक्ष्य प्राप्त गर्ने उद्देश्यले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । वर्तमान मौद्रिक नीतिको उद्देश्य आर्थिक स्थायित्व, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, रोजगारीको सृजना, आन्तरिक उत्पादनमा सुधार, आर्थिक वृद्धि, वैदेशिक व्यापारमा सन्तुलन, विदेशी विनिमय दर र शोधनान्तर स्थितिमा सन्तुलन कायम, विपन्न वर्ग, कृृषि, साना तथा मझौला उद्यम सञ्चालनमा कर्जा प्रवाह गरी आर्थिक असमानता कम गर्ने, मुद्रास्फीतिमा नियन्त्रण गरी आर्थिक समस्याको समाधान गर्ने रहेको भए तापनि जबसम्म आन्तरिक अर्थतन्त्र सुदृढ हँुदैन तबसम्म मौद्रिक नीतिको लक्ष्य पूरा हुनेमा बढी आशावादी हुने अवस्था रहँदैन ।  अन्तरराष्ट्रिय मुद्राकोषले विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा कमजोर रहने र सन् २०२४ मा केही सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा विश्वको मूल्य स्थितिमा सुधार आए तापनि अझै उच्च रहने कोषको प्रक्षेपण रहेको छ । मूल्य वृद्धिदर कम हुँदै गए तापनि लक्ष्यभन्दा अझै उच्च रहेकाले विकसित र उदीयमान मुलुकहरूले मौद्रिक नीतिको कसिलो कार्यदिशालाई निरन्तरता दिएको भएता पनि आन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाउन र कर्जा लगानी बढाउन एकीकृत निर्देशनमार्फत कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाउनैपर्छ । अन्यथा व्यावसायिक क्षेत्र र शेयर लगानीकर्ता निरुत्साहित हुने देखिन्छ ।  २०८० साउन ७ गते सार्वजनिक मौद्रिक नीतिले लिएको लक्ष्यमा मुद्राप्रदायको वृद्धिदर १२ दशमलव ५ प्रतिशत प्रक्षेपण, निजीक्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११ दशमलव ५ प्रतिशत प्रक्षेपण, आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत कायम, मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत कायम गर्ने प्रमुख छन् । त्यस्तै, विदेशी मुद्राको सञ्चिति ७ महीनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने गरी व्यवस्थापन गर्ने, बैंकदर ७ दशमलव ५ प्रतिशत कायम गर्ने, नीतिगत दर ६ दशमलव ५ प्रतिशत, निक्षेप संकलन दर ४ दशमलव ५ प्रतिशत, अनिवार्य नगद अनुपात ४ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । क ख ग वर्गलाई, वैधानिक तरलता १२ प्रतिशतलाई १० प्रतिशत ख र ग लाई, पहिलो आवासीय घरकर्जाको सीमा २ करोड पुर्‍याइएको, राष्ट्रिय स्तरको विकास बैंकले समेत पूर्णरूपमा क्यापिटल एडुक्येसी फ्रेमवर्क २०१५ अनुसार पूँजीकोष कायम गर्नु पर्ने, राहदानी सुविधाबापत १ वर्षमा दुईपटकसम्म अमेरिकी डलर १५०० सम्मको सटही सुविधा परिमार्जन गरी २५०० डलर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको भए तापनि विगतको अनुभवलाई हेर्दा कार्यान्वयन पक्ष कमजोर भएको कारण उपर्युक्त लक्ष्य पूरा हुनेमा शंका व्यक्त हुन थालेको छ । वर्तमान मौद्रिक नीतिले व्यावसायिक क्षेत्र र शेयरबजार सन्तुष्ट हुन सकेको छैन । शेयरको कर्जा सिलिङ १२ करोड हट्न सकेको अवस्था छैन । तसर्थ हालको आर्थिक गतिविधि चलायमान नहुने कुराको टिप्पणी व्यावसायिक जगतले गरिसकेको छ । कर्जा विस्तारको लक्ष्यसमेत घटेको, खुकुलो मौद्रिक नीतिको कुरा गरिरहँदा गतवर्षभन्दा कसिलो मौद्रिक नीति आयो भन्नेहरूको बाहुल्य देखिन्छ । लघुवित्तलाई सम्बोधन गर्न नसक्नु, विपन्नवर्ग कर्जा यथावत् रहनु, उत्पादनशील क्षेत्रमा नयाँ कर्जा कार्यक्रम नहुनु, कृषि, पर्यटन र ऊर्जामा उत्साहजनक कार्यक्रम नआएको हुँदा यसक्षेत्रलाई समेटन नसकेको हुँदा मौद्रिक नीति केही पक्षमा लचिलो भएता पनि अपेक्षाकृत खुकुलो नभई संकुचनकारी नै छ । सामाजिक र राजनीतिक वृतमा यो मौद्रिक नीतिलाई ठूलो अपेक्षाका साथ हेरिएको भए तापनि मुलुकको समग्र वित्तीय प्रणालीलाई चुस्त र दुरुस्त बनाउन चुकेको हुँदा ‘हात्ती हायो हात्ती आयो फुस्सा’ भएको अनुभूति सर्वसाधारणले गरेको देखिन्छ । बजेटले सम्बोधन गर्न नसकेका कतिपय कुरा मौद्रिक नीतिले समेट्ला भन्नेहरू निराश बन्न पुगेका छन् । व्यावसायिक क्षेत्रका अधिकांश माग पूरा हुन नसकेकाले बैंकहरूका आगामी वर्ष भाखा नाघेको कर्जाको दर ४ प्रतिशतभन्दा बढी हुने देखिन्छ । बाह्य क्षेत्र तथा मूल्य स्थितिमा सुधार आएको छ भनिए तापनि आन्तरिक अर्थतन्त्रको अवस्था भने नाजुक छ । आन्तरिक अर्थतन्त्रमा सुधार नभएसम्म सरकारी वित्त स्थिति दबाबमा परिरहन्छ । निजीक्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि सुस्त रहेको, आर्थिक गतिविधिमा शिथिलता आएको, बंैकिङ प्रणालीको निष्क्रिय कर्जा अनुपात बढेको, महँगीमा अपेक्षित नियन्त्रण नभएको कारण सरकारी वित्त स्थिति दबाबमा परेको हो ।  बैंकहरूले कर्जाको ब्याजदर केही घटाएको भएता पनि मुद्दती निक्षेपको भार अझै बढिरहेको र बचतमा ब्याज घट्न नसकेको कारण कर्जाको ब्याज अपेक्षित रूपमा अझै नघटेको हुँदा कर्जा लगानी आकर्षित हुन सकेको छैन । विप्रेषण आप्रवाहमा भएको सुधार र आयात व्यापारमा आएको कमीका कारण विदेशी मुद्राको सञ्चिती बढेको र बंैकिङ क्षेत्रमा तरलतासमेत बढेको भए तापनि आयात प्रतिस्थापन उद्योगको विकास र कर्जाको विस्तार एवं कुुल गार्हस्थ्य उत्पादनमा सुधारविना आन्तरिक अर्थतन्त्रमा सुधार नआउने कुरामा कसैको दुईमत नहोला । मौद्रिक नीतिले समेट्न नसकेका पक्षहरूमा ब्याजदर घटाउने, कर्जा पहुँच विस्तार गर्ने, घरजग्गा, शेयर, हायरपर्चेजलगायत क्षेत्रमा कर्जा विस्तारका कार्यक्रम देखिँदैन । शेयरबजारको सुधारका लागि देखिने गरी कुनै प्याकेज छैन । आवासीय घरकर्जाको सीमा १ करोड ५० लाखबाट २ करोड पुर्‍याउँदैमा कर्जा बढ्दैन । ५० लाखसम्मको शेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्दैमा शेयरबजारमा सुधार हुने कुरामा विश्वास गर्ने आधार देखिँदैन ।  बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा शीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । त्यसैगरी, निजीक्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।  लघुवित्त कार्यक्रममार्फत वित्तीय सेवाका अतिरिक्त विपन्न वर्गको शीप तथा उद्यमशीलता विकास र साना उद्यम व्यवसायलाई प्रवर्द्धन गर्न सहयोग पुगेको छ । लघु बचत तथा लघु कर्जाको विस्तारबाट विपन्न वर्गमा वित्तीय सेवाको पहुँच अभिवृद्धि भएको छ । यसबाट विपन्न वर्गलाई वित्तीय छनोटको अवसर प्राप्त हुनुको साथै यस्तो वर्ग अनौपचारिक वित्तीय दोहनमा पर्न सक्ने जोखिम कम हुँदै गएको छ । विपन्न वर्गमा प्रवाह हुने लघुवित्त कर्जालाई थप सहुलियतपूर्ण बनाउन बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थालाई आधारदरमा २ प्रतिशत बिन्दुसम्मले मात्र प्रिमियम थप गरी थोक कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । तर, यसबाट गरीबीको रेखामुनि रहेका लक्षित वर्ग लाभान्वित हुन सकेको अवस्था छैन ।   विश्व अर्थतन्त्रले भोग्नुपरेको उच्च मुद्रास्फीतिको स्थितिमा क्रमश: सुधार हुँदै गएको छ । यद्यपि, ऊर्जाको मूल्य अनिश्चितता, रुस–युक्रेनबीच जारी युद्ध र आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन सक्ने नीतिगत लचकताका कारण नेपालको समेत मुद्रास्फीति बढ्न सक्ने जोखिम कायमै रहेको छ । पर्यटक आगमनमा सुधार, कोभिडको असर कम भएसँगै अन्तरराष्ट्रिय यात्रा मापदण्डहरू खुकुलो बनाइएको छ भने व्यावसायिक वातावरण सहज बन्दै गएको यथार्थ हो । नेपाल सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाउने घोषणा गरेको र होटेल, एयरपोर्टलगायत पर्यटनसँग सम्बद्ध पूर्वाधारहरूको विस्तार हुँदै गएकाले आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन संख्यामा निरन्तर वृद्धि हुने भएकाले पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको छ । बाह्य रोजगारीमा जानेको संख्या बढेकाले विप्रेषण आप्रवाह पनि सन्तोषप्रद रहने अनुमान छ । तर, उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढेकोले आन्तरिक माग केही हदसम्म प्रभावित भएको छ । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभन्दा केही माथि रहने देखिएको छ । खाद्यान्न, दुग्धपदार्थ, मसला, घरायसी उपभोग्य वस्तुहरू, आयातित वस्तुहरू र इन्धनको मूल्य वृद्धिका साथै अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको छ । त्यसैले बजार मूल्य अनुगमनलाई प्रभावकारी बनाई कृत्रिम मूल्य वृद्धि हुन नदिने उपाय अवलम्बन गर्न ढिला भइसकेको छ ।  बाह्य क्षेत्रको दिगो सुधारका लागि निर्यात तथा पर्यटन प्रवर्द्धन गर्ने, वैदेशिक लगानी विस्तार गर्ने र औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह भित्त्याउने कार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ जसले आन्तरिक अर्थतन्त्रको सुदृढीकरणमा पनि मद्दत गर्छ । पूँजीगत खर्च समयमा नै अपेक्षित रूपले हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको संकुचनको फलस्वरूप ब्याजदर वृद्धि भई कर्जा मागमा कमी आउनुजस्ता कारणले कर्जा विस्तार कम रहन गएको हो । २०८० असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ८१ दशमलव ६२ प्रतिशत रहेको छ । बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । फलस्वरूप, अल्पकालीन ब्याजदरहरू घटेका छन् भने दीर्घकालीन ब्याजदरहरूसमेत घट्ने क्रममा रहेका छन् । यसरी बाह्य क्षेत्र र तरलतामा आएको सुधारबाट आन्तरिक आर्थिक गतिविधि चलायमान हुँदै जाने अपेक्षा गरिएको भएता नीतिको कार्यान्वयन पक्षमा सुधार नआएसम्म व्यावसायिक क्षेत्रले यथेष्ट लाभ लिन नसक्ने र शेयरबजारको गति धिमा नै रहने कुरामा कसैको दुईमत नहोला ।  लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

अन्तरबैंक कारोबारमा पाकिस्तानी रुपया कमजोर, डलरको तुलनामा रुपयाको भाउ झन घट्यो

इस्लामावाद । पाकिस्तानी मुद्रा रुपयाको भाउ घटेको छ । शुक्रवार अन्तर बैंक बजारमा डलरको तुलनामा रुपयाको भाउ ७ रुपया १७ पैसा घटेर प्रतिडलर २६२ रुपया ६० पैसामा आएको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८१ प्रतिशत कम हो । खुला बजारमा साँझ ४ः१५ बजेतिर पाकिस्तानी रुपया प्रतिडलर २६९ मा किनबेच भइरहेको पाकिस्तानका विनिमय कम्पनीहरूको संगठन इकयापका तथ्यांकले देखाएको छ । यो कमी अघिल्लो दिनको भन्दा ७ रुपया अर्थात् २ दशमलव ६७ पैसा कम हो । औपचारिक माध्यमबाट देशभित्र उल्लेख्य मात्रामा विप्रेषण भित्रिन शुरु भएको बताइएको छ । आगामी महीनामा विप्रेषण बढेर साढे २ अर्ब डलरमाथि पुगेर क्रमशः ३ अर्ब डलर नजिक पुग्ने अनुमान गरिएको छ । आगामी केही महीनमा निर्यात पनि सुध्रिएर मासिक ५० करोड डलरमा पुग्ने आशा गरिएको बताइएको छ । सरकारले विनिमय दरमा लगाएको सीमा हटाएपछि निर्यात अवस्था सुध्रिएको हो । सरकारले चार महीनाअघि नै सीमा हटाएको भए देशमा उच्च महँगी नहुने विश्लेषण गर्न थालिएको छ । विनिमय दरमा सीमा लगाउँदा विप्रेषणमा कमी र आयात महसुल अकासिएको लगायत अवस्थाले पाकिस्तानले ६ अर्ब डलर विदेशी मुद्रा गुमाउनुपरेको अल्फा बिटा कोरका सीईओ खुर्रम शहजादले बताए । शुक्रवारको समायोजनपछि पाकिस्तानमा विप्रेपण औपचारिक माध्यमतिर फर्किएको छ । यस्तोमा डलर स्थिर बन्ने विश्लेषकहरूको अनुमान छ । गएको मंगलवार विनिमय कम्पनीहरूले खुला बजारमा विनिमय दरमा लगाएको स्वघोषित सीमा हटाएका थिए । फलतः बुधवार खुला बजारमा डलरको भाउ २४० रुपया ७५ पैसाबाट बढेर २५२ रुपया ५० पैसामा उक्लिएको थियो । रुपयाको भाउलाई टेवा दिन एसबीपीले बजारमा हस्तक्षेप गरेपछि डलर रुपया विनिमय दर बलियो बन्दै २४३ रुपयामा झरेको थियो । तर, हस्तक्षेपको असर लामो समयसम्म टिक्न सकेन । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग रोकिएको वित्तीय उद्धार वार्ता सुचारु गर्न अनौपचारिक सीमा पनि हटाइयो । त्यसपछि रुपयाको भाउ खुला बजार र अन्तरबैंक बजारमा ह्वात्तै घटेको थियो ।  हालैका महीनामा यो अन्तर १५ रुपयासम्म थियो । यी घटनाक्रमहरूले मुद्रा बजारलाई झनै अस्थिर बनाइदियो । कारोबार छिटपुट भयो । विनिमयमा तोकिएको सीमा हटाउनु आवश्यक थियो । यो कदमले निर्यात प्रक्रिया बढाउने र आधिकारिक बैंकिङ च्यानलहरूमार्फत विप्रेषण आप्रवाह बढाउने विश्लेषण गरिएको छ । जुन २० मा सकिएको हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति ३ अर्ब ६७ करोड ८० लाख डलरमा झरेको थियो । यसले १६र१७ दिनको मात्रै आयात धान्न पुग्छ । कोषको झन्डै ७ अर्ब डलर बराबरको कर्जा कार्यक्रम अन्तर्गतको रोकिएको किस्ता फुकेमा पाकिस्तानले १ अर्ब २० करोड डलर बराबरको किस्ता पाउनेछ भने मित्रदेश र अन्य बहुपक्षीय कर्जादाताहरूबाट पनि सहायता प्रवाहको बाटो खुल्नेछ । एजेन्सी

डलरको तुलनामा बलियो बन्दै पाकिस्तानी रुपैया, ११ दिनमा ९ रुपया २४ पैसाले बढ्यो

कराँची । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपया बलियो बनेको छ । गएको ११ दिनमा डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउ ९ रुपया २४ पैसाले बढेको छ । अर्थात् सो अवधिमा डलरभन्दा पाकिस्तानी रुपया ३ दशमलव ४ प्रतिशतले बलियो बनेको छ । फेब्रुअरी ३ मा डलर-पाकिस्तानी रुपैया विनिमय दर २७६ रुपया ५८ पैसाको कीर्तिमानी उचाइमा उक्लिएको थियो । सरकारले अन्तरबैंक विनिमयमा सीमा तोकेपछि कालो बजारमा चलखेल र नाफाखोरी बढ्दा रुपया झनै कमजोर बनेको थियो । जनवरीको अन्तिम हप्तामा विनियममा लगाएको सीमा हटाएसँगै डलरको विनिमय दरमा छाएको अनिश्चय हटेको छ भने अन्तर बैंक र खुला बजारमा डलरको आपूर्ति बढ्दा रुपयाको भाउले टेवा पाएको छ । केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले मंगलवार जनाएअनुसार उक्त दिन पाकिस्तानी रुपयाको तुलनामा डलरको भाउ २ रुपया १० पैसा कमजोर भएर २६७ रुपया ३४ पैसामा आएको थियो । जनवरी ३१ देखि फेब्रुअरी ९ को बीचमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वित्तीय उद्धार बापतको किस्ताको रकम निकासी गर्नेसम्बन्धी १० दिनसम्मको वार्ता निष्कर्षविहीन बनेको थियो । कोषले १ अर्ब २० करोड डलर बराबरको सो किस्ता जारी गरेमा अन्य बहुपक्षीय कर्जादाता र मित्र देशहरूबाट पनि पाकिस्तानको लागि सहयोगको बाटो खुल्नेछ ।  यसैबीच बहुराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिचले पाकिस्तानको कर्जाको साख घटाएको छ । यसअघि सीसीसी प्लस रहेको कर्जा साख घटाएर सीसीसी माइनसमा झारिएको छ । तरलता संकट खराब बन्दै गइरहेको राजनीतिक अस्थिरता र विदेशी विनिमय सञ्चिति डराउनै पर्ने गरी न्यून स्तरमा आएको अवस्थामा पाकिस्तान विदेशी कर्जाको साँवा ब्याज भाकामै तिर्न नसक्ने सम्भावनातार्फ औंल्याउँदै फिचले मंगलवार कर्जा साख घटाएको हो ।  सीसीसी माइनसको अर्थ डिफल्टमा जाने जोखिम उच्च छ । फिचले रेटिङ त्रिपल सीप्लसभन्दा तल भएको सार्वभौम कर्जाको साखको परिदृश्यबारे खासै चर्चा गर्दैन । फिचको नजरमा पाकिस्तान डिफल्टमा जाने वा कर्जाको पुनःसंरचना हुने सम्भावना बढेको छ । एजेन्सीहरु

बहुबैंकिङले लघुवित्त क्षेत्रमा निम्त्याएको समस्या

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको एकल ग्राहक कर्जा सीमाको अधीनमा रही लघुवित्त वित्तीय संस्थाले सदस्यलाई लघुकर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । सीमाभन्दा बढी कर्जा प्रदान गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि एक वा त्योभन्दा बढी लघुवित्त वित्तीय संस्थाले एउटै सदस्यलाई तोकिएको सीमाभन्दा बढी कर्जा प्रदान गर्ने क्रम पछिल्लो समय बढ्दै गएको पाइन्छ । सदस्यलाई विनाधितो सामूहिक जमानीमा प्रदान गर्ने कर्जाको सीमा निर्धारण नगर्ने हो भने सदस्यले आफ्नो आवश्यकता र क्षमताभन्दा बढी कर्जा लिने र कर्जा भुक्तानी गर्न नसक्दा सदस्यहरू ऋणग्रस्त हुँदै जाने र संस्थामा खराब कर्जाको जोखिम बढ्दै जाने भएकाले यस्तो नीतिगत व्यवस्था गरिएको हो । तत्कालका लागि बहुबैंकिङ कारोबारका माध्यमबाट लघुवित्त वित्तीय संस्थाको नाफा देखाउन सकिने भए पनि दीर्घकालका लागि हितकर देखिँदैन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले सामूहिक जमानी र स्वीकारयोग्य धितो लिई सदस्यलाई प्रदान गर्नसक्ने कर्जाको छुट्टाछुट्टै सीमा कायम गरेको छ । यसका साथै, समूहमा आबद्ध भएको सदस्यलाई एउटा संस्थाबाट एकै अवधिमा समूह जमानी कर्जा र धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ । यसरी लघुवित्त वित्तीय संस्थाले एक वा एकभन्दा बढी संस्थाबाट तोकिएको सीमाभन्दा बढी लिएको कर्जालाई बहुबैंकिङअन्तर्गत राख्ने गरिन्छ । यस्तो कर्जा प्रदान गर्नुअघि संस्थाले कर्जा सूचना केन्द्रबाट कर्जा सूचना लिई बहुबैंकिङ गरे/नगरेको यकीन गरी एकल कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले २०७५ मा संघीय संरचनामा लघुवित्त सेवाको पहुँच तथा संरचनासम्बन्धी अध्ययन गरेको थियो । त्योभन्दा अघि सदस्यले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्तिलाई बहुबैंकिङ तथा दोहोरोपनाको रूपमा परिभाषा गरिएको थियो । उक्त अध्ययनले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने सदस्यको संख्या २ तिहाइभन्दा बढी रहेको निष्कर्ष निकाल्यो । लघुवित्त वित्तीय संस्थाले सदस्यलाई प्रदान गर्ने कर्जाको अधिकतम सीमा नेपाल राष्ट्र बैंकले निर्धारण गर्ने भए पनि लघुवित्त वित्तीय संस्थाको कर्जा नीतिमा सदस्यलाई प्रदान गर्ने कर्जाको रकम न्यून हुने भएकाले एउटा मात्र संस्थाबाट लिएको कर्जाले आयमूलक व्यवसाय सञ्चालन गर्न पूँजी अपुग हुने भएकाले एकल ग्राहक कर्जा सीमासम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गर्नुपर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुग्यो । त्यहीअनुरूप आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिले एउटा ऋणी सदस्यले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट एकल ग्राहक कर्जा सीमासम्मको रकम कर्जा लिनसक्ने र उक्तसीमा नाघेको कर्जालाई मात्र बहुबैंकिङअन्तर्गत राख्ने नीतिगत व्यवस्था गरेकोे हो । एकल ग्राहक कर्जा सीमा नाघ्ने गरी प्रदान गरिएको कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने हुन्छ । यही व्यवस्थाअनुरूप सदस्यले आबद्ध भएको संस्थाहरूबाट नीतिगत रूपमा सीमासम्मको कर्जा प्राप्त गर्दै आएका छन् । तराई, राजमार्ग वरपर, शहरोन्मुख ग्रामीण क्षेत्रलगायत क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार उल्लेख्य भएको र पहाडी तथा हिमाली क्षेत्रमा तुलनात्मक रूपमा कम विस्तार भएको वर्तमान समयमा लघुवित्तीय सेवा कुल जनसंख्याको २० प्रतिशतले प्राप्त गरेको तथ्यांक सार्वजनिक हुनुले लघुवित्त वित्त वित्तीय संस्थामा बहुबैंकिङको अवस्था उल्लेख्य रहेको देखिन्छ । छोटो समयमा धेरै लघुवित्त वित्तीय संस्थाले इजाजतपत्रप्राप्त गरेसँगै संस्थाहरू नाफामा केन्द्रित भएकाले कर्मचारीलाई कर्जाको लक्ष्य तोक्ने र उक्त लक्ष्य प्राप्तितर्फ संस्था र कर्मचारी केन्द्रित हुँदा कर्जा लगानी पूर्वसदस्यको घर तथा परियोजनाको विश्लेषण गर्दै सदस्यको आर्थिक तथा सामाजिक पक्षको विस्तृत विश्लेषण गरी जोखिम न्यूनीकरण गर्ने कार्य प्रभावकारी बन्न सकेन । वित्तीय सचेतनाको अभाव र सहज तरीकाले कर्जा प्राप्त गर्न सकिने भएकाले सदस्यहरू आफ्नो ऋण वहन क्षमता र आवश्यकताभन्दा बढी कर्जा लिन लालायित हुने र लक्ष्य प्राप्तिका लागि कर्मचारीले नीतिगत व्यवस्थाको पालना नगरी अधिक कर्जा प्रवाह गर्दा सदस्यहरूमा ऋणग्रस्तता वृद्धि हुने र संस्थामा खराब कर्जाको जोखिम बढ्दै गएको देखिन्छ । सदस्यको आवश्यकता, क्षमता र एकल ग्राहक कर्जा सीमासम्बन्धी व्यवस्थाको पालना नगरी लघुवित्त वित्तीय संस्थाले बहुबैंकिङ कारोबार गरेका कारण सदस्यमा कर्जाको अधिक भार पर्न गई समयमा नै कर्जाको साँवा ब्याज असुलीमा कठिनाइ उत्पन्न हुने गरेको र कर्जा असुलीका लागि कर्जा हरितीकरण गर्ने गलत अभ्यासको शुरुआत भएको पाइन्छ । यसरी कर्जा असुलीका लागि नयाँ कर्जा सृजना गर्ने अभ्यासले ऋणी सदस्य दीर्घकालसम्म ऋणमुक्त हुन नसक्ने र संस्थामा असल कर्जाको अंश उल्लेख्य देखिए पनि वास्तविक रूपमा कर्जा असुलीको जोखिम भइरहन्छ । त्यसैले तत्कालका लागि बहुबैंकिङ कारोबारका माध्यमबाट लघुवित्त वित्तीय संस्थाको नाफा देखाउन सकिने भए पनि दीर्घकालका लागि हितकर देखिँदैन । यसले गर्दा लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन नसक्ने भएकाले लघुवित्तीय सेवामार्फत गरीबी निवारण कार्य प्रभावकारी बन्न सक्दैन । गरीबी निवारणको सहयोगी बन्दै आएको लघुवित्त क्षेत्रले कुल जनसंख्याको २० प्रतिशतलाई समेटेको र आबद्ध भएकामध्ये ५६ प्रतिशत वा कुल जनसंख्याको ११ प्रतिशत जनतालाई लघुकर्जा प्रदान गरेको भए पनि पहाडी र हिमाली क्षेत्रमा आवश्यकतानुसार सेवा विस्तार गर्न सकेको छैन । त्यसैगरी तराई क्षेत्रमा रहेका कतिपय लक्षित वर्ग मीटरब्याजीबाट पीडित रहँदै आएका छन् । यस्तो अवस्थामा एकातिर सीमित क्षेत्रका सीमित वर्गले बहुबैंकिङको कारोबार गरिरहेका छन् भने बाँकी क्षेत्रका लक्षित वर्गले लघुवित्तीय सेवाप्राप्तिबाट पूर्ण रूपले वञ्चित रहनुपर्ने अवस्था रहेको छ । सीमित क्षेत्र र सदस्यमा बहुबैंकिङ कारोबार गर्दा तथ्यांकमा लघुकर्जाको विस्तार उल्लेख्य रूपमा भएको देखिए पनि वास्तविक रूपमा समानुपातिक तरीकाले सबै क्षेत्र र लक्षित वर्ग लाभान्वित हुन नसक्ने भएकाले लघुवित्त क्षेत्रमा बहुबैंकिङ कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ । यसका लागि कर्जा माग गर्ने सदस्यको कर्जासम्बन्धी सूचना लिने कार्यलाई प्रभावकारी तवरले कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । लेखक लघुवित्त क्षेत्रसँग सम्बद्ध व्यक्ति हुन् ।

माछापुच्छ्रे बैंकको प्रगति, वित्तीय सूचकमा अब्बल बन्दै

१३ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय सूचकहरुमा निकै राम्रो सुधार गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि सीमा भन्दा तल नै राखेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा अधिकांश वित्तीय सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । प्रतिकुल समयको बाबजुद पनि बैंकले नेपाल राष्ट्र बैंकले तोकेका […]

महिला उद्यमीलाई निर्यात कर्जाको बाटो खुल्यो , निर्यात कर्जाको व्यवस्था

काठमाडौं । उद्यम तथा व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउनै नसकिएको महिला उद्यमीको गुनासोबीच सरकारले उनीहरूलाई निर्यात कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । औद्योगिक व्यवसाय नियमावली–२०७६ संशोधन गरी उद्योगको प्रकारअनुसार महिला उद्यमीले न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा पाउने प्रावधान राखिएको हो । सरकारले संशोधित औद्योगिक व्यवसाय नियमावली–२०७८ चैत २१ गते नेपाल राजपत्रमा प्रकाशित गरेको छ । यसले महिला उद्यमीलाई निर्यात कर्जाको बाटो खोलिदिएको हो । यसअघिको नियमावलीले निर्यात कर्जाको व्यवस्था गरे पनि उद्योगको प्रकृतिअनुसार कर्जा रकमको सीमा तोकेको थिएन । संशोधन भई राजपत्रमा आएको नियमावलीअनुसार व्यवसायको वित्तीय स्थितिका आधारमा महिला उद्यमीले निर्यात कर्जा पाउनेछन् ।  यसैगरी, निर्यात कर्जा पाउन कुल उत्पादनको कम्तीमा ३० प्रतिशत निर्यात गर्नुपर्ने शर्त तोकिएको छ । संशोधित नियमावलीमा भनिएको छ, ‘कर्जा प्राप्त गर्न सम्बद्ध उद्योगले आफ्नो पछिल्लो आर्थिक वर्षको कुल उत्पादनको कम्तीमा ३० प्रतिशत निर्यात गरेको हुनुपर्नेछ ।’ यसअघिको नियमावलीमा उद्योगले आफ्नो उत्पादन निर्यात गर्ने प्रयोजनका लागि कर्जा आवश्यक परेमा उद्योग दर्ता गर्ने निकायमार्फत सम्बद्ध मन्त्रालयमा निवेदन दिन सक्ने व्यवस्था थियो ।  संशोधित नियमावलीले महिला उद्यमीलाई थप सुविधाका लागि कर्जाको सीमा तोकेको छ । नियमावलीअनुसार लघुउद्यमीले ५ लाख, घरेलुले १५ लाख, सानाले २० लाख, मझौलाले ३० लाख र ठूला उद्योगीले ५० लाख रुपैयाँ निर्यात कर्जा पाउनेछन् । कर्जा बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था छ ।  राष्ट्र बैंकले महिला उद्यमीलाई जस्तोसुकै उद्यम वा व्यवसाय गर्न ब्याज अनुदानमा १५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ । महिला उद्यमी शारदा रिजालले संशोधित व्यवस्थाले महिला उद्यमीलाई उद्यम गर्न र खासगरी निर्यातमूलक उद्योगमा प्रोत्साहित गर्ने बताइन् । उनले सरकारले तोकेको औद्योगिक ग्राममा पनि महिलालाई लक्ष्य गरेर लगानी गरेको भन्दै उनले यो नीतिले महिला उद्यमीलाई प्रोत्साहन गर्ने बताइन् । उनका अनुसार काभ्रेको पाँचखालमा महिला औद्योगिक ग्राम बन्दै छ । सरकारले सातओटै प्रदेशमा औद्योगिक ग्राम खोल्ने योजना घोषणा गरेअनुसार काभ्रेमा नेपालकै पहिलो महिला औद्योगिक ग्राम स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । महिला उद्यमशीलता विकास गर्न शुरू गरिएको ग्राम र अहिले आएको निर्यात कर्जा नीतिले महिला उद्यमीलाई सहयोग पुग्ने व्यवसायीहरूको भनाइ छ । अहिले पनि व्यवसाय कर्जा लिन गाह्रो पर्ने गरेको बताउँदै महिला उद्यमीले कर्जा पाउने अवस्था सरल र सहज बनाउनुपर्नेमा जोड दिए ।

तरलता अभाव लम्बिने संकेत

आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा पनि वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको अवस्थामा सुधार आएको छैन । आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी खर्च बढ्ने भएकाले तरलता अभावको समस्या समाधान हुने अपेक्षाविपरीत अवस्था झन् विकराल बन्दै गएको हो । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) निर्देशित सीमा (९० प्रतिशतभन्दा माथि) भन्दा माथि पुगेको, अन्तरबैंक दर ७ प्रतिशत हाराहारीमा पुगेको, बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी सुविधा (स्थायी तरलता सुविधा–एसएलएफ र ओभर नाइट–रिपो) अचाक्ली बढेकोलगायत कारण तरलता अवस्थामा सुधार नआएको स्पष्ट हुन्छ ।

लघुवित्त क्षेत्रमा तरलताको प्रभाव

अहिले बजारमा देखिएको तरलताको अभावसँगै लघुवित्त वित्तीय संस्थाहरूले क, ख र ग वर्गका वित्तीय संस्थाबाट लिने विपन्न वर्ग कर्जा सापटीमा तिर्नुपर्ने ब्याज १२ प्रतिशतभन्दा माथि पुगेको छ । कोरोना विपद्मा यस्तो ब्याजदर आधारदरभन्दा कम रहेको थियो । त्यतिबेला ४ प्रतिशतसम्म ब्याज तिरेर लघुवित्त वित्तीय संस्थाले यस्तो रकम प्राप्त गरेका थिए, अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुन सक्ने भएकाले नियामकले आधारदरभन्दा कम ब्याजदर हुनेगरी कुनै पनि प्रकारको कर्जा वितरण गर्न नपाइने परिपत्र जारी गरेको थियो । विपन्न वर्ग कर्जा सापटीमा लिइने ब्याजदरमा कुनै सीमा नभएकाले बजारमा प्रचलित ब्याजदरको आधारमा नै यसको ब्याजदर निर्धारण हुने गर्छ । ब्याजदरलाई पूँजीको माग र आपूर्तिले निर्धारण गर्छ । पूँजीको माग पक्षले कर्जा र आपूर्ति पक्षले वित्तीय स्रोतलाई बुझाउँछ । लघुवित्त वित्तीय संस्थामा वित्तीय स्रोतअन्तर्गत समूह सदस्यहरूबाट प्राप्त बचत, विपन्न वर्ग सापटीबाट प्राप्त हुने रकम र डिवेञ्चरबाट संकलित रकम पर्छन् । यस्तो रकम लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म परिचालन गर्न पाउने व्यवस्था रहेको छ । डिवेञ्चर निष्कासन गरी संकलन गरिने पूँजीलाई वित्तीय स्रोतअन्तर्गत समेटिएको भए पनि हालसम्म कुनै पनि लघुवित्त वित्तीय संस्थाले डिवेञ्चर जारी गरी रकम संकलन गरेका छैनन् । यसका साथै संस्थासँग शेयरपूँजी र विभिन्न कोषमा रहेको रकम र नाफा रकम पनि रहेको हुन्छ । प्राप्त तथ्यांकअनुसार २०७८ असोज मसान्तमा कुल वित्तीय स्रोतमा निक्षेपको अंश ३४ दशमलव २५ प्रतिशत, विपन्न वर्ग कर्जा सापटीको अंश ५६ दशमलव ६० प्रतिशत र बाँकी अन्य स्रोतको योगदान रहेको देखिन्छ । वित्तीय स्रोतअन्तर्गत विपन्न वर्ग सापटीको अंश उल्लेख्य रहेकाले यसको उपलब्धता र यसको ब्याजदर परिवर्तनले लघुवित्त वित्तीय संस्थालाई बढी प्रभाव पर्ने गर्छ । कोरोना विपद्ले उत्पन्न परिस्थितिका कारण ठप्प रहेको अर्थतन्त्रमा यसको प्रभाव कम भएसँगै आर्थिक गतिविधि बढ्न थाल्यो । यसै क्रममा मुलुकमा आयात बढ्दै गएको, नियमित रूपमा कर, राजस्वलगायत रकम संकलन भइरहे तापनि खर्च हुन नसकी सरकारी ढुकुटीमा रकम जम्मा भएको, पूँजीगत बजेट खर्च हुन नसकेको, रेमिट्यान्सको आप्रवाह घट्दै गएको लगायतको अवस्था अर्थतन्त्रमा देखा पर्‍यो । आर्थिक गतिविधि विस्तार भएसँगै बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलनको तुलनामा आक्रमक रूपमा कर्जा प्रवाह बढ्दा बैंकिङ क्षेत्रमा तरलताको अभाव हुने अवस्था सृजना भयो । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूले थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था बन्यो । तरलता अभाव सँगसँगै लघुवित्त वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्दै आएको विपन्न वर्ग कर्जा सापटी प्राप्त गर्ने सम्भावना न्यून हुनुका साथै ब्याजदर बढ्न थाल्यो । हाल यस्तो ब्याजदर १२ प्रतिशत भन्दा माथि पुगेको छ । लघुवित्त क्षेत्रमा कर्जाको ब्याजदरको विषयमा चर्चा गर्दा विभिन्न चरणमा विभिन्न दर कायम भएको देखिन्छ । शुरूआती चरणमा कर्जामा २५ प्रतिशत रहेको ब्याजदर क्रमशः घट्दै गएर आर्थिक वर्ष २०७७/७८ देखि अधिकतम १५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७५/७६ मा लघुवित्त वित्तीय संस्थाले आफ्नो कोषको लागतमा तोकिएको प्रशासनिक खर्चका अतिरिक्त बढीमा ६ प्रतिशतसम्म थप गरी कर्जाको ब्याजदर कायम गर्न सक्ने व्यवस्था थियो । यही सन्दर्भमा वित्तीय स्रोतको ठूलो हिस्सा ओगटेको विपन्न वर्ग कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि पुग्दा लघुवित्त वित्तीय संस्थाले कर्जामा लिने ब्याजदर कसरी निर्धारण गर्लान् भन्ने विषय विचारणीय हुन्छ । वित्तीय क्षेत्रमा तरलताको अभाव बढ्दै गएका कारण आफ्ना ग्राहकको मागबमोजिम कर्जा प्रवाह गर्ने अवस्था नभएकाले केही लघुवित्त वित्तीय संस्थाले फिल्डस्तरका प्रशिक्षार्थी कर्मचारीलाई बिदा दिनुपर्ने अवस्था आएको चर्चा पनि यस क्षेत्रमा सुनिन थालेको छ । बढीभन्दा बढी लक्षित वर्गलाई वित्तीय पहुँचभित्र समेट्ने र सम्भव भएसम्म कम ब्याजदरमा कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने उद्देश्यले पछिल्लो समय लघुकर्जाको ब्याजदर १५ प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने व्यवस्था नियामक निकायबाट जारी हुनुलाई स्वागतयोग्य मान्नुपर्छ । तर, यस क्षेत्रमा भएको वित्तीय स्रोतको न्यूनता, वैकल्पिक वित्तीय स्रोतको अभाव र विपन्न वर्ग कर्जा सापटीको ब्याजदरमा स्थिरता कायम हुन नसक्दा लघुवित्त वित्तीय संस्थाहरूले कतिपय समयमा कर्जा वितरण कार्य नै स्थगीत गर्नुपरेको तीतो यथार्थ पनि रहेको छ । यस्तो अवस्थामा लघुवित्त क्षेत्रमा आबद्ध भई कर्जा लिई लघु व्यवसाय सञ्चालन गरिरहेका सदस्यलाई व्यवसायलाई निरन्तरता दिन कठिनाइ पर्ने गर्छ भने कतिपय सदस्यहरू अनौपचारिक क्षेत्रमा जान बाध्य हुने अवस्था सृजना हुन्छ, जसले गर्दा लक्षित वर्गमा वित्तीय पहुँच विस्तार गर्ने अभियान र यस क्षेत्रप्रतिको विश्वासनीयता दुवैमा नकारात्मक असर पर्न सक्ने देखिन्छ । नेतृत्व वर्गबाट लघुकर्जाको ब्याजदर एकल अंकमा सीमित गर्ने अभिव्यक्ति आउँदै गर्दा यस क्षेत्रमा भएको वित्तीय स्रोतको अभाव र कर्जाको ब्याजदर दोहोरो अंकमा पुग्नुलाई संयोग मान्न सकिँदैन । यो विगतदेखिकै प्रवृत्ति हो । गरीबी निवारण गर्ने सन्दर्भमा उपयुक्त कार्यक्रम बन्दै आएको लघुवित्त क्षेत्रमा वैकल्पिक वित्तीय स्रोतको आपूर्ति गर्न सके बैंकिङ क्षेत्रमा आइरहने तरलताको प्रभाव यस क्षेत्रमा न्यून पर्ने र ब्याजदरमा समेत स्थिरता कायम गर्न सहज हुने अवस्था रहन्छ । यसका लागि लघुवित्त क्षेत्रको नियमक नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले वित्तीय स्रोतको वैकल्पिक आपूर्ति गर्ने व्यवस्था मिलाउन समयमा नै ध्यान दिनुपर्ने देखिन्छ । साथै, नियामक र सरकारको मात्र मुख ताक्ने प्रवृत्तिमा सुधार गरी लघुवित्त वित्तीय संस्थाले आफ्नो योगदान र सहभागितामा वित्तीय स्रोतका लागि वैकल्पिक व्यवस्थाको शुरुआत गर्नु आवश्यक छ । त्यसैले वित्तीय स्रोतको दीर्घकालीन समाधानका लागि तालुक निकाय र लघुवित्त क्षेत्र जिम्मेवारीका साथ मिलेर अघि बढ्नुपर्ने देखिन्छ । जोशी लघुवित्तसम्बन्धी जानकार मानिन्छिन् ।

अतिविपन्न वर्गमैत्री लघुवित्तको आवश्यकता

बैंकिङ क्षेत्रमा छाता ऐनका रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कार्यान्वयनमा रहेको छ । यसभन्दा अघि कृषि विकास बैंक ऐन, २०२४, वाणिज्य बैंक ऐन, २०३१, वित्त कम्पनी ऐन, २०४२, नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ र विकास बैंक ऐन, २०५२ कार्यान्वयनमा रहेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१), (२), (३) र (४) मा क्रमशः क, ख, ग र घ वर्गका बैंक वा वित्तीय संस्थाले गर्न सक्ने बैंकिङ तथा वित्तीय कारोबारको बारेमा उल्लेख गरिएको छ । यसका साथै यस क्षेत्रसँग सम्बद्ध अन्य थुप्रै ऐन, नियम, विनियम तथा नीति निर्देशनले बैंकिङ क्षेत्रलाई निर्देशित र नियन्त्रित गरेका छन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन र घ वर्गका लघुवित्त वित्तीय संस्थालाई छुट्टै निर्देशन जारी गर्ने गर्छ । ती निर्देशनमा बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा गर्ने कामकारबाही, कर्जा सापटको सीमा त्यसको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था, संस्थागत सुशासन, लगानी, ब्याजदर, वित्तीय स्रोत संकलन, कार्यक्षेत्र, निर्देशित कर्जा आदिसँग सम्बन्धी थुप्रै नियमनकारी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ । यस प्रकारका नीतिगत व्यवस्था र प्रावधानको अधीनमा रही क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था र घ वर्गका लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई आआफ्नै तरीकाले वित्तीय सेवा प्रदान गर्ने गर्छन् । बैंकिङसम्बन्धी ज्ञान भएका, बैंक तथा वित्तीय संस्थासम्मको पहुँच राख्न सक्ने, कर्जा लिनका लागि राख्नुपर्ने धितो भएका वर्गलाई क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आप्mनै कार्यालय परिसरबाट वित्तीय सेवा प्रदान गर्छन् भने बैंकिङसम्बन्धी ज्ञान नभएका, बैंक तथा वित्तीय संस्थासम्म पहुँच राख्न नसक्ने, कर्जा लिनका लागि राख्नुपर्ने धितो नभएका गरीब तथा विपन्न वर्गलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाले उनीहरूकै घरदैलोमा गई सामूहिक जमानीमा वित्तीय सेवा प्रदान गर्छन् । प्रविधिमा आएको विकास, परिवर्तित समय, बढ्दो मुद्रास्फीति, नवीनतम व्यावसायिक अवधारणा, चेतनास्तरमा भएको विकास, प्रतिस्पर्धात्मक वातावरण आदिले परम्परागत बैंकिङ सेवामा क्रमशः परिवर्तन हुँदै आएको छ । यसअनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले पनि तोकिएको व्यवस्थाबमोजिम विनाधितो कर्जा, सहुलियत ब्याजदरमा कर्जा, पुनर्कर्जा, शाखारहित बैंकिङ सेवा, डिजिटल बैंकिङलगायत थुप्रै आधुनिकतम बैंकिङ सेवाहरू आप्mना ग्राहकलाई प्रदान गर्ने गर्छन् । यद्यपि यी बैंकिङ सेवाहरूमा लघुवित्तका लक्षित वर्गको पहुँच पुग्दैन । गरीब तथा न्यून आय भएका वर्गलाई आर्थिक गतिविधिमा सहभागी गराएर अर्थतन्त्रको मूलधारमा ल्याउने उद्देश्यले सरकारी र गैरसरकारी स्तरबाट विभिन्न आयमूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको भए पनि दीर्घकालीन दृष्टिकोणले लघुवित्तीय सेवा सहयोगी र प्रभावकारी कार्यक्रम बन्दै आएको छ । यस क्षेत्रको विकास र स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा बसोवास गर्ने लक्षित वर्गलाई लघु वित्तीय सेवाको पहुँचभित्र समेट्ने गरी यसको दायरालाई फराकिलो बनाउने, लघुकर्जाको सीमा वृद्धि गर्ने, उपयुक्त ब्याजदर कायम गरी त्यसमा सीमा लगाउने, सेवा शुल्क परिमार्जन गर्ने, लघुकर्जालाई कर्जा सूचना केन्द्रसँग आबद्ध गरी कर्जा दोहोरोपनालाई नियन्त्रण गर्ने, पारदर्शी र विवेकपूर्ण तरीकाले सुपरिवेक्षण गर्ने, सरोकारवालाको सल्लाह र सुझावलाई नीतिगत रूपमा सम्बोधन गर्ने, असामान्य परिस्थितिमा विविध खाले नियमकीय छूट प्रदान गर्नेलगायत कार्य गर्दै आएको छ । सोहीअनुरूप लघुवित्त वित्तीय संस्थाले नियमकारी निकाय र आफ्नै नीति निर्देशनको अधीनमा रही लक्षित वर्गलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएका छन् । प्राप्त पछिल्लो तथ्यांकअनुसार लघुवित्त वित्तीय संस्थाले आफूसँग आबद्ध भएका ५१ लाखभन्दा बढी सदस्यमध्ये ३० लाखभन्दा बढी सदस्यलाई लघुकर्जा प्रवाह गरेका छन् । वित्तीय पहुँचसम्बन्धी पछिल्लो परिभाषाले संस्थामा आबद्ध भएका बचतकर्ता सदस्यलाई कर्जाको माध्यमबाट स्वरोजगार÷व्यवसायी बन्न उत्प्रेरित गराउनुपर्ने विषयलाई समेत जोड दिएको पाइन्छ । उपर्युक्त मूल उद्देश्य लिएको लघुवित्त कार्यक्रमले पछिल्लो समय सामूहिक जमानीको कर्जालाई भन्दा धितो कर्जालाई जोड दिने, गैरसदस्यबाट बचत संकलन गर्ने, कर्जाको आकार वृद्धि गर्नेलगायत व्यवस्थालाई सहज बनाउनुपर्ने विषयलाई विभिन्न फोरमहरूमा व्यक्त गर्ने र नियमनकारी निकायसमक्ष माग राख्ने गरेको पाइन्छ । यसैबीच लघुवित्त कार्यक्रम समाजमा रहेका अति विपन्न वर्गमैत्री बन्न नसकेको र यसका लागि कुनै प्रस्तावित योजनाहरू समेत नभएको अवस्था विद्यमान रहेको छ । यसका साथै हालैको कोरोना महामारी र प्राकृतिक विपद्का कारण लघुवित्त कार्यक्रमलाई यसको मूल मर्मबमोजिम अभैm प्रभावकारी तवरले विस्तार गर्नुपर्ने देखिन्छ । तर, पछिल्लो समय लघुवित्त क्षेत्रसँग सम्बद्ध विभिन्न कार्यक्रममा लघुवित्तकर्मीद्वारा व्यक्त गरिएका विचार र सल्लाह सुझावमा समेटिएका विषयवस्तुको आधारमा लघुवित्त क्षेत्रले ऐनको उद्देश्यभन्दा बैंकिङ व्यवसायी बन्न जोड दिन खोजे जस्तो देखिन्छ ।   लघुवित्त क्षेत्रको स्थायित्व र विकासका लागि नेपाल राष्ट्र बैंकले विगतदेखि नै आवश्यकताअनुसार दीर्घकालीन र अल्पकालीन नीतिगत व्यवस्थाहरू जारी गर्दै आएको छ । समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रको अभिभावकका रूपमा रहेको सरकारले लघुवित्त क्षेत्रको उद्देश्यलाई पहिचान गरी सोहीबमोजिम नीतिगत व्यवस्थामार्फत सम्बोधन गरेको विरलै देख्न पाइन्छ । यसरी एकातिर लघुवित्त क्षेत्रले स्वाभाविक रूपमा सरकारसँग क्षेत्रगत अपेक्षा राख्ने अर्कोतिर सरकारीस्तरबाट बजेट तथा अन्य नीतिगत व्यवस्थामा त्यसलाई समेट्न नसकेको अवस्था रहेको छ । अतः लघुवित्त क्षेत्रको उचित र तर्कपूर्ण विषयलाई समावेश गरेर अतिविपन्न वर्गलाई लघुवित्तीय सेवामा समेट्नेतर्पm आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले निर्दिष्ट गरेबमोजिम हालसम्म समेट्न नसकिएका अति विपन्न वर्गलाई लघु वित्तीय सेवामा आबद्ध गर्न ढिला गरिनु हुँदैन । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

तरलता व्यवस्थापन र ब्याजदर

कोरोनाको महामारी तथा मुलुकको प्रायः सबै क्षेत्रमा लगाइएको निषेधाज्ञाका कारण आर्थिक गतिविधि निकै सुस्त भएको समयमा समेत २७ मध्ये ११ ओटा बैंकहरूको लगानीयोग्य पूँजी पर्याप्त नभएको देखिएको छ । यतिबेला बैंकहरूमा अधिक तरलता देखिनुपर्ने हो । तर, कर्जा लगानी खासै नबढे पनि लगानीयोग्य पूँजी कसिलो बन्दै जाँदा वित्तीय क्षेत्रमा कतै केही असन्तुलन भइरहेको छ कि भन्ने प्रश्न उब्जिएको छ । चालू आवमा कोरोनाका कारण आयातमा कमी आएकाले ब्याजदर र तरलतामा खासै समस्या देखिएन । तर, आयात बढ्न थालेसँगै यस्तो समस्याको संकेत देखापर्न थालेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा बैंकहरूका लागि कर्जा पूँजी र निक्षेप अनुपात ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत पुर्‍याएको छ । यो सीमा कुनै पनि बैंकले छोइसकेका छैनन् तर ८० प्रतिशतमाथि हुँदा चाँडै नै उनीहरू कर्जाको माग बढेमा लगानी गर्न नसक्ने अवस्थामा पुगेको संकेत मिल्छ । निषेधाज्ञाको १ महीनाको अवधिमा कर्जा लगानी र निक्षेप संकलन दुवै करीब ३५ अर्बको हाराहारीमा रहेको छ । कर्जा प्रवाहको दाँजोमा निक्षेप बढी संकलन हुँदै जाने हो भने लगानीयोग्य रकम बढ्दै जान्छ । त्यस्तै निक्षेप कम संकलन र कर्जा माग बढी भएमा तरलताको समस्या बढ्दै जाने हुन्छ । अहिले यी दुवैको वृद्धि समान हुँदा पनि कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले निर्धारण गरेको तहमा पुग्न आँटेको छ । निषेधाज्ञा खुकुलो पारिँदै छ र अब कर्जाको माग बिस्तारै बढ्ने देखिन्छ । यस्तोमा निक्षेप संकलन बढेन भने ब्याजदरमा असर पर्ने देखिन्छ । नेपालको बैंकिङ क्षेत्रमा ब्याजदरको किचलो दीर्घकालीन समस्या बनिरहेको छ । सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन सके आर्थिक गतिविधिमा लगानी बढ्छ भने महँगो ब्याजदरले लगानी महँगो हुन गई अर्थतन्त्रमा असर पार्न सक्छ । सस्तो ब्याजदरमा पैसा पाउँदा मानिसहरूले उद्योग व्यवसायको बिस्तार गर्ने सम्भावना बढी हुन्छ । यसबाट थप रोजगारी सृजना पनि हुन्छ । त्यसैले ब्याजदर बढ्न नदिन केन्द्रीय बैंकले विभिन्न नीति लिने गरेको पाइन्छ । केन्द्रीय बैंकले ब्याजदरलाई निश्चित तहमा राख्न प्रयत्न गर्छ । उदारवादी अर्थतन्त्र अँगालेको हुनाले राष्ट्र बैंकले ब्याजदरका लागि सीधै बजारमा हस्तक्षेप गर्न भने सक्दैन र हुँदैन भन्ने मान्यता राखिन्छ । तर, उसले विभिन्न नीतिगत व्यवस्था गरेर ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न प्रयास गर्छ । निक्षेप र कर्जाले मात्रै निर्धारण गर्ने ब्याजदर अस्थिर हुन्छ । त्यसैले पोलिसी रेटले ब्याजदरलाई निर्धारण गर्ने प्रयास केन्द्रीय बैंकहरूले गर्छन् । नेपाल राष्ट्र बैंकले पनि यस्तो प्रयास नगरेको होइन तर यसले काम गरेको पाइँदैन । त्यस्तै ब्याजदर नियन्त्रणमा लिन उसले ब्याजदर कोरिडोर पनि ल्याएको थियो र यसले पनि उसले चाहेअनुसार ब्याजदर नियन्त्रणमा आउन सकेको थिएन । स्थिर ब्याजदर कायम गराउन दीर्घकालीन स्रोतका लागि राष्ट्र बैंकले बैंकहरूलाई ऋणपत्र विक्री गर्न बाध्य पार्ने नीति ल्यायो । तैपनि अहिले कर्जा निक्षेप अनुपातमा दबाब पर्दै गएपछि बैंकहरूले अन्तर बैंक सापटी लिन थालेको र त्यो पाउन गाह्रो भएको भनाइ बैंकरहरूको पाइन्छ । अहिले आर्थिक वर्षको अन्तिम महीना चलिरहेको छ । आवको अन्त्यमा पूँजीगत खर्च निकै हुने भएकाले सरकारी ढुकुटीको पैसा बैंकिङ प्रणालीमा आई तरलता केही सहज हुने देखिन्छ । त्यसैले आगामी १ हप्तामा सरकारले कति खर्च गर्न सक्छ त्यसले तरलता निर्धारण गर्छ र ब्याजदरमा दबाब कम पर्छ । विगतको अभ्यास हेर्दा असारमा आउने पैसाले २ महीना जतिलाई मात्रै पुग्ने र त्यसपछि तरलतामा दबाब पर्ने गरेको छ । चालू आवमा कोरोनाका कारण आयातमा कमी आएकाले ब्याजदर र तरलतामा खासै समस्या देखिएन । तर, आयात बढ्न थालेसँगै यस्तो समस्याको संकेत देखापर्न थालेको छ । ब्याजदर बढ्न गए उद्योगहरू तंग्रिन र विस्तार गर्न समस्या हुने देखिन्छ जसले अन्ततोगत्वा रोजगारी सृजनामै असर गर्छ । यसो भयो भने सरकारले लिएको ६ दशमलव ५ प्रतिशतकोे आर्थिक वृद्धिदरको लक्ष्य प्रभावित हुन सक्छ ।